
स्थानीय उत्पादन प्रवर्द्धनसँगै कृषि र पर्यटन जोड्ने प्रयास
पोखरा । स्थानीय उत्पादनको प्रवर्द्धन तथा तरबुजा खेतीको बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र वडा नं. १३ को आयोजनामा “तरबुजा मेला २०८३” भव्य रूपमा सम्पन्न भएको छ।
मेलाको उद्घाटन गर्दै नगर प्रमुख धनराज आचार्यले पोखरालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरणमा महानगर प्रतिबद्ध रहेको बताए। उनले कृषिमा आधुनिक प्रविधिको प्रयोग, प्रभावकारी बजार व्यवस्थापन तथा किसानमैत्री नीति आवश्यक रहेको उल्लेख गर्दै तरबुजा खेतीको विस्तारले कृषकको आयआर्जनमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरे।
वडा अध्यक्ष किरण बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. प्रेरणा सेढाई भट्टराईले कृषि उत्पादन वृद्धि तथा व्यावसायिक खेती विस्तारमा प्रदेश सरकारको सहयोग निरन्तर रहने बताइन्।

त्यसैगरी पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले स्थानीय उत्पादनको बजारीकरणमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा राखे। पोखरा भ्रमण वर्षका संयोजक गोपी बहादुर भट्टराईले कृषि र पर्यटनलाई एकीकृत गर्दै पोखराको पहिचान थप बलियो बनाउन सकिने बताए।
महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले पोखरामा तरबुजा उत्पादनको अवस्था, खेती विस्तार, सम्भावना तथा बजारीकरणका विषयमा जानकारी दिएका थिए।
मेलामा कृषक सम्मान, तरबुजा दौड, तरबुजा खाने प्रतियोगिता तथा तरबुजा क्विज जस्ता आकर्षक कार्यक्रम आयोजना गरिएको थियो। प्रतियोगिताका विजेतालाई पुरस्कारस्वरूप तरबुजा नै प्रदान गरिएको आयोजकले जनाएको छ। साथै सबैभन्दा ठूलो तरबुजा उत्पादन गर्ने, सबैभन्दा मिठो तरबुजा उत्पादन गर्ने तथा उत्कृष्ट स्टल व्यवस्थापन गर्ने कृषकलाई समेत सम्मान गरिएको थियो।
तरबुजा मेलाले स्थानीय कृषकको उत्पादनलाई बजारसँग जोड्नुका साथै कृषि क्षेत्रमा युवाको आकर्षण बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।






















