२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026
खबर

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ। करिब १ करोड ९० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको बिहीबार गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गरेका हुन्।

कृषि तथा पशुपन्छी क्षेत्रलाई व्यावसायिक, आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले निर्माण गरिएको उक्त भवनमा १ करोड ५९ लाख १५ हजार १५१ रुपैयाँ खर्च भएको छ। त्यस्तै, कृषि तथा पशुपन्छीसम्बन्धी प्रयोगशाला उपकरण र फर्निचर व्यवस्थापनका लागि १५/१५ लाख रुपैयाँ खर्च गरिएको गाउँपालिकाका सूचना अधिकारी एवं पशु विकास अधिकृत ऋषिराम दाहालले जानकारी दिए।

दाहालका अनुसार नवनिर्मित सेवा केन्द्रबाट स्थानीय कृषक, पशुपालक तथा मत्स्य व्यवसायीले कृषि, पशु स्वास्थ्य र मत्स्य विकाससम्बन्धी प्राविधिक सेवा गाउँमै प्राप्त गर्न सक्नेछन्। केन्द्रमार्फत बालीमा लाग्ने रोग तथा कीराको परीक्षण, रोग पहिचान र उपचारसम्बन्धी परामर्शसमेत उपलब्ध हुनेछ।

उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले कृषि तथा पशुपन्छी क्षेत्र गाउँपालिकाको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको बताए। उनले दुग्ध उत्पादन, व्यावसायिक पशुपालन, तरकारी खेती तथा कृषि उपज उत्पादनका आधारमा कृषकलाई प्रोत्साहन र अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै नयाँ सेवा केन्द्रले कृषि क्षेत्रको विकासमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले पशुपन्छीको गोबर, थुनेलो तथा पिसाब परीक्षण, पशुको पोषणसम्बन्धी सेवा र रेबिज रोग परीक्षणलगायतका सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिइन्। उनले यसबाट सामान्य रोगको परीक्षण तथा उपचारका लागि पशुपालकले टाढाका सेवा केन्द्र धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा व्यक्त गरिन्।

प्रमुख प्रशासकीय अधिकृत नवराज शर्माले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोग र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा निर्माण भएको सेवा केन्द्र स्थानीय कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि महत्वपूर्ण पूर्वाधार भएको बताए। केन्द्रले कृषि उत्पादन वृद्धि, पशुरोग नियन्त्रण, व्यावसायिक कृषि प्रवर्द्धन तथा कृषकको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष पीताम्बर भण्डारीले कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि प्रयोगशाला, प्राविधिक सेवा र सहज उपचार प्रणाली महत्वपूर्ण हुने बताए। उनले सेवा केन्द्रको स्थापनाले स्थानीय कृषक तथा पशुपालकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे।

उद्घाटन कार्यक्रममा गाउँ कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, आमा समूह, कृषक सञ्जाल, कृषि सहकारी संस्थाका पदाधिकारी, व्यावसायिक कृषक तथा स्थानीय नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता थियो।

Read more

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…

पाँच दशकको अविरल सेवायात्रा : स्वर्ण महोत्सव मनाउँदै लायन्स क्लब अफ पोखरा

नेपालकै छैटौँ तथा पोखराको पहिलो लायन्स क्लबको ऐतिहासिक उत्सव मंसिर ५ गते पोखरा, कार्तिक १७। समय बदलियो, पुस्ता फेरिए, नेतृत्व हस्तान्तरण हुँदै गयो; तर समाजसेवाप्रतिको संकल्प कहिल्यै डगमगाएन।…

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

अन्नपूर्ण–१० फुलीबाङमा जनसेवा आधारभूत विद्यालयको सुविधासम्पन्न तीन कोठे भवन उद्घाटन

वर्षाले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणपछि विद्यार्थीलाई सुरक्षित र व्यवस्थित पठनपाठनको वातावरण अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, फुलीबाङस्थित श्री जनसेवा आधारभूत विद्यालयमा नवनिर्मित तीन कोठे सुविधासम्पन्न पक्की भवनको…

कांग्रेस पार्टी नै फुटाएर हिँडेका छन् गगन थापा : शशांक कोइराला

पोखरा, १५ कात्तिक। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र विषम परिस्थिति नरहेको अवस्थामा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको नाममा कांग्रेसलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १५औँ…

श्रृजना मल्ललाई नेविसंघको नेतृत्व, ६ महिनाभित्र महाधिवेशन गराउन निर्देशन

पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.…