कास्की–३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि बने शेरचन, अब केन्द्रीय सदस्यको तयारी


पोखरा — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नम्बर ३ बाट नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचन सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्। क्षेत्रीय अधिवेशनबाट सर्वसम्मत प्रतिनिधि बनेसँगै शेरचनले अब पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी अघि बढाएका छन्।
खेलकुद क्षेत्रको संगठन र कांग्रेसको भ्रातृ संरचनामा लामो समयदेखि सक्रिय शेरचनले केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। युवालाई पार्टी संगठनसँग जोड्ने, भ्रातृ तथा शुभेच्छुक संस्थालाई प्रभावकारी बनाउने र संगठनलाई थप समावेशी तथा गतिशील बनाउने एजेन्डासहित उनी केन्द्रीय सदस्यको तयारीमा जुटेको बताइएको छ।
कास्की–३ मा अग्रज नेता, कार्यकर्ता तथा शुभेच्छुकबीचको सहमतिपछि शेरचन सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। सर्वसम्मत चयन भएपछि उनले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा अग्रज नेता, समकालीन साथी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।
शेरचनले पार्टी संगठन सुदृढीकरणसँगै खेलकुद क्षेत्रको विकास र युवाको राजनीतिक तथा सामाजिक परिचालनलाई प्राथमिकतामा राख्ने बताएका छन्। उनका अनुसार कांग्रेसको संगठनलाई समयअनुकूल बनाउँदै नयाँ पुस्तालाई पार्टीको मूलधारमा जोड्न नेतृत्व तहबाटै प्रभावकारी पहल आवश्यक छ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय नेतृत्वमा रहेर खेलकुदसँग जोडिएका कार्यकर्ता तथा युवामाझ सक्रिय रहँदै आएका शेरचनको अबको राजनीतिक लक्ष्य केन्द्रीय नेतृत्वमा पुग्ने देखिएको छ।
महाधिवेशन प्रतिनिधिका रूपमा सर्वसम्मत चयन भएपछि उनको केन्द्रीय सदस्यको उम्मेदवारीले कांग्रेसको आसन्न महाधिवेशनमा कास्कीको प्रतिनिधित्वको विषयलाई समेत थप चर्चामा ल्याएको छ।







