0Shares

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले यसपटक कार्यपालिका बैठक गाउँपालिकाको कार्यालयमा होइन, हिमालमै पुगेर गरेको छ। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असर प्रत्यक्ष रूपमा बुझ्न गाउँपालिकाको विशेष बैठक बुधबार अन्नपूर्ण गाउँपालिका–११ स्थित अन्नपूर्ण आधार शिविर (एबीसी) मै बसेको हो।

बैठकले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली विकास, जलवायु उत्थानशील पूर्वाधार निर्माण र अन्नपूर्ण आधार शिविरलाई ‘Climate Resilient Annapurna Base Camp’ का रूपमा विकास गर्नेसहित आठवटा निर्णय गरेको छ।

‘जलवायु परिवर्तन न्याय तथा उत्थानशील कार्यक्रम’अन्तर्गत आयोजित बैठकमा जनप्रतिनिधि र कर्मचारीले एबीसी क्षेत्रको स्थलगत अवलोकनसमेत गरेका थिए। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर प्रत्यक्ष रूपमा बुझेर स्थानीय नीति, योजना तथा बजेट निर्माणमा समेट्ने उद्देश्यले बैठक आधार शिविरमै आयोजना गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए।

बैठकमा बढ्दो तापक्रम, बदलिँदो मौसम, हिमनदी पग्लिने क्रम, हिमपहिरोको जोखिम तथा त्यसले पर्यटन र स्थानीय जीविकोपार्जनमा पारिरहेको प्रभावबारे छलफल भएको अध्यक्ष केसीले जानकारी दिए।

गाउँपालिका प्रवक्ता भरतमान गुरुङका अनुसार अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका कारण वातावरण, पर्यटन र स्थानीय समुदायमा नयाँ चुनौती थपिँदै गएको छ। स्थलगत अवलोकनसहितको बैठकको उद्देश्य जलवायुजन्य जोखिम पहिचान गर्नु, स्थानीय प्रभाव बुझ्नु र वातावरण संरक्षण तथा उत्थानशीलतासम्बन्धी नीति निर्माणमा स्थानीय तहको भूमिका प्रभावकारी बनाउनु रहेको उनले बताए।

११ वडाको जलवायु जोखिम नक्सा बनाइने

बैठकले अन्नपूर्ण गाउँपालिकाको जलवायु परिवर्तन तथा विपद् जोखिमको समग्र अवस्था र उपलब्ध तथ्याङ्कको समीक्षा गरी ‘अन्नपूर्ण जलवायु उत्थानशीलता कार्ययोजना’ तयार गर्ने निर्णय गरेको छ। उक्त कार्ययोजनालाई गाउँपालिकाको नीति, योजना तथा बजेट प्रक्रियामा समावेश गरिनेछ।

त्यस्तै, गाउँपालिकाका ११ वटै वडाको Climate Risk & Vulnerability Map तयार गरी जोखिम संवेदनशील योजना निर्माण तथा भू–उपयोग व्यवस्थापनमा प्रयोग गरिने भएको छ।

वर्षा, नदी बहाव, पहिरो तथा अन्य जलवायूजन्य जोखिमको पूर्वसूचना र आपत्कालीन सञ्चारका लागि Local Early Warning & Emergency Communication System विकास गर्न आवश्यक अध्ययन, साझेदारी तथा बजेट व्यवस्थापन गर्ने निर्णय पनि भएको छ।

जलवायु अनुकूल पूर्वाधारको मापदण्ड बनाइने

गाउँपालिकाले सडक, पुल, पदमार्ग, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक पूर्वाधार निर्माणमा जलवायु तथा विपद् जोखिमलाई ध्यानमा राख्ने भएको छ। त्यसका लागि Climate-resilient Infrastructure Standard तथा risk-screening व्यवस्था विकास गर्ने निर्णय गरिएको छ।

त्यस्तै, अन्नपूर्ण आधार शिविरलाई ‘Climate Resilient Annapurna Base Camp’ का रूपमा विकास गर्न सरकारी निकाय, संरक्षण संस्था, पर्यटन क्षेत्र, स्थानीय समुदाय तथा प्राविधिक संस्थासँग समन्वय गरी कार्ययोजना तयार गरिने भएको छ।

जलवायूजन्य विपद् तथा त्यसबाट हुने क्षति–नोक्सानीको नियमित अभिलेख राख्ने र Climate Finance तथा Loss and Damage सम्बन्धी स्रोत परिचालनका लागि आवश्यक प्रमाण, लागत तथा क्षतिको विवरण तयार गर्ने निर्णय पनि बैठकले गरेको छ।

जलवायु र विपद्को तथ्याङ्क एउटै प्रणालीमा

गाउँपालिकाले ‘Annapurna Climate & Disaster Information System (ACDIS)’ को अवधारणा विकास गर्ने निर्णय गरेको छ। यस प्रणालीमार्फत GIS, विपद्, पूर्वाधार, जलवायु तथा पर्यटनसम्बन्धी उपलब्ध तथ्याङ्कलाई क्रमशः एकीकृत गरिनेछ।

बैठकले प्रस्तावित ‘अन्नपूर्ण जलवायु न्याय घोषणा–२०८३’ लाई गाउँपालिकाको स्थानीय प्रतिबद्धताका रूपमा स्वीकार गर्दै आवश्यक कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ।

बैठकमा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराललगायत जनप्रतिनिधि तथा कर्मचारी सहभागी थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected