0Shares

पोखरा । बीमाको पहुँच विस्तारसँगै अभिकर्ताको क्षमता र व्यावसायिक दक्षता बढाउने लक्ष्यसहित आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडअन्तर्गत माछापुच्छ्रे ग्रुपले आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ कार्ययोजना अघि सारेको छ।

तनहुँको ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरस्थित होटल दरबारमा आयोजित एजेन्सी मोटिभेसन तथा सम्मान कार्यक्रममा आगामी आर्थिक वर्षको व्यवसायिक योजना, एजेन्सी सशक्तीकरण, अभिकर्ताको क्षमता विकास र बीमाप्रतिको आकर्षण बढाउने रणनीतिबारे छलफल गरिएको हो।

कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा एजेन्सीलाई सम्मान गर्दै आगामी वर्ष थप प्रभावकारी रूपमा बीमा व्यवसाय विस्तार गर्न उत्प्रेरित गरिएको थियो। साथै, अभिकर्ताको ज्ञान, सीप र व्यावसायिक क्षमता अभिवृद्धिका लागि नियमित तालिम तथा मोटिभेसन कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल भएको माछापुच्छ्रे ग्रुपका चिफ एजेन्सी म्यानेजर एवं MDRT तिलकशाली सापकोटाले बताए।

आईएमई लाइफका गण्डकी प्रदेश प्रमुख मिनबहादुर जी.सी.को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लेखनाथ शाखा प्रमुख सुजन सुवेदी, गोरखा शाखा प्रमुख उज्ज्वल वाग्ले, बेँसीसहर शाखा प्रमुख शान्ति श्रेष्ठ, भीमाद शाखा प्रमुख सन्दीप गुरुङ तथा सोती पसल–दुईपिप्ले शाखाकी बीएसए ज्योति कुमाललगायत विभिन्न शाखाका योग्य एजेन्सी तथा अभिकर्ताको सहभागिता थियो।

कार्यक्रममा बीमा पोलिसी बिक्री मात्र नभई व्यक्ति र परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने माध्यम भएको भन्दै ग्राहकको आवश्यकता बुझेर उपयुक्त बीमा समाधान दिन सक्ने दक्ष अभिकर्ता तयार गर्नेमा जोड दिइएको थियो।

माछापुच्छ्रे ग्रुपले आगामी वर्ष एजेन्सी विस्तार, नियमित तालिम, अभिकर्ता मोटिभेसन, उत्कृष्ट कार्यसम्पादनको सम्मान र ग्राहक सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्ने जनाएको छ।

कार्यक्रममा सहभागी शाखा प्रमुख तथा अभिकर्ताहरूले दक्ष र उत्प्रेरित अभिकर्तामार्फत बीमाको पहुँच घर–घरमा पुर्‍याउन सकिने धारणा राखेका थिए। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई सम्मानले नयाँ अभिकर्तालाई समेत थप राम्रो काम गर्न प्रेरणा मिल्ने उनीहरूको भनाइ थियो।

कार्यक्रम सफल बनाउन उपस्थित भई हौसला, प्रेरणा र मार्गदर्शन प्रदान गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख तथा सम्पूर्ण एजेन्सी प्रतिनिधिप्रति अर्का माछापुच्छ्रे ग्रुपका चिफ एजेन्सी म्यानेजर एवं MDRT बाबुराम पुरीले आभार व्यक्त गरे।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected