कांग्रेसमा पराजित नेताहरूको मोर्चाबन्दी, ‘सबैलाई न्याय, सबैलाई सम्मान’को अभियान
- October 10, 2026
- 144

निर्वाचनको समीक्षा र आगामी रणनीति तय गर्ने तयारी, गुटरहित कांग्रेस निर्माणमा जोड
पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदमा प्रतिस्पर्धा गरेर पराजित भएका नेताहरू संगठित हुन थालेका छन्। चुनावी प्रतिस्पर्धामा उपविजेता बनेका नेताहरूले आपसी एकता कायम गर्दै पार्टीभित्र न्याय, सम्मान र सबै पक्षको सहभागिताको मुद्दा उठाएका छन्। उनीहरूको यो पहललाई महाधिवेशनपछि कांग्रेसभित्र नयाँ राजनीतिक समीकरण निर्माणको प्रयासका रूपमा हेरिएको छ।

शनिबार पोखराको जिरो किलोमिटरस्थित गोल्डेन हाउस पार्टी प्यालेसमा भेला भएका नेताहरूले ‘सबैलाई न्याय, सबैलाई सम्मान, गुटरहित कांग्रेस निर्माण हाम्रो अभियान’ भन्ने नारासहित पार्टीभित्र एकता र समावेशी सहभागिताको पक्षमा आवाज उठाएका हुन्। भेलामा विजयादशमी, दीपावली, नेपाल संवत् र छठलगायतका पर्वको शुभकामना आदानप्रदानसँगै महाधिवेशनको निर्वाचन परिणाम र आगामी राजनीतिक कार्यदिशाबारे छलफल गरिएको जनाइएको छ।
निर्वाचनमा पराजित भएका नेताहरूलाई एकजुट गर्दै पार्टीभित्र सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने भेलाको मुख्य उद्देश्य रहेको बताइएको छ। गुटगत प्रतिस्पर्धाभन्दा माथि उठेर संगठनलाई बलियो बनाउने र पार्टीभित्र सबैलाई न्याय हुने वातावरण निर्माण गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
महाधिवेशनको परिणामपछि असन्तुष्ट नेताहरू एकै ठाउँमा उभिन थालेपछि कांग्रेसभित्रको आन्तरिक राजनीति थप चासोको विषय बनेको छ। यो पहल निर्वाचनमा पराजित नेताहरूको असन्तुष्टि अभिव्यक्त गर्ने माध्यममा सीमित हुन्छ वा पार्टीभित्र नेतृत्व, शक्ति सन्तुलन र संगठन सञ्चालनमा प्रभाव पार्ने संगठित अभियानका रूपमा अघि बढ्छ भन्ने प्रश्नसमेत उठेको छ।
‘सबैलाई न्याय, सबैलाई सम्मान’को नारासहित अघि सारिएको यो अभियानले आगामी दिनमा कस्तो रूप लिन्छ र कांग्रेसको आन्तरिक राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषय भने त्यसको निरन्तरता र भावी रणनीतिले तय गर्नेछ।




