कांग्रेसको महाधिवेशनमा ‘केन्द्रीय हस्तक्षेप’ : पाँच जिल्लामा कार्यवाहक सभापति

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको वडा अधिवेशन सुरु हुन अब केही दिन मात्रै बाँकी रहँदा पाँच जिल्लामा पार्टीको आन्तरिक विवाद र असहमतिले नयाँ मोड लिएको छ । वडा अधिवेशन अघि बढाउन जिल्ला सभापतिहरू तयार नभएपछि कांग्रेस केन्द्रले ती जिल्लामा कार्यवाहक सभापति तोकेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कञ्चनपुर, कैलाली, डोटी, मुगु र बाग्लुङमा कार्यवाहक सभापति तोकिएको हो। यी जिल्लामा अब केन्द्रबाट तोकिएका वा जिल्ला नेतृत्वले जिम्मेवारी दिएका कार्यवाहकले ३ असोजबाट सुरु हुने वडा अधिवेशन प्रक्रिया अघि बढाउनेछन्।
कांग्रेस महामन्त्री गुरुराज घिमिरेका अनुसार पाँच जिल्लाका सभापतिहरूले निर्धारित समयको महाधिवेशन प्रक्रिया अघि बढाउन नसक्ने जानकारी गराएपछि कार्यवाहक सभापति तोकिएको हो।
कैलालीमा भने जिल्ला सभापतिले आगामी ३ र १६ असोजका कुनै पनि महाधिवेशन प्रक्रियामा सहभागी नहुने बताएको महामन्त्री घिमिरेले जानकारी दिए। उनका अनुसार कैलालीमा उपसभापति खेम चौधरीले वडा अधिवेशनको प्रक्रिया अघि बढाउनेछन्।
‘कैलाली सभापतिले ३ र १६ को कुनै पनि महाधिवेशनमा सहभागी हुन्न भन्नुभयो । उहाँले नै कार्यवाहक तोक्नुभएको उपसभापति खेम चौधरीजीले वडा सम्मेलन गर्नुहुन्छ,’ घिमिरेले भने।
उनका अनुसार कञ्चनपुर, डोटी, बाग्लुङ र मुगुमा पनि कार्यवाहक सभापति तोकिएको छ।
यता बझाङ, डडेल्धुरा र भक्तपुरमा भने जिल्ला सभापतिहरूले ३ असोजको वडा अधिवेशन अघि बढाउने जानकारी केन्द्रलाई गराएका छन्। तर, बिहीबारसम्म उनीहरूको निर्णय स्पष्ट नभए ती जिल्लामा पनि कार्यवाहक सभापति तोकेर प्रक्रिया अघि बढाउने कांग्रेसको तयारी छ।
‘बझाङ, डडेल्धुरा र भक्तपुरका जिल्ला सभापतिहरूले ३ असोजको वडा अधिवेशन अघि बढाउँछु भन्नुभएको छ,’ महामन्त्री घिमिरेले भने, ‘आजसम्म निश्चित नभए कार्यवाहक तोकिन्छ।’
कांग्रेसका अनुसार बाँकी ६९ जिल्लाका जिल्ला सभापतिहरू भने ३ असोजमा हुने वडा अधिवेशनको तयारीमा जुटिरहेका छन्।
यससँगै कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउने क्रममा जिल्ला तहमा देखिएको असहमति व्यवस्थापन गर्न केन्द्रले प्रत्यक्ष रूपमा हस्तक्षेप गर्न थालेको देखिएको छ।













