0Shares

३२ लाख ९० हजार रुपैयाँको लगानीमा सेवा सञ्चालन, ढुवानी खर्च घट्ने र किसानको आम्दानी बढ्ने अपेक्षा

स्याङ्जा, वालिङ । वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बिक्रीका लागि आफैं बजार धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। नगरपालिकाले वालिङ–१ स्थित त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई कृषि एम्बुलेन्स हस्तान्तरण गरेसँगै किसानको उत्पादन घर–आँगनबाटै संकलन गरी बजारसम्म पुर्‍याउने सेवा औपचारिक रूपमा सुरु गरेको हो।

वालिङ नगरपालिका, हेफर इन्टरनेसनल नेपाल र दियालो संस्थाको साझेदारीमा सञ्चालित वालिङ कृषि विकास परियोजनाअन्तर्गत ३२ लाख ९० हजार रुपैयाँको लागतमा कृषि एम्बुलेन्स खरिद गरिएको हो। यसमध्ये नगरपालिकाले १८ लाख ९० हजार रुपैयाँ र परियोजनाले १४ लाख रुपैयाँ व्यहोरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कृषि उत्पादनको संकलन, ढुवानी, भण्डारण र बजारीकरणलाई आधुनिक तथा व्यवस्थित बनाउने उद्देश्यले सेवा सुरु गरिएको बताए।

उनले भने, “कृषि उत्पादनलाई खेतदेखि बजारसम्म जोड्ने यो किसानमैत्री कार्यक्रम हो। अब किसानले उत्पादन बिक्रीका लागि ढुवानीको चिन्ता गर्नुपर्ने अवस्था रहने छैन।”

हाल सहकारीमार्फत दैनिक करिब ५० क्विन्टल तरकारी संकलन हुँदै आएको छ। कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि किसानकै घरबाट उत्पादन उठाइने भएकाले ढुवानी खर्च घट्ने, समयको बचत हुने तथा ताजा उत्पादन छिटो बजारमा पुग्ने अपेक्षा गरिएको छ।

सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालका अनुसार ढुवानी अभावका कारण किसानले वर्षौंदेखि भोग्दै आएको समस्या अब समाधान हुने विश्वास गरिएको छ।

उनले भने, “पहिले ढुवानी नहुँदा धेरै तरकारी खेतमै कुहिन्थ्यो, बजारसम्म पुर्‍याउन निकै कठिन थियो। अब कृषि एम्बुलेन्समार्फत पोखरा र बुटवलसम्म नियमित रूपमा तरकारी पठाउन सकिने अवस्था बनेको छ।”

वालिङ नगरपालिकाले उत्पादित तरकारीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्नुका साथै उत्पादनका आधारमा प्रतिकिलो ५ रुपैयाँ अनुदान पनि उपलब्ध गराउँदै आएको छ। गत आर्थिक वर्षको ११ महिनामै ७ लाख ९१ हजार ३४२ रुपैयाँ नगद अनुदान किसानलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ।

सहकारीका प्रबन्धक युवराज रेग्मीका अनुसार गत वर्ष १ लाख ५८ हजार २६८ केजी तरकारी सहकारीमार्फत संकलन भएको थियो।

उनले भने, “कृषि एम्बुलेन्सले एकै पटक करिब १३० क्यारेट तरकारी ढुवानी गर्न सक्छ। यसले ढुवानी लागत घटाउनुका साथै किसानलाई व्यावसायिक खेतीतर्फ अझ आकर्षित गर्नेछ।”

नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनसँगै उत्पादनदेखि बजारसम्मको कृषि आपूर्ति शृङ्खला अझ सुदृढ हुने विश्वास लिएको छ। यसबाट विशेषगरी साना तथा व्यावसायिक किसानको बजार पहुँच विस्तार भई आम्दानी वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको हेफर परियोजना नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected