कांग्रेस गण्डकी प्रदेश सभापतिमा रघुनाथको उमेदवारी घोषणा

पोखरा भ्यूज । नेपाली कांग्रेसका नेता रघुनाथ पौडेलले पार्टीको गण्डकी प्रदेश सभापति पदमा उमेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेस तनहुँका पूर्व सभापति समेत रहेका पौडेलले पोखरामा पत्रकार सम्मेलन गरी उमेदवारी घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको प्रदेश अधिवेशन यहि मंसिर १६ र १७ गते पोखरामा हुदैछ ।
‘पार्टीलाई एकतावद्ध गरी संस्थागत रुपमा अगाडि बढाउदै पार्टीको गुमेको गरिमा र प्रतिष्ठालाई थप उचाईमा पुर्रयाउन प्रदेश सभापतिमा लड्ने इच्छा र उत्साह देखाएको छु’ पौडेलले बताए। पार्टीमा बढेको गुटबन्दी र भागबन्डाको विकृतलाई चिर्दै सबैमा सद्भाव र एकता बढाउन आफुले उम्मेद्वारी दिने उनको भनाई छ ।
काम गर्ने योग्यताको आधारमा पार्टीमा जिम्मेवारी पाउनुपर्छ, निष्ठाको उचित मुल्यांकन हुनुपर्छ तब मात्र पार्टी बलियो हुन्छ उनले भने, चुनाव सकिएपछि पनि विजेता र उपविजेताको हैसियतमा नेता कार्यकर्ता अघि बढे भने मात्र पार्टीमा सद्भाव र सम्मानको वातावरण बनिरहन्छ । ‘पार्टीमा रहेर अहिलेको व्यवस्था ल्याउन हामीले दशकौं सघर्ष गर्यौं तर अहिले पार्टी भित्र धन हुनेको बल बढेको देख्दा यसले पार्टीलाई कमजोर बनाउने हो कि भन्ने चिन्ता लाग्छ’ पौडेलेले भने ।
पैसालाई त जित्न सक्दिन तर विचार र परिपक्कताको कुरा गर्ने हो भने प्रदेशमा आफ्नो विकल्प नरहेको पौडेलले दावि गरे । ‘उमेर, योग्यता, सिनियर र पार्टीलाई मैले भन्दा बढी योगदान गरेको अर्को उम्मेद्वार उभिएमा अलग कुरा हो तर मलाई लाग्छ त्यतिको मान्छे गण्डकी प्रदेशमा छैनन्’ उनले भने । १५ वर्षसम्म पार्टी सभापति भएर कांग्रेसको जिल्ला नेतृत्व सम्हालेको अनुभव र त्यसपछि सर्वदलीय संयन्त्र मार्फत जनताको नजिक रहेर विकास निर्माणका काममा सक्रिय रहेको अनुभवले यो पदका लागि आफु योग्य भएको उनको दावि छ ।
तनहुँको पार्टी सभापति भएको समयमा पनि आफुले दुइ पटकसम्म चुनाव जितेर नै आएको प्रसंङ्ग जोडदै पौडेलले ‘यस पटक पनि जित्नेमा विश्वस्त रहेको बताए । सभापतिमा उम्मेद्वारी दिने योजना बनाएपछि आफुले केन्द्र, प्रदेश र जिल्ला स्तरका नेता र कार्यकर्तासँग भेटघाटलाई प्रथामिकता दिएको पौडेलले बताए । ‘म अहिलेसम्म ९ वटा जिल्ला पुगी सकेको छु ,सबै ठाँउका साथीहरुबाट सकारात्मक प्रतिक्रिया पाउदा जित्नेमा विश्वस्त पनि छु’ उनले भने ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला लगायतका नेताहरुको पनि साथ समर्थन रहेको र कार्यकर्ताहरुले आफ्नो क्षमता बुझेकाले जित्न सहज हुने उनको विश्वास थियो ।
पौडेलले महाधिवेशनबाट गठन हुने समितिलाई विधानसम्मत रुपमा परिचलान गर्ने, तदर्थवादमा चलेको कांग्रेस पार्टीको संगठनलाई विधानसम्मत ढंगले चलाउन गठन गर्नुपर्ने, पार्टीका विविध विभागहरु गठन गर्ने, पार्टीको इतिहास, नीति तथा सिद्धान्तलाई प्रचारप्रसार गर्न सक्ने गरी भातृ संगठनका पदाधिकारीहरु तथा कार्यकर्तालाई तयार गर्ने, आफ्ना कार्यकर्तालाई विपक्षी दलका कर्ताकर्तासँग सैद्धान्तिक बहस गर्न सक्ने बनाउने, आफ्नो पार्टीको सरकार हुदाँ गरिएका राम्रा कामहरुको तथ्यांक तयार पारी सार्वजनिक गर्ने, विपक्षी दलका नेता, कार्यकर्ताबाट गरिएको हावादारी कुराहरु र भ्रष्टाचारलाई भण्डाफोर गर्न सक्ने सचेत कार्यकर्ता बनाउने लगायतका चुनावी प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् ।
को हुन रघुनाथ ?
तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा जन्मेका पौडेल बाल्यकाल देखि नै काँग्रेसमा झुकाव राख्दथे । बीपी कोईरालाको प्रेरणा, नेपाली काँग्रेसका सस्थापक नेता स्व.गोर्बधन शर्माको माया एवं गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शुसिल कोइरालाको नजिकको सङ्गतबाट राजनीतिमा होमिएका पौडेल नेपाली कांग्रेस तनहुँको तीन कार्यकाल सभापति रहे ।
विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका पौडेलले २०२४ सालमा इन्टर कलेज लमजुङको स्ववियू सदस्यको रुपमा निर्वाचित भई राजनीति यात्रा सुरु गरेका थिए । नेपाली कांग्रेसद्वारा सञ्चालित २०३६ सालको आन्दोलन तथा जनमत संग्रह , २०४२ सालको सत्याग्रह, २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा पटक पटक गरी पौडेलले प्रहरी हिरासत र १ वर्ष कारावासमा समय बिताउन परेको थियो ।
पौडेलले २०५३ देखि २०६७ साल सम्म निरन्तर रुपमा तीन कार्यकाल जिल्ला सभापतिको रुपमा काम गरेका थिए । पौडेलले २०४३ देखि २०४८ सम्म जिल्ला कार्यसमितिको सहसचिव पदमा रहेर सेवा गरेका थिए भने २०४८ साल देखि २०५३ सम्म उपसभापति भई काम गरेका थिए ।
२०५३ सालमा जिल्ला सभापति पदमा निर्वाचित भएपछि नेपाली कांग्रेसका तत्कालिन सभापति गिरीजा प्रसाद कोइरालाको आव्हानमा नेपाली कांग्रेसको अफिस प्रयोजनको लागि पौडेलकै पालामा व्यास नगरपालिकाको वडा नं ३ मा भवन खरिद गरिएको थियो ।
उनकै कार्यकालमा तनहुँ जिल्लाको दमौली बजारमा लौहपुरुष गणेशमान सिंह, दुलेगौडा बजारमा महामानव वि.पी कोइरालाको शालिक निर्माण गरिएको थियो भने जिल्लाको साविक क्षेत्र नम्बर १ मा क्षेत्रीय कार्यसमितिका लागि डुम्रे बजारमा भवन निर्माण गरिएको थियो ।























