घान्द्रुकदेखि अन्नपूर्ण आधारशिविरसम्मका होटलमा कालिजको स्वाद चाख्न पाइने

पोखरा भ्यूज
पोखरा। घान्द्रुक हुँदै अन्नपूर्ण आधारशिवरमा घुम्न आउने पर्यटकहरुले अब कालिजको स्वाद चाख्न पाउने भएका छन् । अन्नपूर्ण आधारशिविर पदयात्रा मार्ग अन्तर्गत किम्रोङखोला र छाम्रोङ गरी दुई स्थानमा सञ्चालित व्यवसायिक कालिज फार्ममा कालिज हुर्किएसँगै यहाँका पर्यटन व्यसायीहरु पर्यटकलाई कालिजको स्वादले स्वागत गर्न सक्षम भएका छन् ।
कालिजको मासुका पारखीलाई लक्षित गर्दै गत वर्षको लकडाउनमा घान्द्रुकमा दुई वटा व्यावसायिक कालिज फार्म सञ्चालनमा आएका थिए । ‘घान्द्रुक हुँदै अन्नपूर्ण आधारशिविर जाने पर्यटकले अब बोइलरको मासुमा चित्त बुझाउनुपर्ने वाध्यता हटेको छ,’ घान्द्रुक एग्रो फार्मका सञ्चालक ललित गुरुङले भने, ‘अब हामी पर्यटकको माग बमोजिम नै कालिजको मासु खुवाउन सक्षम भएका छौं ।’ उनले स्थानीय किम्रोङखोलामा सञ्चालन गरेको फार्ममा करिब १२ सय कालिज हुर्किएका छन् । त्यस्तै करिब ५० वटा बाख्रा छन् ।

वैशाख महिनामा करिब दुई हजार कालिजका चल्ला फार्ममा राखिएको थियो । यद्यपि वर्षाद्को समयमा फार्ममा बाढी पसेर करिब आठसय चल्ला मरेको गुरुङले बताए । उनका अनुसार गत वैशाखमा फ़्रान्सबाट ४ हजार अण्डा ल्याएर काठमाडौंमा ह्याचिङ गर्दा २१ दिनमा करिब २ हजार चल्ला निस्किएका थिए । तिनै १ दिने चल्लालाई फार्ममा ल्याएर ब्रुडिङ गरिएको थियो । ब्रुडिङ गरिएको करिब ९ महिनामा कालिज मासुका लागि योग्य भएको उनको भनाई छ ।
अहिले फार्मबाट दैनिक ५ देखि १० वटा कालिज बिक्री हुँदै आएको सञ्चालक गुरुङले बताए । मासुका लागि भने भाले कालिजको मात्र बिक्री गरिएको छ ।

गाउँमै कालिजको व्यवसायिक उत्पादन हुन थालेपछि घान्द्रुकमा सञ्चालित होटलका मेनुमा कालिजको परिकार समावेश हुन थालेको छ । ‘हाम्रो मेनुमा कालिज राखी सकेका छौ,’ होटल रक एण्ड मडका सञ्चालक लक्षिन गुरुङले भने, ‘घान्द्रुक घुम्न आउने पर्यटकलाई नयाँ स्वादका रुपमा कालिज चखाछौं ।’
अहिले फर्ममा हुर्किएका कालिजको प्रजनन् प्रक्रिया शुरु भइसकेको छ । अब फागुनको दोस्रो सातादेखि अण्डा उत्पादन शुरु हुन्छ । अण्डाबाट चल्ला उत्पादन गर्ने फार्मको लक्ष्य छ । यद्यपि ह्याचिङ गर्न भने पोखरा ल्याउनुपर्ने वाध्यता छ । फार्मसम्म नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन विस्तार हुन बाँकी छ । थ्रीफेज लाइन विना ह्याचिङ मेशिनका लागि पावर पुग्दैन । यहाँका जनताले स्थानीयस्तरमा उत्पादित लघुजलविद्युतको उपयोग गर्दै आएका छन् ।
उता छोम्रोङ अर्गानिक फार्मले पनि कालिजको बिक्री शुरु गरेको छ । फर्ममा करिब ७५० कालिज हुर्किएका छन् । सञ्चालक दिलिप गुरुङका अनुसार अहिले सम्म १ सय ५० कालिज प्रतिगोटा ३ हजारका दरले बिक्री भएको छ । उनी छोम्रोङ होटल व्यवस्थापन समितिका सचिव समेत हुन् ।
उनले अन्नपूर्ण आधारशिविरसम्म नै कालिजको मासु उपलब्ध गराउने तयारीमा रहेको बताए । ‘हाम्रो उत्पादनको पहिलो प्राथमिकता घान्द्रुकदेखि अन्नपूर्ण आधारशिविरसम्मा हुन्छ,’ उनले भने, ‘अब यहाँका सबै होटलका मेनुमा कालिज समावेश हुन्छ ।’
पुजेनियमदेखि अन्नपूर्ण आधारशिविरसम्म भैंसी र पोर्कको मासु बर्जित छ । यद्यपि खसी बोका र कालिजका लागि खुल्ला छ । भैंसी र पोर्कको मासु लगे अनिष्ट हुन्छ भन्ने त्यहाँको पुरानो चलन अद्यापि कायमै छ ।
घान्द्रुकदेखि अन्नपूर्ण आधारशिवर र टाँडापानीदेखि हिडेनलेकसम्म करिब दुई सय होटल तथा लजहरु सञ्चालनमा छन् । तिनीहरुको व्यवस्थापन गर्न घान्द्रुक होटल व्यवस्थापन समिति, छाम्रो होटल व्यवस्थापन समिति र टाँडापानी होटल व्यवस्थापन समिति गरी ३ वटा होटल समिति छन् ।
नेपालीका लागि कालिज नयाँ होइन यद्यपि कालिजको मासु धेरै मन पराउने भएकाले राम्रो बजार देखेर व्यवसायिक रुपमा मार्फ नै सञ्चालनमा ल्याइएको व्यवासीहरु बताउँछन् ।
वनजंगलमा मात्र पाइने कालिजको मासु कानूनअनुसार सहजै खान पाइने कि नपाइने भन्ने विषयमा धेरैको जिज्ञासा हुन सक्छ । तर सरकारले व्यवसायिक रुपमा वन्यजन्तु पालन गर्न पाइने व्यवस्था लागू गरेसँग नेपालमा यस्ता व्यवसाय फस्टाउँदै गएको सन्दर्भमा कालिजको मासु खान चाहनेहरूको सपनालाई घान्द्रुकका होटल व्यवसायीले सहजै पूरा गर्ने दावी गरेका छन् ।
कालिजको मासुमा चिल्लोपन कम हुने हुँदा स्वास्थ्यका लागि उपयुक्र मानिन्छ । यसको मासुमा कोलेस्ट्रोलको मात्रा कम हुने विज्ञहरुको भनाई छ । यसको मासु खाँदा चिसोबाट बच्न, सुत्केरी, युरिक एसिड भएका बिरामीका लागि पनि राम्रो मानिन्छ ।























