

पोखरा। अविरल वर्षासँगै आएको बाढी र पहिरोले गण्डकी प्रदेशसहित देशभरको जनजीवन प्रभावित बनेको छ। बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बगाएको छ भने प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन्।
स्याङ्जाको कालिगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालिगण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने पक्की पुल बाढीले बगाएको हो। यस्तै, पर्वत, म्याग्दी र लमजुङका प्रमुख नदीमा जलसतह बढेर खतराको तह पार गरेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
लमजुङको चेपे खोला, पर्वतको कालीगण्डकी र म्याग्दीको नारायणी नदीमा बहाव बढेको जनाइएको छ। सम्बन्धित प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढी–पहिरोका कारण बेँसीसहर–चामे, जोमसोम–कोरला, पोखरा–बागलुङ, बेनी–जोमसोम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर लगायतका सडकखण्ड अवरुद्ध भएका छन्।
तनहुँको पृथ्वी राजमार्गअन्तर्गत घाँसीकुवा क्षेत्रमा खसेको पहिरो पन्छाउन नेपाली सेनाको कालीभञ्जन गणबाट खटिएको टोलीले काम गरिरहेको छ।
पर्वतको घारखोला क्षेत्रमा नदीको बहाव उच्च भएपछि नयाँ रणभीम गुल्मको सुरक्षा पोस्ट सुरक्षित स्थानमा सारिएको छ। कास्कीको पञ्चासे, तनहुँको कोटेगाउँ, स्याङ्जाको पञ्चमुल र म्याग्दीको दरबाङ क्षेत्रमा वर्षाको मात्रा सतर्कता तहभन्दा माथि पुगेको जनाइएको छ।
सुरक्षा निकायले उद्धार तथा विपद् व्यवस्थापनका लागि पूर्वतयारी तीव्र पारेका छन्। प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्भावित जोखिमबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ।








