
पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट गोवर्द्धन पर्वत बनाई पूजा गर्ने परम्परा छ।
द्वापरयुगमा भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई वर्षाबाट बचाएको स्मरणमा गोवर्द्धन पूजा गर्ने प्रचलन रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
यसै दिन भगवान् विष्णुबाट पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार पाएका बलि राजाको पनि पूजा गरिन्छ। वर्षभरि कृषि कर्ममा मानवलाई सहयोग गर्ने गोरु तथा खेत जोत्ने हलीको सम्मानस्वरूप पूजा गरी मीठा परिकार खुवाउने चलन छ। यस दिनलाई हली तिहार वा हलतिहारसमेत भनिन्छ।











