
पोखरा, ७ मंसिर । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको महासचिवमा दिलिपकुमार श्रेष्ठ मनोनित भएका छन्।
संघका गण्डकी प्रदेश अध्यक्ष हरिराज पन्तले श्रेष्ठलाई प्रदेशको तदर्थ कार्यसमितिको महासचिवमा मनोनयन गरेका हुन्। संघको संगठन विस्तार, संस्थागत सुदृढीकरण तथा उद्योगी व्यवसायीको हकहित संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने जिम्मेवारीसहित उनलाई महासचिवको जिम्मेवारी दिइएको हो।
मनोनयनपत्रमा संघलाई जिल्ला तथा प्रदेश तहसम्म विस्तार गरी लोकतन्त्रप्रति आस्थावान् उद्योगी व्यवसायीको साझा संस्थाका रूपमा विकास गर्ने लक्ष्य उल्लेख गरिएको छ।
नवनियुक्त महासचिव श्रेष्ठले संघको नीति, विधान र उद्देश्यअनुरूप संगठनलाई गतिशील तथा प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने अपेक्षा संघले गरेको छ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा रहेको नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघले लोकतन्त्रप्रति आस्थावान् उद्योगी व्यवसायीलाई संगठित गर्दै उनीहरूको हकहित र व्यावसायिक अधिकारका पक्षमा काम गर्ने उद्देश्य राखेको छ।












