0Shares

काठमाडौं, भदौ ३० — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमल वा द्विविधामा नपरी उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई अपिल गरेका छन्।

महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार अपिल जारी गर्दै थापाले पार्टीभित्रका फरक मत र असमझदारीलाई संवाद, विधि र पद्धतिमार्फत समाधान गर्नुपर्ने बताएका छन्। उनले सबै कांग्रेसजनको सहभागिताबाटै पार्टीलाई एकताबद्ध, गतिशील र राष्ट्रका चुनौती सामना गर्न सक्ने बलियो शक्तिका रूपमा अघि बढाउन सकिने उल्लेख गरेका छन्।

थापाले २०८२ पुससम्म सदस्यता नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज रूपमा सहभागी गराउने निर्णय भइसकेको जानकारी दिएका छन्। उनका अनुसार सदस्यता व्यवस्थापन समितिले सोहीअनुसार सदस्यताको नामावली टुंग्याइसकेको छ भने केन्द्रीय निर्वाचन समितिले अधिवेशन प्रक्रिया अघि बढाउँदै निर्वाचन अधिकृतहरू जिल्लामा खटाइसकेको छ।

विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिमा सदस्यका रूपमा समावेश गर्ने निर्णयसमेत भइसकेको थापाले बताएका छन्। त्यससँगै तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय सदस्यकै हैसियतमा सहभागी हुने भएकाले कुनै द्विविधामा नपर्न उनले आग्रह गरेका छन्।

“लोकतन्त्रमा फरक मत हुन्छन्। पार्टीभित्र आन्तरिक मतभेद र असमझदारी हुन सक्छन्,” थापाले भनेका छन्, “ती भिन्न मतको सम्मान गर्दै संवाद, विधि र पद्धतिबाट समाधान खोज्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो।”

कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ। त्यसअघि असोज ३ र ४ गते वडाबाट अधिवेशन प्रक्रिया सुरु हुनेछ। थापाले वडा तहदेखि केन्द्रसम्मका सबै अधिवेशन सौहार्दपूर्ण र हार्दिक वातावरणमा सम्पन्न गर्न पार्टीका सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।

“वडाबाट प्रारम्भ भई काठमाडौंको खुलामञ्चमा सम्पन्न हुने १५औँ महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गरौं,” उनले अपिलमा भनेका छन्, “उच्च मनोबल र उत्साहका साथ महाधिवेशनको यो महाअभियानमा सहभागी बनौं।”

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected