0Shares

पोखरा, २३ वैशाख । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गत कृषि विकास शाखाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार कृषकलाई कृषि उत्पादन सामग्री तथा कृषि यान्त्रिकीकरण सहयोग वितरण गरिएको छ ।

भावना सामुदायिक कृषि सहकारी संस्था र वडा स्तरीय कृषि सञ्जाल–१८ को साझेदारीमा पोखरा–१८ का कृषकलाई विभिन्न कृषि सामग्री अनुदानमा वितरण गरिएको हो ।

कार्यक्रमअन्तर्गत कृषकलाई पाँच वटा मिनी टिलर, एक वटा कम्बाइन मिल, एक वटा पल्पिङ मेसिन, १० वटा टनेल प्लास्टिक, दुई वटा स्प्रेयर तथा तीन रोल मल्चिङ प्लास्टिक वितरण गरिएको थियो । उक्त सामग्री वडा नम्बर १८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिना र महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियालले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वडा अध्यक्ष तिमिल्सिनाले प्राप्त सामग्रीको अधिकतम उपयोग गरी कृषि उत्पादन बढाउन कृषकलाई आग्रह गरे । महाशाखा प्रमुख कडरियालले सीमित स्रोतसाधनका बीच महानगरपालिकाले कृषकलाई विभिन्न सहयोग गर्दै आएको उल्लेख गर्दै उत्पादन वृद्धि र आत्मनिर्भरता हासिल गर्न सामग्रीको सदुपयोग गर्नुपर्ने बताए ।

वडा स्तरीय कृषि सञ्जाल–१८ का अध्यक्ष बेलबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भावना सामुदायिक कृषि सहकारी संस्थाका सचिव सुनिलकुमार थापाले सञ्चालन गरेका थिए । कार्यक्रममा कृषि सञ्जालका सचिव खेमराज तिमिल्सिना, सहकारीका निवर्तमान अध्यक्ष बलराम कोइराला तथा अध्यक्ष मीनबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसअघि पनि पोखरा महानगरपालिका वडा नम्बर १८, वडा स्तरीय कृषि सञ्जाल–१८ र भावना सामुदायिक कृषि सहकारी संस्थाको साझेदारीमा १५६ जना कृषकलाई मिनी टिलर, कम्बाइन मिल, टनेल प्लास्टिक, डिजिटल तराजु, स्प्रे, मल्चिङ प्लास्टिक, पाइप, क्रेट, हँसिया, कुटो, बाउसो लगायतका कृषि सामग्री वितरण गरिएको जानकारी दिइएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected