10Shares

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार पोखरामा हुने जिल्ला अधिवेशनमा सभापति पदमा ५ जनाको उमेद्वारी परेको छ ।

कास्की १ बाट निवर्तमान जिल्ला सचिव सुदिपमोहन भट्टराई, निवर्तमान महासमिति सदस्यद्वय गिरिराज गौतम र किशोरदत्त वरालसमेत ३ र कास्की ३ बाट निर्वतमान जिल्ला उपसभापति आइबहादुर गुरुङ र पूर्व जिल्ला उपसभापति पोषनाथ शर्मा समेत २ गरी पाँच जनाको उमेद्वारी परेको हो ।

सभापतिका प्रत्यासी गिरिराज गौतम बाहेक अन्य सबै उमेद्वारले प्यानल बनाएका छन् । यद्यपि कतिपय सभापतिले आफ्नो प्यानलाई बलियो बनाउन साझा उमेद्वार बनाएको चर्चा छ ।

पोखरा भ्यूजलाई प्राप्त जानकारी अनुसार किशोरदत्त बरालले संस्थापन पक्षको प्रतिनिधित्व गर्दै उमेद्वारी दिएका छन् । उनको समूहलाई कास्की ३ का नवनिर्वाचित सभापति मनोज गुरुङको टिमको साथ रहेको छ । यससमूको उपसभापतिमा हरि लामिछाने र लेखबहादुर गुरुङ, सचिवमा अमृत श्रेष्ठ र भरतप्रसाद तिवारी छन् भने सहसचिवमा कृष्णमान ठुसाजु र  विकास थापा प्रत्यासी छन् ।

सचिव पदका गुरुङ र श्रेष्ठ दुवै हरुवा महाधिवेशन प्रतिनिधि हुन् । गुरुङ कास्की १ बाट कृष्ण के.सी. को समूहबाट जनजाति कोटा र श्रेष्ठ कास्की ३ बाट शुक्रराज शर्माको समूहबाट जनजाति कोटामा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

त्यस्तै सभापतिका अर्का उमेद्वार सुदिपमोहन भट्टराईको समेत छुट्टै प्यानल खडा भएको स्रोतले बताएको छ । उनको प्यानलमा उपसभापतिमा रंगिला आचार्य र विजय भण्डारी, सचिवमा भानुभक्त ढकाल छन् भने सहसचिवमा जयप्रकाश थापा र भिम गौतम छन् ।

त्यसै गरी सभापतिका अर्का उमेद्वार शुक्रराज समूहका आइबहादुर गुरुङले पनि प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा होमिएता पनि  समूहबाटै विद्रोही सभापतिको उमेद्वार बनेका पोषनाथ शर्माको समेत पदाधिकारीमा साझा उमेद्वार रहेको समाचार स्रोतले दावी गरेको छ । समाचार स्रोत अनुसार दुवै समूहको प्यानलमा उपसभापतिमा युवराज कुँवर र रामबाबु भण्डारी छन् ।

त्यस्तै, सचिवमा देवेन्द्र भाट, कृष्णप्रसाद तिमिल्सिना र विष्णु पौडेल उमेद्वार बन्ने स्रोतले बताएको छ भने सहसचिवमा नवीन सिग्देल र शंकर ढुंगाना रहेका छन् । ढुंगाना मंसिर ६ को क्षेत्रीय अधिवेशनमा शुक्रराज समूहबाटै महाधिवेशन प्रतिनिधिमा उमेद्वार बनेकोमा रातारात उनको नाम काटेर बाबुराम आचार्यको नाम समावेश गरिएपछि उनको लज्जास्पद हार भएको थियो । ढुंगानालाई संस्थापन समूहले सचिव पदको अफर गरेको भएपनि उनी किशोरदत्तको समूहमा नगई पुरानै समूहबाट सहसचिवको उमेद्वार बनेका हुन् ।

कास्की १ बाट यज्ञबहादुर थापाको समूहबाट महाधिवेशन प्रतिनिधि बनेका गिरिराज गौतमलाई सुदिपमोहनको प्यानलबाट सचिव बन्न अफर गरिएको थियो । तर गौतमले सो प्रस्ताव अस्वीकार गरी सभापतिमा नै उमेद्वारी दिएका छन् । उनको पनि यो समाचार तयार पार्दा सम्म प्यानल बनिनसकेको जानकारी दिएका छन् ।

उता कास्की ३ मा शुक्रराज समूहबाट महाधिवेशन प्रतिनिधिमा प्रत्यासी राजबहादुर गुरुङमाथि घात भएपछि उनले पनि जिल्ला सचिव पदमा उमेद्वारी दिएका छन् । गुरुङलाई बलिया भनिएका टिमले अफर गरेको छ ।

‘साथीहरुले टिममा बोलाउनु भएको छ,’ सचिवका प्रत्यासी राजबहादुरले भने, ‘यसबारे व्यापक छलफल भइरहेको छ । मतदान हुनुअघिसम्म कुरा मिल्नेवाला छ । म कुनै एक बलियो टिमकै चुनाव लड्दै छु ।’ तर उनले कुन टिमसँग छलफल भएको हो भन्नेबारे केही खुलाउन चाहेनन् ।

त्यस्तै सचिव पदमा शिरोज कोइराला, महेन्द्र पुन समेतको उमेद्वारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । शुक्रबार पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुन लागेको चुनावमा १ सभापति का लागि ५, २ उपसभापतिका लागि १०, २÷२ जना सचिव र उपसचिवका लागि क्रमशः ९/९ जना उमेद्वार चुनावी मैदानमा रहेका छन् ।

शुक्रबार सभापति पदबाहेक अन्य पदको टुंगो निर्वाचनबाट लाग्ने भए पनि सभापतिको टुंगो लाग्न नसक्ने आँकलन गरिएको छ । पार्टी विधानले सभापति जित्ने उमेद्वारले ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था गरिएकोको सन्दर्भमा धेरै उमेद्वार हुँदा कुनै पनि उमेद्वारले विधान बमोजिमको मत प्राप्त गर्न सक्ने अवस्था देखिंदैन । यसबाट ३ जना उमेद्वार चुनावी मैदानबाट आउट भएपछि पहिलो र दोस्रोबीच पुन प्रतिस्पर्धा हुनेछ ।

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected