0Shares

फ्लाई दुबईको उडानलाई लक्षित गर्दै नाटाले सुरु गर्‍यो सेभर टिकट बुकिङ तालिम

पोखरा, भदौ २६ । पोखराबाट अन्तर्राष्ट्रिय उडानको दायरा विस्तार हुने तयारीसँगै यहाँका ट्राभल व्यवसायी अन्तर्राष्ट्रिय टिकटिङ प्रणालीमा दक्ष बन्न थालेका छन्। नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशले ट्राभल कम्पनीका सदस्यलाई लक्षित गर्दै सेभर (Sabre) एयरलाइन्स टिकट बुकिङसम्बन्धी तीनदिने आधारभूत तालिम शुक्रबारदेखि सुरु गरेको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सेप्टेम्बर २३ देखि फ्लाई दुबईको उडान सुरु गर्ने तयारीभइरहेका बेला नाटाले तालिम आयोजना गरेको हो। दुबई हुँदै पोखरा विश्वका १३० भन्दा बढी देशसँग जोडिने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय उडानसँगै बढ्ने टिकटिङ तथा यात्रु सेवा प्रवाहलाई सहज बनाउन दक्ष जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य रहेको नाटाले जनाएको छ।

नाटा गण्डकी प्रदेशका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो। कार्यक्रममा प्रदेश अध्यक्ष सङ्गीता पौडेलले अन्तर्राष्ट्रिय हवाई सेवाको विस्तारसँगै ट्राभल व्यवसायमा व्यावसायिक दक्षताको आवश्यकता बढ्दै गएको बताइन् ।

तालिम संयोजक तथा नाटा गण्डकी प्रदेशका कार्यसमिति सदस्य विकास निरौलाका अनुसारबेसिक लेभलको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ। सहभागीले दैनिक तीन घण्टाका दरले सेभर प्रणालीमार्फत टिकट बुकिङ तथा रिजर्भेसनसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गर्नेछन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार हुँदै जाँदा ट्राभल व्यवसायीका लागि नयाँ अवसरसँगै चुनौती पनि थपिँदै गएको छ। त्यसलाई मध्यनजर गर्दै नाटाले दक्ष जनशक्ति, प्रविधिमैत्री सेवा र अन्तर्राष्ट्रियस्तरको टिकटिङ प्रणालीमा जोड दिएको जनाएको छ।

पोखराबाट विश्वका विभिन्न गन्तव्यमा हवाई पहुँच विस्तार गर्ने तयारीसँगै यहाँको पर्यटन व्यवसाय पनि नयाँ चरणमा प्रवेश गरिरहेको छ। नाटाको यो पहललाई पोखराको ट्राभल क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धी बनाउने प्रयासका रूपमा हेरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected