
‘विशेष महाधिवेशन बहिष्कार गरौं, मंसिरमा नियमित महाधिवेशन गरौं’ : देउवा
काठमाडौं — नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले असोज ३ गते गर्न लागेको निर्वाचन प्रक्रिया बहिष्कार गर्न पार्टी पंक्तिलाई आह्वान गरेका छन्। उनले उक्त महाधिवेशनलाई अवैधानिक दाबी गर्दै पार्टीको नियमित १५औं महाधिवेशन मंसिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारीमा जुट्न आग्रह गरेका हुन्।
मंगलबार अपिल जारी गर्दै देउवाले आफू अब कुनै पदको आकांक्षामा नरहेको स्पष्ट पारे। तर १४औं महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औं महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक दायित्व भएको उनको भनाइ छ।
‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन, अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन,’ देउवाले भनेका छन्, ‘तर १४औं महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औं महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक दायित्व हो।’
विशेष महाधिवेशनको वैधतासम्बन्धी मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा विचाराधीन रहेको र पुनरावलोकनको निस्सा दिइसकेको अवस्थामा निर्वाचन प्रक्रिया अघि बढाउनु कानुनी र राजनीतिक दुवै दृष्टिले गलत हुने देउवाको तर्क छ। अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै जबर्जस्ती महाधिवेशनको कार्यतालिका अघि बढाएर बहुसंख्यक नेता–कार्यकर्ताको भावनालाई बेवास्ता गरिएको उनले आरोप लगाएका छन्।
गगन थापा पक्षले आफ्नो पक्षमा जनसमर्थन रहेको दाबी गरेको प्रसंग उल्लेख गर्दै देउवाले प्रतिनिधिसभा निर्वाचनको परिणामले उक्त दाबी खारेज गरिसकेको टिप्पणी गरेका छन्। ‘विशेष महाधिवेशन गर्नेहरूले निर्वाचन परिणामबाट समेत पाठ सिक्न नसक्नु कांग्रेस निर्माणको होइन, कमजोर बनाउने प्रवृत्तिको परिचायक हो,’ उनले भनेका छन्।
देउवाले पछिल्लो राजनीतिक विवादलाई पार्टीको आन्तरिक विषयमा सीमित नराखी कांग्रेसको संस्थागत भविष्यसँग जोडेर हेर्न आग्रह गरेका छन्। विगत ३५ वर्षमा नेपाली कांग्रेससहितका राजनीतिक दलको नेतृत्वमा पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण प्रगति भएको स्मरण गर्दै उनले इतिहासलाई बिर्सेर दलहरूमाथि नियोजित प्रहार नगर्नसमेत आग्रह गरेका छन्।













