महिला नेतृत्वलाई बलियो बनाउँदै जेसीआई नेपाल, पोखरामा सम्पन्न भयो लेडी एकेडेमी–२०२६
- October 12, 2026
- 225

पोखरा । सक्षम महिला नेतृत्वबिना समुन्नत समाज निर्माण सम्भव नहुने भन्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले महिलाको क्षमता, आत्मविश्वास र निर्णय प्रक्रियामा सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन्।
पोखरामा आयोजित जेसीआई नेपाल लेडी एकेडेमी–२०२६ को उद्घाटन सत्रमा बोल्दै अध्यक्ष कार्कीले महिला नेतृत्व विकासलाई संस्थाको प्राथमिकतासँग जोड्नुपर्ने बताए। महिलालाई अवसर दिनु मात्र पर्याप्त नहुने भन्दै उनले नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास विकासमा समेत जोड दिए।

जेसीआई नेपालको आयोजना तथा जेसीआई पोखरा लेडीको आतिथ्यतामा सम्पन्न तीनदिने एकेडेमीमा महिला सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास र संस्थागत जिम्मेवारीलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइएको थियो।
अध्यक्ष कार्कीले जेसीआई नेपालको ‘प्रोजेक्ट संकल्प २०२६’ अन्तर्गतको ‘Aim • Act • Achieve’ अर्थात् लक्ष्य निर्धारण, कार्यान्वयन र उपलब्धि हासिल गर्ने अवधारणालाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे। एकेडेमीबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यक्तिगत जीवनमा मात्र सीमित नराखी आफ्नो शाखा र समुदायको विकासमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।
एकेडेमीमा नेतृत्व विकास, प्रभावकारी सञ्चार, सामूहिक कार्य, आत्मविश्वास अभिवृद्धि तथा संस्थागत कार्यसम्पादनलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षणले सहभागीलाई आफ्नो क्षमता पहिचान गर्न, जिम्मेवारीपूर्वक नेतृत्व गर्न र सिकाइलाई व्यवहारमा लागू गर्न प्रेरित गरेको पोखरा लेडी जेसिजका अध्यक्ष सुनिता गौतम भण्डारीले जानकारी गराएकी छन् ।
कार्यक्रमले महिला सदस्यहरूबीच आपसी सहकार्य, एकता र सिकाइको वातावरण थप मजबुत बनाएको बताइएको छ। महिलालाई कार्यक्रममा सहभागी हुने भूमिकामा मात्र सीमित नराखी निर्णय गर्न, जिम्मेवारी बहन गर्न र समुदायमा सकारात्मक प्रभाव पार्न सक्ने नेतृत्वका रूपमा विकास गर्ने लक्ष्य एकेडेमीले लिएको थियो।
‘सक्षम महिला नेतृत्व, समृद्ध समाजको आधार’ भन्ने सन्देशसहित सम्पन्न एकेडेमीले महिला सशक्तीकरण, युवा नेतृत्व विकास र सकारात्मक सामाजिक रूपान्तरणमा जोड दिएको छ। जेसीआई नेपालले यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।










