5Shares

तनहुँ, ११ पुस
तनहुँको बन्दीपुर गाँउपालिका –४स्थित बिमलनगरले केही समय यता साहसिक पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा पहिचान स्थापित गरेको छ । बिमलनगर चुन पहराको प्रचारप्रसार बढेसँगै साहसिक पर्यटकहरुको रोजाइमा चट्टान आरोहण (रक क्यामिङ)(रक क्लाईम्विङ) पर्न थालेको छ । आन्तिरक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको बिमलनगरमा व्यापक पर्यटकीय चहलपहल बढेको बिमलनगर सिद्ध गुफा बिकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिए ।

एसियाकै ठुलो गुफाको रुपमा दावि गरिएको बिमल नगर शिद्ध गुफा अवलोकनका लागि आउने पर्यटकहरु चट्टान आरोहणतिर पनि आकर्षित हुदै आएको श्रेष्ठले बताए । हिमाल आरोहण गर्नेका लागी प्रारम्भिक तालिम, रक लेभल १को तालिमको लागि प्रसिद्ध मानिदै आएको चुन पहरामा अहिले अन्य रक स्पोर्टसहरुको तालिम तथा प्रतियोगिताको लागी समेत प्रयोगमा आउन थालेको छ । पहरामा ३० देखी ७० मिटर सम्मका २७ वटा रुट स्थापना गरिएको छ ।

चुन पहराको चट्टान आरोहण नेपालको सबैभन्दा गाह्रो तर सुविधायुक्त प्राकृतिक चट्टान आरोहण स्थलको रुपमा मानिन्छ । पृथ्वी राजमार्गको छेउमै भएकाले बन्दीपुर, पोखरा, काठमाडौँ, मुक्तिनाथ लगायत पर्यटकीय स्थल पुग्ने बाटोमा नै पर्ने हुदाँ विमलनगर पर्यटकहरुको रोजाइमा परेको पर्यटन व्यवसायीहरु बताउछन् ।

गुफा अवलोकन तथा चट्टान आरोहणको लागी आउने पर्यटकका लागी स्थानीय ११ घरमा सामुदायिक होमस्टे सञ्चालन समेत गरिएको छ । गुफा भित्र टेबल टेनिस खेल्ने, विभिन्न चलचित्र तथा म्युजिक भिडियोको सुटिङ, हाइकिङ, प्याराग्लाइडिङ र मस्र्याङदी नदीमा ¥याफटिङको लागि समेत बन्दीपुर आउने पर्यटकहरु आकर्षित हुने गरेको बन्दीपुर गाँउपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए । हामी बन्दीपुर र वरपरका पर्यटकीय क्षेत्रको बिकासको लागि २० वर्षीय गुरुयोजना बनाएर नयाँ आकर्षण थप्ने योजनामा छौँ उनले भने । पर्यटन नै बन्दीपुरको समृद्धिको आधार भएकाले यहाँका पर्यटकीय क्षेत्रहरुको संरक्षण र प्रवद्र्धनमा गाँउपालिका लागि परेको थापाले बताए ।
पहिलो अन्तराष्ट्रिय गाईड गोर्खाका इमान गुरुङको पर्वत आरोहण गर्ने क्रममा मृत्यु भएको सम्झनामा पहिलो पटक २०६३ सालमा चुन पहरामा पहिलो रुट बनाइएको थियो । रक लेभल १ पास भएपछि प्रेम बहादुर गुरुङ्ग,पदम घले, सुवार गुरुङ्ग, श्री महर्जन लगायतको टोलिले पहिलो पटक रुट स्थापना गरेका हुन् ।
चुन पहरा संरक्षण र प्रवद्र्धन गर्न महोत्सव


बिमलनगर स्थित चुनपहराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले ३ दिने प्रथम रक क्लाइम्बिङ महोत्सव सम्पन्न भएको छ । पुस ९ गतेबाट सुरु भएको प्रथम रक क्लाइम्बिङ महोत्सव आइतबार सम्पन्न भएको हो । बिमलनगर र यस आसपासको क्षेत्रलाई विश्वमै चिनाउन र साहसिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको हो । ‘चुन पहरा बिमलनगर संरक्षण गरौं’ भन्ने नाराका साथ गण्डकी अल्पाइन क्लबले नेपाल पर्यटन बोेर्ड र बन्दीपुर गाँउपालिकासँग समन्वय गरी महोत्सव आयोजना गरेको हो । आइतबार समापन समारोहलाई युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका मन्त्री राजिब गुरुङले शुभारम्भ गरेका थिए । साथै गुरुङले रक क्लाइम्बिङ महोत्सव अन्तर्गत भएको क्लाइम्बिङ प्रतियोगितामा विजेता बनेकाहरुलाई पुरस्कार वितरण समेत गरेका थिए । साथै मन्त्री गुरुङले युवा खेलाडीहरुलाई प्रोत्साहन गर्न आफुले पनि रक क्लाइम्बिङ समेत गरेका थिए ।
नेपालमै पहिलो पटक भएको यो महोत्सवमा साहसिक खेलमा रुची राख्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचान बनाएका खेलाडीहरुले रक क्लाइम्बिङ गरेका छन । एशियाली विकास बैंक एडिबीद्वारा पृथ्वी राजमार्गको मुग्लिन कोत्रे सडक खण्डमा ४ लेनको सडक बनाउने क्रममा चुनपहरालाई समेत भत्काउने प्रयास गरिएपछि त्यसलाई रोक्न र पर्यटन प्रबद्र्धन गर्नका लागि महोत्सवको आयोजना गरिएको गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए । चुन पहराको नेपालमै अलग पहिचान भएकाले यसको संरक्षण गरी साहसिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । सडक विस्तारका क्रममा चुन पहराको अस्तित्वमा आचँ आउने काम गर्न नदिन दवाव सिर्जना गर्न पनि कार्यक्रम गरिएको शाहीले बताए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुध्दबहादुर गुरुङले क्लाइम्बिङ महोत्सवले गण्डकी प्रदेशमै नयाँ पर्यटकीय गन्तव्य थप्न सफल भएको बताए । प्राकृतिक स्रोत साधनको संरक्षण गर्दै अधिकतम सदुपयोग गर्न सके आर्थिक समृद्धिमा यसले ठुलो भूमिका खेल्न सक्ने गुरुङले बताए । त्यस्तै बन्दीपुर गाँउपालिकाका प्रमुख पूर्णसिं थापाले बन्दीपुरको समृद्धि पर्यटनसँग जोडिएको बताए । नेपालको प्राकृतिक स्रोत साधनको सही ढंगले व्यवस्थापन गर्न नसक्दा पछाडी पारिएको चर्चा गर्दै थापाले प्रकृतिलाई पर्यटनसँग जोडनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संखुवासभाको सगरमाथा आरोही संघका अध्यक्ष छिरिङ पाण्डे भोटे, गण्डकी अल्पाइन क्लबका उपाध्यक्ष सुमन गुरुङ, सचिव गोविन्द गुरुङ, पिम्बा तेन्जिङ लामा लगायतले चुन पहराको संरक्षण हुनुपर्नेमा जोड दिएका थिए ।
महोत्सवको पहिलो दिन रक क्लाइम्बिङको पूर्व तयारीका कार्यहरु भएको , त्यस्तै दोस्रो दिन पहिलो चरणमा सेल्फ क्लाइम्बिङ र प्रतियोगिताका सहभागीहरुलाई क्लाइम्बिङको रुट लगायतका प्रविधिक विषयको जानकारी गराउने र तेस्रो दिन महिला र पुरुषहरुको अलग अलग रुपमा प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

पञ्चमाया र दिपनले जिते प्रतियोगिताको उपाधि


बिमलनगर स्थित चुनपहरामा सञ्चालित ३ दिने प्रथम रक क्लाइम्बिङ महोत्सव अन्तर्गत भएको रक क्लाइम्बिङ प्रतियोगितमा २ जना विदेशी सहित ३८ जना खेलाडीले भाग लिएका छन । जापन र होलेण्डका सहित नेपालका राष्ट्रिय तथा अन्तराष्«िट्रय रुपमा ख्याति प्राप्त २३ जना पुरुष र १५ जना महिला खेलाडिले प्रतियोगितामा भाग लिएका थिए । जसमा पुरुषतर्फ दिपन गुरुङ प्रथम भए भने शुलभ राई द्धितीय र तेन्जिङ राईले तृतीय स्थान हासिल गर्न सफल भए । उत्कृष्ट ५ जनाको बीचमा आज बिहान सञ्चालन भएको फाइनलमा उनीहरुले उपाधि जित्न सफल भएका हुन ।

त्यस्तै महिलातर्फबाट पञ्चमाया तामाङ प्रथम, रुसा प्रधान द्धितीय र जापनिज नागरिक सबा सचिताले तृतीया स्थान हासिल गर्न सफल भए । प्रतियोगितामा प्रथम हुनेलाई पुरुष र महिला दुबैलाई रु.५० हजार ५ सय नगद मेडल, प्रमाणपत्र साथै एक वर्षसम्म निशुल्क चट्टान आरोहण तालिमको अवसर प्रदान गरिएको छ । त्यस्तै द्धितीय हुनेलाई नगद रु.२० हजार मेडल प्रमाणपत्र र ६ महिना तालिम र तृतीय हुनेलाई नगद १० हजार , मेडल, प्रमाणपत्र र ३ महिना सम्म निशुल्क चट्टान आरोहण तालिम गर्न पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका सहभागीहरुले क्लाइम्बिङको निर्धारित दुरी पार गरेको सयमका आधारमा विजेता घोषणा गरिएको जुरी टिमका सुमन गुरुङले जानकारी दिए ।
प्रतियोगितामा पुरुष तर्फबाट विजेता बनेका दिपनले चुन पहरा रक क्लाइम्बिङ रुट सुरक्षित तथा रोचक लागेको बताए । प्राय हामीले इनडोर क्लाइम्बिङ मात्र गरेका थियौं यहाँ फरक र रोचक अनुभव गर्न पाइयो उनले भने । पूर्ण प्राकृतिक भएकाले पनि यसको मज्जा र महत्व अलग भएको महिला तर्फबाट विजेता बनेकी पञ्चमाया बताउछिन् । आफुले धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय साहसिक खेलमा भाग लिएको अनुभव सुनाउदै उनले भनिन् यो रुट फरक अनुभूति भयो त्यसको संरक्षण र प्रवद्र्धन हुन आवश्यक छ ।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected