
यसअघि पुस ९ गते हुने तय भएको कार्यक्रम १७ दिन पछि सारियो, ३ हजार वा सोभन्दा बढी सहयोग गर्ने चन्दादाताको नाम र रकम हीरक जयन्ती स्तम्भमा अंकित गरिने
अन्नपूर्ण–१, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित श्री परशु आधारभूत विद्यालयले आफ्नो ६७ वर्षे शैक्षिक यात्रालाई उत्सवका रूपमा मनाउन आयोजना गर्न लागेको हीरक जयन्ती तथा वार्षिकोत्सवको मिति परिवर्तन गरेको छ। यसअघि आगामी पुस ९ गते मनाउने तय भएको हीरक जयन्ती अब पुस २६ गते आयोजना हुने भएको छ।
विद्यालयको हीरक जयन्ती कार्यसम्पादन समितिको २०८३ साल कात्तिक ३० गते बसेको बैठकले तयारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रमको मिति परिवर्तन गर्ने निर्णय गरेको हो। विद्यालयका प्रधानाध्यापक हरिप्रसाद भुगाईका अनुसार हीरक जयन्तीका अवसरमा विशेष स्तम्भ निर्माण गरिने र उक्त स्तम्भमा ३ हजार रुपैयाँ वा सोभन्दा बढी आर्थिक सहयोग गर्ने चन्दादाताको नाम र सहयोग रकमसमेत उल्लेख गरिने निर्णय भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ अधिकारीको संयोजकत्वमा ५ सय ५५ सदस्यीय हीरक जयन्ती मूल समारोह समिति गठन गरिएको छ। विद्यालयका प्रधानाध्यापक भुगाईका अनुसार हीरक जयन्तीलाई केवल औपचारिक समारोहमा सीमित नराखी पूर्वशिक्षक, पूर्वविद्यार्थी, अभिभावक, स्थानीय समुदाय, जनप्रतिनिधि, समाजसेवी तथा शिक्षाप्रेमीलाई जोड्ने साझा अभियानका रूपमा अघि बढाइएको छ।
“यो कार्यक्रम विद्यालयको मात्रै नभई समग्र यस क्षेत्र र आसपासका समुदायको गौरवसँग जोडिएको उत्सव हो,” प्रधानाध्यापक भुगाईले बताए। उनका अनुसार विद्यालयको इतिहास, उपलब्धि र भविष्यको शैक्षिक मार्गचित्रलाई एकैसाथ प्रस्तुत गर्ने अवसरका रूपमा हीरक जयन्तीलाई लिइएको छ।
कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ अधिकारीको संयोजकत्वमा १३ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ। समितिको सहसंयोजकमा कृष्णबहादुर कुँवर ‘बी’, महासचिवमा महेन्द्रबहादुर कुँवर, सदस्य सचिवमा प्रधानाध्यापक हरिप्रसाद भुगाई, कोषाध्यक्षमा गायत्री अधिकारी पराजुली र सहकोषाध्यक्षमा मोहनप्रसाद अधिकारी रहेका छन्। त्यस्तै सदस्यहरूमा कृष्णबहादुर कुँवर ‘ए’, कलाधर भुगाई, इन्द्रप्रसाद अधिकारी, खिमप्रसाद अधिकारी, इन्द्रबहादुर नेपाली, राधा अधिकारी र राधा कुँवर रहेका छन्।

हीरक जयन्तीलाई सफल बनाउन विभिन्न विषयगत उपसमितिहरूसमेत सक्रिय रूपमा परिचालित भएका छन्। टंकराज अधिकारीको संयोजकत्वमा प्रचार–प्रसार तथा मिडिया व्यवस्थापन समिति, गायत्री अधिकारीको नेतृत्वमा अर्थ संकलन तथा व्यवस्थापन समिति, महेन्द्रबहादुर कुँवरको संयोजकत्वमा स्मारिका प्रकाशन समिति, राधा अधिकारीको नेतृत्वमा स्वागत सत्कार उपसमिति तथा शिवप्रसाद अधिकारीको संयोजकत्वमा विज्ञापन संकलन उपसमिति गठन गरिएको छ।
त्यसैगरी राजेन्द्रराज अधिकारीको नेतृत्वमा पूर्वविद्यार्थी समन्वय उपसमिति गठन गरिएको छ। ऐतिहासिक अभिलेख संकलन, अभिनन्दन तथा सम्मान, साहित्यिक कार्यक्रम, स्वयंसेवक परिचालन, मञ्च तथा साउण्ड व्यवस्थापन, निमन्त्रणा, आवास तथा भोजन व्यवस्थापन, खानेपानी तथा सरसफाइ, अतिरिक्त क्रियाकलाप, संघसंस्था परिचालन, आमा समूह परिचालन, झाँकी व्यवस्थापन, अभिभावक समन्वय, सांस्कृतिक कलाकार व्यवस्थापन, पुरस्कार व्यवस्थापन तथा स्वास्थ्य सेवा परिचालनलगायतका उपसमितिहरू पनि गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ।
यसैक्रममा टंकराज अधिकारीको संयोजकत्वमा रहेको मिडिया परिचालन तथा प्रचार–प्रसार उपसमिति पाँच सदस्यीय बनेको छ। समितिका सदस्यहरूमा बाला अधिकारी, सन्तोषी कुँवर क्षेत्री, युवराज अधिकारी र दीपक कुँवर रहेका छन्। उक्त समितिले विद्यालयको हीरक जयन्तीसम्बन्धी गतिविधिलाई सञ्चारमाध्यम तथा विभिन्न सञ्चार प्लेटफर्ममार्फत व्यापक प्रचार–प्रसार गर्ने जिम्मेवारी पाएको छ।
विद्यालयले हीरक जयन्तीका अवसरमा करिब ५० लाख रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखेको छ भने कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ। कार्यक्रम सम्पन्न भएपछि बचत हुने रकम विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा लगानी गरिने जनाइएको छ।
हीरक जयन्तीलाई आर्थिक सहयोग जुटाउने अभियानसँगै विद्यालयको इतिहास र योगदानलाई अभिलेखीकरण गर्ने अवसरका रूपमा पनि अघि बढाइएको छ। यस अवसरमा विद्यालयले स्मारिका प्रकाशन गर्ने तयारी गरेको छ। स्मारिकामा समावेश गर्न मिल्ने विद्यालय तथा शिक्षासम्बन्धी लेख, रचना, अनुभव, संस्मरण तथा सिर्जनाहरू उपलब्ध गराउन पूर्वशिक्षक, पूर्वविद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीलाई आग्रह गरिएको छ। इच्छुकले आफ्ना सामग्री विद्यालयको इमेल prashukaski885@gmail.com मा पठाउन सक्ने विद्यालयले जनाएको छ।
वि.सं. २०१६ सालमा स्थापना भएको परशु आधारभूत विद्यालयले ग्रामीण क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। विद्यालयका अभिलेखअनुसार हालसम्म करिब ९ सय विद्यार्थीले यहाँबाट पाँच कक्षासम्मको अध्ययन पूरा गरेका छन्। तत्कालीन समयमा प्राथमिक तहसम्म अध्ययन गरी थप शिक्षाका लागि अन्यत्र जाने प्रचलन रहेकाले विद्यालयसँग जोडिएका पूर्वविद्यार्थीहरूको संख्या अझ ठूलो रहेको अनुमान गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ अधिकारीले हीरक जयन्तीलाई विद्यालयको इतिहास, योगदान र उपलब्धिको उत्सव मात्र नभई आगामी पुस्ताका लागि नयाँ ऊर्जा र प्रेरणा दिने अवसरका रूपमा लिइएको बताएका छन्। यस अवसरमा ‘परशु आधारभूत पूर्वविद्यार्थी समाज’लाई संस्थागत, व्यवस्थित र दीर्घकालीन रूपमा सक्रिय बनाउने योजना पनि अघि सारिएको छ।
स्थापनादेखि हालसम्म विद्यालयको शैक्षिक यात्रामा योगदान पुर्याउने अग्रज शिक्षक, पूर्वविद्यार्थी, अभिभावक, चन्दादाता तथा स्थानीय समुदायलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित आयोजना गर्न लागिएको हीरक जयन्तीले विद्यालयको इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै शैक्षिक विकासका लागि थप सहयोग र सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ। विद्यालयले पुस २६ गते हुने कार्यक्रममा सम्पूर्ण सरोकारवाला, शुभेच्छुक तथा शिक्षाप्रेमीहरूको उल्लेखनीय सहभागिता र सहयोगका लागि आग्रह गरेको छ।












