0Shares

काठमाडौं — पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६ बाट सम्मानित भएका छन्। सिजन मिडियाले आयोजना गरेको सातौं संस्करणको समारोहमा आचार्यलाई ‘सहरी विकास तथा सार्वजनिक सेवामा दूरदर्शी नेतृत्व’ र उपाध्यायलाई ‘वर्षका उत्कृष्ट बैंकिङ प्रमुख कार्यकारी अधिकृत’ विधामा सम्मान गरिएको हो।

स्थानीय तहको नेतृत्वमार्फत सहरी विकास र सार्वजनिक सेवा सुधारमा पुर्‍याएको योगदानका लागि आचार्य तथा बैंकिङ क्षेत्रमा नेतृत्व, संस्थागत विकास र व्यावसायिक योगदानका लागि उपाध्यायलाई सम्मान गरिएको आयोजकले जनाएको छ। एउटै समारोहमा सार्वजनिक नेतृत्व र वित्तीय क्षेत्रका दुई नेपाली नेतृत्वकर्ता सम्मानित हुनुले अवार्डलाई थप अर्थपूर्ण बनाएको आयोजकको भनाइ छ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा काठमाडौंमा आयोजित समारोहमा उद्योग, व्यवसाय, ऊर्जा, बैंकिङ, बीमा, पर्यटन, आतिथ्य, शिक्षा, पत्रकारिता, कला, उड्डयन तथा सामाजिक सेवामा योगदान पुर्‍याएका नेपाली तथा विभिन्न एसियाली मुलुकका व्यक्तित्वलाई सम्मान गरिएको थियो।

समारोहमा पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, वरिष्ठ संगीतकार सम्भुजित बास्कोटा, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, ऊर्जा क्षेत्रका गणेश कार्की, वरिष्ठ पत्रकार धर्मेन्द्र झा, नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीमप्रसाद घिमिरे तथा साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलगायत पनि विभिन्न विधामा सम्मानित भए। जापान, भारत, मलेसिया, बंगलादेश र चीनका व्यक्तित्वलाई समेत अन्तर्राष्ट्रिय विधाअन्तर्गत अवार्ड प्रदान गरिएको थियो।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले अवार्डलाई ट्रफी र प्रमाणपत्रमा मात्र सीमित नगरी विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिको मेहनत, संघर्ष, उपलब्धि र सामाजिक योगदानको सम्मानका रूपमा अघि बढाइएको बताए। प्रमुख अतिथि पूर्वराष्ट्रपति यादवले यस्ता सम्मानले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो क्षेत्रमा योगदान गर्न प्रेरित गर्ने बताए। सिजन मिडियाले आफ्नो १८औं वर्षको यात्रासँगै अवार्डको सातौं संस्करण आयोजना गरेको हो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected