
अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान
चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा लामो समयदेखि क्रियाशील डा. ज्यो. हरिश्चन्द्र भण्डारीलाई ज्योतिष परिषद् नेपालले ‘वर्ष ज्योतिषी सम्मान–२०८३’ प्रदान गरेको छ। ज्योतिषशास्त्रको विकास, विस्तार र संस्थागत उन्नयनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै परिषद्ले डा. भण्डारीलाई उक्त सम्मान प्रदान गरेको हो।
ज्योतिष परिषद् नेपालको केन्द्रीय समितिको आयोजनामा चितवनको भरतपुर महानगरपालिका–९, शरदपुरस्थित सप्तऋषि आश्रममा परिषद्का अध्यक्ष मेघराज आचार्यको अध्यक्षता तथा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम ऐतिहासिक साधारणसभाका अवसरमा डा. भण्डारीलाई सम्मान गरिएको थियो।
परिषद्ले पहिलोपटक प्रदान गरेको ‘वर्ष ज्योतिषी सम्मान’ प्राप्त गर्ने व्यक्तित्वका रूपमा डा. भण्डारी चयन हुनुभएको हो। अध्यापन, प्रशिक्षण र ज्योतिषीय फलादेशलाई आफ्नो कर्मक्षेत्र बनाउँदै आउनुभएका डा. भण्डारी हाल ज्योतिष परिषद् नेपालको गण्डकी प्रदेश समितिको अध्यक्षको जिम्मेवारीमा रहनुभएको छ।
ज्योतिषशास्त्रलाई केवल परम्परागत ज्ञानका रूपमा मात्र नभई अध्ययन, अनुसन्धान, प्रशिक्षण र व्यावहारिक जीवनसँग जोडेर अगाडि बढाउन उहाँले निरन्तर योगदान दिँदै आउनुभएको छ। व्यक्तिगत व्यावसायिक यात्रासँगै संस्थागत विकास र ज्योतिषीहरूबीचको एकता तथा सहकार्यलाई समेत उहाँले प्राथमिकतामा राख्नुभएको छ।
गाउँको सामान्य परिवेशदेखि विद्यावारिधिसम्मको शैक्षिक यात्रा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–२, सेराचौरमा जन्मनुभएका डा. भण्डारीको शैक्षिक यात्रा ग्रामीण परिवेशबाट सुरु भएको हो। उहाँले दुर्गाभवानी प्राथमिक विद्यालय, सेराचौरबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो। त्यसपछि माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसबाट माध्यमिक र स्नातक तहको अध्ययन पूरा गर्नुभयो। उच्च शिक्षाको यात्रालाई निरन्तरता दिँदै उहाँले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट अंग्रेजी शिक्षा विषयमा स्नातकोत्तर तथा विद्यावारिधि उपाधि हासिल गर्नुभएको हो।
शैक्षिक क्षेत्रमा निरन्तर साधना, अध्ययन र अनुसन्धान गर्दै विद्यावारिधिसम्मको यात्रा तय गर्नुभएका डा. भण्डारी अहिले प्राज्ञिक क्षेत्रमा स्थापित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। हाल उहाँ पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा उपप्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ। शिक्षण पेसालाई केवल जीविकोपार्जनको माध्यम नभई ज्ञान हस्तान्तरण, व्यक्तित्व निर्माण र समाज रूपान्तरणको महत्वपूर्ण आधारका रूपमा लिँदै आउनुभएका उहाँले शिक्षण क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएको छ।
दुई दशकभन्दा लामो अध्यापन अनुभव डा. भण्डारीको अध्यापन यात्रा २०५५ सालदेखि सुरु भएको देखिन्छ। उहाँले माछापुच्छ्रे माध्यमिक विद्यालय, नागडाँडा, कास्कीमा करिब साढे दुई वर्ष अध्यापन गर्नुभयो। त्यसपछि २०६० सालदेखि घान्द्रुकस्थित मेश्रम बराह माध्यमिक विद्यालयमा करिब डेढ वर्ष शिक्षण सेवा प्रदान गर्नुभयो। २०६२ सालदेखि माछापुच्छ्रे शिक्षा क्याम्पस, नागडाँडामा बिहानको समयमा अध्यापन गर्दै करिब १२ वर्षसम्म शैक्षिक सेवा दिनुभयो। सोही वर्षदेखि पृथ्वीनारायण क्याम्पस, पोखरामा सहायक प्राध्यापकका रूपमा कार्यरत रहनुभएका उहाँले २०७४ सालदेखि उपप्राध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।
विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको अध्यापन अनुभवले उहाँलाई एक अनुभवी शिक्षक, अनुसन्धानकर्ता र शैक्षिक व्यक्तित्वका रूपमा स्थापित गरेको छ। ज्योतिषशास्त्रको व्यावहारिक अध्ययन र प्रशिक्षणमा विशेष रुचि औपचारिक शिक्षणसँगै डा. भण्डारी ज्योतिषशास्त्रको अध्ययन, फलादेश, प्रशिक्षण तथा परामर्शमा समेत निरन्तर सक्रिय रहनुभएको छ।
ज्योतिषीय ज्ञानलाई सरल, व्यावहारिक र सर्वसाधारणले बुझ्न सक्ने शैलीमा प्रस्तुत गर्ने उद्देश्यले उहाँले २०७० सालमा ‘सरल पाङ फलित’ नामक ज्योतिषशास्त्रसम्बन्धी पुस्तक प्रकाशित गर्नुभएको छ। नेपाली र अंग्रेजी दुवै भाषामा सामान्य तथा अनुसन्धानमूलक गरी दुई दर्जनभन्दा बढी लेख तथा रचनाहरू प्रकाशित गर्नुभएका उहाँको लेखन यात्रा पनि उल्लेखनीय छ। विभिन्न स्मारिका तथा जर्नलहरूमा प्रधान सम्पादक, सम्पादक, सहसम्पादक र समीक्षकका रूपमा समेत उहाँले जिम्मेवारी निर्वाह गर्नुभएको छ।
ज्योतिषशास्त्रको परम्परागत ज्ञानलाई व्यवस्थित अध्ययन, प्रशिक्षण र अनुसन्धानसँग जोड्नुपर्ने मान्यता राख्ने उहाँले यस क्षेत्रको संस्थागत विकासमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। सामाजिक तथा धार्मिक संस्थाको नेतृत्वमा सक्रिय डा. भण्डारीको व्यक्तित्वको अर्को महत्वपूर्ण पक्ष सामाजिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा रहेको सक्रियता हो।
विद्यार्थी जीवनदेखि नै सामाजिक गतिविधिमा संलग्न रहनुभएका उहाँले विभिन्न संघसंस्थामा नेतृत्वदायी तथा सहयोगी भूमिका निर्वाह गर्नुभएको छ। उहाँ २०५१ सालमा नवदीप युवा क्लब, सेराचौर, कास्कीको सहसचिव रहनुभएको थियो। २०५६ सालमा माछापुच्छ्रे शिक्षा क्याम्पसको संस्थापक सदस्यका रूपमा योगदान दिनुभयो। २०५८ सालमा लक्ष्मीनारायण मन्दिर निर्माण समिति, अन्नपूर्ण–२, सेराचौरको सचिवको जिम्मेवारी सम्हाल्नुभयो। त्यस्तै, २०६७ सालमा आयोजित धनञ्जय गोत्रीय भण्डारी पितृ उद्धारक गरुड महापुराण महायज्ञमा सदस्य, २०७३ सालमा ढिकुरपोखरी शैक्षिक धार्मिक महोत्सवमा सहसचिवका रूपमा काम गर्नुभयो। २०७८ सालमा विश्व पञ्चाङ्ग निर्णय संघ, केन्द्रीय समिति नेपालको संस्थापक महासचिव बन्नुभएका उहाँले २०७९ सालमा माछापुच्छ्रे माध्यमिक विद्यालयको स्वर्ण महोत्सव आयोजक समितिमा सदस्यको भूमिका निर्वाह गर्नुभयो। २०८० सालमा सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानको कोषाध्यक्ष रहनुभएका उहाँ सोही वर्षदेखि जीवनका लागि गीताज्ञान अभियान, गण्डकी प्रदेश समितिको संयोजकका रूपमा सक्रिय हुनुहुन्छ। यसैगरी, २०८१ सालमा वैदिक धर्म परिषद् नेपाल, जिल्ला समिति कास्कीको सहसचिवको जिम्मेवारी सम्हाल्नुभएका उहाँ २०८२ सालदेखि उक्त संस्थाको अध्यक्ष हुनुहुन्छ। धनञ्जय गोत्रीय भण्डारी समाज नेपाल, जिल्ला समिति कास्कीको अध्यक्षका रूपमा पनि २०८१ सालदेखि नेतृत्व गरिरहनुभएको छ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा समेत उहाँको योगदान उल्लेखनीय छ। २०८२ सालमा सम्पन्न गण्डकी शत्कुण्डीय गायत्री कोटिहोम महायज्ञ आयोजक मूल समितिको उपसंयोजक तथा १०१ हवनकुण्ड निरीक्षण संयोजकका रूपमा उहाँले जिम्मेवारी निर्वाह गर्नुभएको थियो।
ज्योतिष क्षेत्रको संस्थागत विकासमा थप योगदान पुर्याउने उद्देश्यले २०८२ सालदेखि ज्योतिष परिषद् नेपालको गण्डकी प्रदेश समितिको संयोजकका रूपमा काम गर्दै आउनुभएका उहाँ २०८३ सालमा उक्त समितिको संस्थापक अध्यक्ष बन्नुभएको हो। यसका अतिरिक्त उहाँ २०८० सालदेखि ‘ज्योतिष भविष्यवाणी’ राष्ट्रिय साप्ताहिकमा समाचारदाताका रूपमा समेत आबद्ध हुनुहुन्छ। विद्यावारिधिदेखि ज्योतिष शिरोमणि रत्न अवार्डसम्म डा. भण्डारीले आफ्नो शैक्षिक, प्राज्ञिक तथा सामाजिक यात्राका क्रममा विभिन्न उपाधि, सम्मान र पुरस्कार प्राप्त गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयबाट २०८१ सालमा विद्यावारिधि उपाधि हासिल गर्नुभएका उहाँलाई सन् २०२५ मा ‘ज्योतिष शिरोमणि रत्न अवार्ड’ प्रदान गरिएको थियो।
नरेन्द्र मोदी विचार मञ्च, अन्तर्राष्ट्रिय सन्त बौद्धिक मञ्च, इन्डो–नेपाल रिलेसन एन्ड पिस फाउन्डेसन तथा विश्व वैदिक गुरुकुल फाउन्डेसनको संयुक्त आयोजनामा गुरुपूर्णिमाको सन्दर्भमा २०८२ साल असारमा आयोजित सनातन धर्म सम्मान समारोहमा उहाँलाई उक्त अवार्डसहित अभिनन्दन गरिएको थियो। यसका अतिरिक्त विभिन्न दुई दर्जनभन्दा बढी संघसंस्थाबाट सम्मान तथा कदरपत्र प्राप्त गर्नुभएका उहाँ सामाजिक संघसंस्थाहरूमा आजीवन सदस्यका रूपमा समेत आबद्ध हुनुहुन्छ। शिक्षा र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्काउँदै उहाँले दुर्गाभवानी आदर्श सामुदायिक विद्यालय, सेराचौरमा छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि समेत योगदान दिनुभएको छ।
सम्मानले थप जिम्मेवारी र प्रेरणा थपेको अपेक्षा ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी सम्मान–२०८३’ प्राप्त गर्नु डा. भण्डारीको व्यक्तिगत उपलब्धि मात्र नभई ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, अनुसन्धान र संस्थागत विकासमा समर्पित व्यक्तित्वको योगदानको कदरका रूपमा पनि हेरिएको छ। परिषद्को ऐतिहासिक प्रथम साधारणसभामा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूका साथै परिषद्मा आबद्ध सातवटै प्रदेश र विभिन्न जिल्ला समितिका ज्योतिषीहरूको उल्लेख्य सहभागिता रहेको थियो। यसले देशभर ज्योतिषशास्त्रको विकास र संस्थागत विस्तारका लागि भइरहेको प्रयासलाई समेत प्रतिबिम्बित गरेको छ। ग्रामीण परिवेशबाट प्रारम्भ भएको शैक्षिक यात्रा, विश्वविद्यालयस्तरको अध्यापन, विद्यावारिधिसम्मको प्राज्ञिक उपलब्धि, ज्योतिषशास्त्रमा निरन्तर साधना तथा सामाजिक र धार्मिक क्षेत्रमा पुर्याउँदै आएको योगदानले डा. भण्डारीको बहुआयामिक व्यक्तित्वलाई उजागर गर्दछ।











