
१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान
पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ। अधिवेशनको उद्घाटन पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको छ।
अधिवेशनको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक एवं नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा गठित केन्द्रीय तयारी समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार गण्डकी प्रदेशमा पहिलो प्रदेश अधिवेशन हुन लागेको उनले बताए।
श्रेष्ठका अनुसार मंसिर ५ गते पोखराको न्युरोडस्थित पोखरा सभागृहमा उद्घाटन समारोह हुनेछ। उद्घाटन कार्यक्रममा पार्टीका शीर्ष तथा केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन्। मंसिर ६ गते पोखरा महानगरपालिका–९, बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा बन्दसत्र र निर्वाचनका कार्यक्रम सञ्चालन हुनेछन्।
अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट १ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ। प्रदेशका ३६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट २१ जनाका दरले ७ सय ५६ प्रदेश प्रतिनिधि तथा १८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ६ सय ३० केन्द्रीय महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।
त्यसैगरी ३६ प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति, ८५ वटै स्थानीय तहका पार्टी सभापति तथा प्रदेश सभापतिबाट मनोनीत ४० जना प्रतिनिधि पनि सहभागी हुनेछन्। भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, स्थानीय तहका निर्वाचित प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष एवं प्रदेश र संघीय सांसदको समेत सहभागिता रहनेछ।
प्रदेश अधिवेशनले नेपाली कांग्रेस गण्डकी प्रदेशको नयाँ कार्यसमिति चयन गर्नेछ। विधानअनुसार प्रदेश कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र तीन सहमहामन्त्री निर्वाचित हुनेछन्।
त्यस्तै, ११ जिल्लाबाट तीन जनाका दरले ३३ जना, खुलातर्फ १० जना र विभिन्न समावेशी समूहबाट १७ जना सदस्य निर्वाचित हुने व्यवस्था छ।
अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गर्न नेपाल बार एसोसिएसनका पूर्वकेन्द्रीय उपाध्यक्ष एवं अधिवक्ता वीरेन्द्र केसीको संयोजकत्वमा प्रदेश निर्वाचन समिति गठन गरिएको छ। समितिले निर्वाचनसम्बन्धी आवश्यक तयारी अघि बढाइरहेको आयोजकले जनाएको छ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये हालसम्म पाँच जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। सम्पन्न अधिवेशनबाट कास्कीमा ऋषिराम काफ्ले, पर्वतमा यमबहादुर मल्ल (रामकृष्ण), स्याङ्जामा इन्द्र गोदार, म्याग्दीमा हिराबहादुर पुन र मनाङमा गीता गुरुङको नेतृत्वमा जिल्ला कार्यसमिति निर्विरोध चयन भएको आयोजकले जनाएको छ।
बाँकी जिल्लाको अधिवेशन पनि प्रदेश अधिवेशनअघि नै सम्पन्न गर्ने तयारी छ। निर्धारित कार्यतालिकाअनुसार नवलपुरमा कात्तिक २८ गते, लमजुङमा मंसिर १ गते, तनहुँमा मंसिर २ गते तथा बागलुङ र गोरखामा मंसिर ३ गते जिल्ला अधिवेशन गर्ने कार्यक्रम छ। मुस्ताङमा पनि यथाशीघ्र अधिवेशन सम्पन्न गर्न गृहकार्य भइरहेको जनाइएको छ।
प्रदेश अधिवेशन सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। अधिवेशनको खर्च प्रतिनिधिहरूको रजिस्ट्रेसन शुल्क, पदाधिकारी तथा सदस्य पदका उम्मेदवारको मनोनयन दर्ता शुल्क र पार्टीका नेता तथा शुभेच्छुकबाट प्राप्त हुने स्वैच्छिक सहयोगमार्फत व्यवस्थापन गरिने आयोजकले जनाएको छ।
अधिवेशन व्यवस्थापनका लागि उपसभापति मेखलाल श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। त्यसैगरी प्रचारप्रसार उपसमितिको संयोजकमा गंगाधर पराजुली, अर्थ व्यवस्थापनमा विश्व प्रसाईं, भोजन व्यवस्थापनमा तरुणमणि सुवेदी, अतिथि स्वागत तथा सांस्कृतिक कार्यक्रम एवं मञ्च व्यवस्थापनमा कुमार राना र तरुण युवा समन्वय उपसमितिको संयोजकमा प्रेमलाल पुन रहेका छन्।
प्रचारप्रसार उपसमितिमा विभिन्न जिल्लाका प्रतिनिधिहरू सदस्य छन्। समितिमा स्याङ्जाबाट इन्द्र रिजाल र इन्द्र गोदार, तनहुँबाट डम्बर अधिकारी र प्रविण कैनी, पर्वतबाट उज्वल गुरुङ र अनिता मल्ल तथा कास्कीबाट सुरेन्द्रनाथ शर्मा र डा. गोविन्द लामिछानेलगायत रहेका छन्।
विशेष महाधिवेशनको गतिविधिलाई महत्त्व दिन आवश्यक छैन : बराल

यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले पार्टीको आधिकारिक र वैधानिक प्रक्रिया नियमित महाधिवेशन नै भएको बताएका छन्। पार्टीभित्र विशेष महाधिवेशनलाई लक्षित गरी भइरहेका गतिविधिलाई अनावश्यक महत्त्व दिन नहुने उनको भनाइ छ।
पत्रकार सम्मेलनमा पार्टीको आन्तरिक अवस्था र समसामयिक राजनीतिक विषयमा धारणा राख्दै बरालले कांग्रेसका आठ लाख क्रियाशील सदस्य नै पार्टीका वास्तविक आधारस्तम्भ भएको बताए। क्रियाशील सदस्यबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले नै पार्टीको नेतृत्व चयनमा मतदान गर्ने भएकाले उनीहरूको भूमिका निर्णायक हुने उनले उल्लेख गरे।
‘को कता गए, कसले कस्तो गतिविधि गरे भन्ने कुरालाई धेरै महत्त्व दिन आवश्यक छैन,’ बरालले भने, ‘नियमित महाधिवेशनमा सहभागी हुनुपर्ने प्रतिनिधिहरू सहभागी हुनेछन्।’
उनले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नै पार्टीको आधिकारिक सभापति रहेको उल्लेख गर्दै उहाँकै सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुने दाबी गरे।
पार्टीभित्र देखिएका मतभेद र फरक गतिविधिभन्दा विधि, विधान र संस्थागत प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै बरालले नियमित महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध र सुदृढ बनाउनुपर्ने धारणा राखे।











