147Shares

पोखरा भ्यूज टिम
पोखरा ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रवार भएको ज़िल्ला अधिवेशनले कास्की सभापति चुन्न सकेन । सभापतिका लागि पाँच उमेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिदाँ कुनै पनि ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेनन् ।

सभापतिका पाँच उमेद्वारबीचको प्रतिस्पर्धामा तीन उमेद्वारहरु क्रमशः आइबहादुर गुरूङ, पोषनाथ शर्मा र गिरिराज गौतम पहिलो राउन्डमा रिङआउट भएका छन् । पहिलो राउन्डका प्रथम किशोरदत्त वराल र द्वितीय भएका सुदिपमोहन भट्टराईबीच शनिबार पुनः मतदान हुँदैछ ।
शुक्रबार भएको निर्वाचनमा बरालको पक्षमा ६ सय ४४ र भट्टराईको पक्षमा ४ सय ७२ मत परेको थियो ।

त्यस्तै पहिलो राउन्डबाट रिङआउट भएका आइबहादुर गुरूङको पक्षमा ४६२, पोषनाथ शर्माको पक्षमा ३३५ र गिरीराज गौतमको पक्षमा ६३ मत परेको थियो । पार्टी विधानले सभापति हुने उमेद्वारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने वाध्यतात्मक व्यवस्था गरेको छ । विधान बोजिमको मत प्राप्त गर्न नसकेमा पुनः पहिलो र दोस्रो हुने उमेद्वारबीच चुनाव गराउनुपर्ने व्यवस्था बमोजिम शनिबार पुनः वराल र भट्टराईबीच मतदान गरिन लागिएको हो ।

कास्की काँग्रेस सभापतिका लागि शनिबार हुने दोस्रो राउन्डको मतदानमा भिड्ने किशोरदत्त वराल (वायाँ) र सुदिपमोहन भट्टराई (दायाँ)

यद्यपि सबै शक्ति मिलेर वराल हराउने योजना बनाइएको समाचार स्रोतले दावी गरेको छ । सोही योजना बमोजिम पहिलो राउन्डमा रिङआउट भएका तीनै उमेद्वारले सुदिपमोहन भट्टराईलाई समर्थन गरेको विज्ञप्तिमार्फत् जानकारी दिइएको छ । यद्यपि परम्परागत गुटबन्दीको अन्त्यका लागि वराललाई जिताउन अर्को छुट्टै रणनीति बनाइएको स्रोतले बतायो ।

काँग्रेसको परम्परागत गुटभन्दा बाहिर बसेर उमेद्वारी घोषणा गरेका वराल पार्टीको केन्द्रीय नीति तथा प्रतिक्षण विभागका सदस्य हुन् । उनी केन्द्रमा विलेन्द्र निधि निकट मानिन्छन् । यद्यपि कास्कीमा उनलाई संस्थापन पक्षधरको नेतृत्व गर्ने मनोज गुरूङको सहयोग र समर्थन थियो । पूर्वमन्त्री यज्ञबहादुर थापा समूहबाट सभापति लडेका भट्टराई केन्द्रमा सिटौला निकट मानिन्छन् । यद्यपि उनलाई शेखर कोइरालाको समेत समर्थन रहेको बुझिएको छ ।

उता आइबहादुर र पोषनाथ दुवै शुक्रराज शर्मा समूहका नेता हुन् । शुक्रराज शर्माले गुरूङलाई सभापतिमा समर्थन गरेपछि पोषनाथ विद्रोही उमेद्वार बनेका थिए । यी दुवै उमेद्वारलाई मिलाएर चुनावमा जान नसक्दा शुक्रराज शर्मा राजनीतिकरुपमा असफल भएका छन् । परिवारवाद र आत्मकेन्द्रित राजनीतिमा रमाउने शर्मा प्रवृत्ति र शैली १४ औं महाधिवेशनमा आएर अन्त्योन्मुख भएको छ । काँग्रेस राजनीतिमा निरन्तर शुक्रराज भक्त भएर बसेका पोषनाथ शर्माको विद्रोहले शुक्रराजको राजनीतिक शाख गिराइ दिएको छ ।

शुक्रराज पथमा थिचिएको पोषनाथको राजनीतिक उचाई एकाएक माथि उठेको छ । १२ औं महाधिवेशनमा सभापतिमा पराजय भएका पोषनाथ शुत्रराजकै जोडबलमा १३ औं महाधिवेशनमा क्षेत्रीय सभापति बनेका थिए । पार्टीको जिल्ला सचिव र उपसभापति भइसकेको व्यक्ति पुनः क्षेत्रीय सभापति बन्न गएपछि पोषनाथको राजनीतिक उचाई घटेको काँग्रेसवृत्तमा चर्चा थियो । यद्यपि १४ औं महाधिवेशनमा पोषनाथले शुक्रराज गुटभित्रै विद्रोह गरी सभापतिमा लड्ने साहसको पक्षमा शानदार मत (३३५) खस्दा कास्की काँग्रेसमा शुक्रराज शर्माको एकछत्र रजगज ध्वस्त हुन पुगेको छ ।

पोषनाथले वडा अधिवेशन हुनुपूर्व नै शुक्रराजले सभापतिमा आफूलाई समर्थन नगरेको पीडा आफ्ना शुभेच्छुहरूसँग सुनाउँदै आएका थिए ।

‘मैले अहिलेसम्म काका (शुक्रराज) सन्निकट भई वहाँ (शुक्रराज) कै काखमा बसेर पार्टीमा लामो समय योगदान गरें । मैले पार्टीको काम गर्दा नजानेर काका (शुक्रराज) कै काखमा आची गरेको रहेछु भने पनि वहाँले आँची फ्याँकेर मलाई काखमै राख्नु पथ्र्यो । तर काकाले आची राखेर मलाई फ्याँक्नु भयों,’ तत्कालीन समयमा पोषनाथले गरेको राजनीतिक विलेश्षण सुनाउँदै स्रोतले भन्यो, ‘वहाँ ठूलो घेराबन्दीमा पर्नु भयो । अब हामी सबैको राजनीतिक भविष्य खाडलमा जाकिन्छ ।’

उनले आफ्ना शुभेच्छुकसमक्ष व्यक्ति गरेको तत्कालिन चिन्तन एवं राजनीतिक भविष्य आज सत्य सावित भएको छ । महाधिवेशन प्रतिनिधिमा चुनिए जुनसुकै हालमा पनि सभापति लड्ने अडानमा रहेका पोषनाथ अन्नतः सभापतिमा भिड्दा शुक्रराज समूह दुई खेमा चोइटियो । शुक्रराजसँग विद्रोह गरेका पोषनाथलाई नेता देवराज चालिसेको साथ र समर्थन समेत प्राप्त भयो । यद्यपि गण्डकी प्रदेशको सभापतिमा उमेद्वारी दिने घोषणा गरेका नेता देवराज चालिसेलाई पोषनाथले गुन तिर्नु पर्ने अवस्था छ । तर अहिलेसम्म उनले आफ्नो राजनीतिक दिशा भने स्पष्ट पारेका छैनन् ।

उता शुक्रराज शर्मा पनि गण्डकी प्रदेशको सभापतिमा आँकाक्षी छन् । शुक्रराजको विद्रोही बनेका पोषनाथले प्रदेशमा कसैलाई सहयोग गर्ने त्यो हेर्न भने करिब एक साता कुर्नपर्ने छ । त्यसो त केन्द्रीय नेताको विश्वासमा रहन नसकेका शुक्रराज शर्माको केन्द्रीय गुट खुल्न सकेको छैन । यद्यपि पार्टी सभापति शेरबहादुर देउवा केही समयअघि पोखरा आउँदा गण्डकी प्रदेशको सभापतिमा समर्थन गरी दिन विन्ती चढाएका थिए । देउवाले मौखिक समर्थन जनाए पनि ठोस निर्णय नभएको स्रोतले बतायो ।

उता पूर्वमन्त्री थापा समूहमै रहेका गिरिराज गौतम विद्रोही उमेद्वार बने पनि उनी सफल हुन भने सकेन । सुदिप मोहनकै प्यानबाट सचिव पदको अफर अस्वीकर गरी सभापति लडेका गौतमको पक्षमा सम्मानजनक मत खस्न सकेन । शनिबार हुने निर्वाचनमा शुक्रराजसमूहले सुदिप मोहन भट्टराईलाई समर्थन गर्ने निर्णय छ ।

यद्यपि गुटभन्दा बाहिरबाट उमेद्वारी दिएर शानदार मत आफ्नो पक्षमा पार्न सफल भएका किशोरदत्त वरालाई कम आँक्न सकिने अवस्था छैन । चार वर्षे कार्यकालको स्पष्ट खाकासहित प्रस्तुत भएका वरालको पक्षमा मत खस्ने आँकलन गरिएको छ ।
सभापतिका लागि शनिबार हुने निर्वाचनमा दुई हजार ८८ क्षेत्रीय प्रतिनिधिले भाग लिंदै छन् ।

147Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected