कांग्रेस उपसभापतिमा सुरेन्द्र पाण्डेको दाबी, ‘एकता र संगठन सुदृढीकरण मेरो प्राथमिकता’
- October 5, 2026
- 117


काठमाडौँ — गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउने एजेन्डासहित आफू उपसभापतिको प्रतिस्पर्धामा उत्रिएको उनले बताएका छन्।
उम्मेदवारी घोषणा गर्दै पाण्डेले कांग्रेसभित्रका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्ने आफ्नो प्राथमिकता रहेको बताए। पार्टीको एकता र संगठन सुदृढीकरण अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उनले त्यसका लागि आफूले सक्रिय भूमिका निर्वाह गर्ने बताए।
कांग्रेसका तीन पटक केन्द्रीय सदस्य भइसकेका पाण्डेले आफूले ४५ वर्षभन्दा बढी समय पार्टी सदस्यका रूपमा काम गरेको अनुभवलाई आगामी राजनीतिक यात्राको आधार बनाउने बताए। पुरानो अनुभवलाई नयाँ पुस्ताको ऊर्जा र सोचसँग जोडेर पार्टीलाई अघि बढाउनुपर्ने उनको भनाइ छ।
‘हिजोको अनुभव, आजको ऊर्जा र भोलिको यात्राबीचको सहकार्यबाट नयाँ आधार निर्माण गर्दै अघि बढ्नुपर्नेछ,’ पाण्डेले भने।
गण्डकी प्रदेशको मुख्यमन्त्रीका रूपमा काम गर्दा पार्टीका मूल्य, मान्यता र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेको उनले बताए।
पार्टी संगठन र सरकार सञ्चालनका क्रममा हासिल गरेको अनुभवलाई कांग्रेसको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले सुशासन, पारदर्शिता, जवाफदेहिता, निष्पक्षता, संगठन सुदृढीकरण, विचारमा स्पष्टता र संगठनमा एकतालाई आफ्नो प्राथमिकताका विषय बनाएका छन्।
उनले कांग्रेसलाई समयअनुकूल बनाउँदै लैजान सबै पुस्ता र तहका नेता–कार्यकर्ताबीच संवाद र सहकार्य आवश्यक रहेको बताए। आगामी राजनीतिक यात्रामा युवापुस्तासँगको निरन्तर सहकार्य र युवामैत्री कार्यशैलीलाई समेत प्राथमिकता दिने उनको भनाइ छ।







