
बडिगाडको ६ घण्टे शिशुलाई उपचारका लागि पोखरा ल्याइयो, प्रदेश सरकारको पहलमा आकस्मिक उद्धार
पोखरा । बागलुङको दुर्गम क्षेत्र बडिगाड गाउँपालिकामा जन्मजात जटिल स्वास्थ्य समस्या देखिएका नवजात शिशुको जीवन रक्षाका लागि गण्डकी प्रदेश सरकारले आकस्मिक हवाई उद्धार गरेको छ ।
बडिगाड गाउँपालिका–१, दगातुङडाँडाकी ३६ वर्षीया तारा थापाले सामान्य प्रसूतिबाट जन्माएको करिब ६ घण्टाको शिशुमा मेरुदण्डको झिल्ली बाहिर निस्किएको र फुटेको गम्भीर समस्या देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी पोखरा ल्याइएको हो ।
३८ हप्ता २ दिनको गर्भावधिमा जन्मिएको ३ हजार २ सय ग्राम तौलको शिशुमा Spina bifida with ruptured meningocele समस्या देखिएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुने र तत्काल विशेषज्ञ सेवा उपलब्ध नगराए शिशुको ज्यान जोखिममा पर्न सक्ने अवस्था भएपछि प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले तत्काल उद्धारको व्यवस्था मिलाएको हो ।
उद्धारपछि आमा र नवजात शिशुलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याइएको छ । त्यहाँ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले आवश्यक उपचार प्रक्रिया अघि बढाएको मन्त्रालयका कार्यक्रम अधिकृत तथा फोकल पर्सन बुद्धिसागर अधिकारीले जानकारी दिए ।
नवजात शिशुको स्वास्थ्य अवस्था जटिल रहेको जानकारी प्राप्त भएपछि उद्धारदेखि अस्पतालसम्म उपचार व्यवस्थापनका लागि विभिन्न स्वास्थ्य संस्था र सरकारी निकायबीच समन्वय गरिएको थियो ।
उद्धार कार्यमा बुर्तिबाङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विज्ञान लामिछाने, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा तथा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारीले आवश्यक समन्वय र सहजीकरण गरेका थिए । धौलागिरी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले प्राविधिक सुझाव दिएका थिए ।
दुर्गम क्षेत्रमा जन्मिएका नवजात शिशुमा देखिएको जटिल स्वास्थ्य समस्याको तत्काल पहिचान, समन्वय र हवाई उद्धारमार्फत विशेषज्ञ उपचारको पहुँच पुर्याइनुले आकस्मिक स्वास्थ्य सेवामा प्रदेश सरकारको सक्रियता देखाएको छ । समयमै उद्धार र उपचारको व्यवस्था हुनुले जोखिमपूर्ण अवस्थामा रहेका आमा तथा नवजात शिशुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारी संयन्त्रबीचको समन्वयसमेत महत्वपूर्ण बनेको छ ।












