206Shares

पोखरा भ्यूज
पोखरा ।पोखरा महानगरपालिका वडा नं। १६ स्थित मातृशिशु मितेरी अस्पतालमा नवगठित व्यवस्थापन समितिको पदस्थापन गरिएको छ । अस्पताल प्रशासनले आइतबार एक समारोहको आयोजना गरी धर्मराज थापाको अध्यक्षतामा गठित नयाँ व्यवस्थापन समितिलाई पदस्थापन गराएको हो ।

पदस्थापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले कुनै पनि राजनीतिक पूर्वाग्रह नराखी जनस्वाथ्यप्रति समर्पित हुन नयाँ व्यवस्थापन समितिलाई निर्देशन दिए । मन्त्री खड्काले मितेरी अस्पतालमा सुक्षित आमा प्रतिक्षालय सेवा समेत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

 

उनले प्रदेश मातहतमा १२ वटा अस्पताल रहेकोमा मातृशिशु मितेरी अस्पताल गण्डकी प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिए । ‘आमा र बच्चासँग सम्बन्धित यो एक मात्र अस्पताल हो । त्यसैले भौतिक पूर्वाधार र सेवा समेतका दृष्टिकोणबाट यो अस्पताल प्रदेश सरकारको उच्च प्राथमिकतामा छ,’ उनले भने ।

अहिले प्रदेश सरकारको मातहतमा रहेका १२ अस्पतालमा २२ डाक्टरको दरबन्दी रहेको भए पनि पदपूर्ति गर्न नसकिएको मन्त्री खड्को भनाई छ । उनका अनुसार दरबन्दी पदपूर्तिका लागि विज्ञापन खुलेकोमा १७/१८ जना डाक्टरको आवेदन परेको भए पनि ३ जना डाक्टर मात्र काम गर्न तयार भएका छन् । सेवा सुविधिका दृष्टिले डाक्टरहरु निजी अस्पतालतर्फ आर्कर्षित हुने गरेका छन् । ‘डाक्टरको सेवा सुविधा बढाएर सरकारी अस्पतालतर्फ आर्कषित गराउनेबारे प्रदेश सरकारमा छलफल भइरहेको छ,’ मन्त्री खड्काले भने ।

गण्डकी प्रदेश सरकारले दुर्गम भेगका गर्भवतीलाई हेलिकप्टरबाट उद्धार गरी सुरक्षित सुत्केरी गराउन हेलिकप्टर खरिद गर्ने, प्रदेशका जनतालाई निःशुल्क रगत उपलब्ध गराउने र मृगौलाका बिरामीलका लागि डयालेसिस मेशिसन खरिद गर्नका लागि आवश्यक प्रक्रिया शुरू गर्न छलफल भएको मन्त्री खड्काको भनाई छ ।

पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले नयाँ व्यवस्थापन समितिसँग काँधमा काँध मिलाएर अस्पतालबाट प्रवाह हुने सेवा सुविधा गुणस्तरीय बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निवर्तमान अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालको सभापतित्वमा भएको कार्यक्रममा नवनियुक्त अध्यक्ष धर्मराज थापा, पूर्वअध्यक्ष शालिग्राम भट्टराई, पूर्व मेसु स्त्रीरोग विशेषज्ञ डा. प्रेमराज पगेनी, अस्पतालका निमित्त मेसु डा. पुष्कर पौडेल, व्यवस्थापक ओम थापा लगायतले अस्पतालका समस्या र भावी योजनाकाबारेमा चर्चा गरेका थिए ।

गण्डकी प्रदेश सरकारले अस्पताल व्यवस्थापन समिति गठन आदेश,२०७८ (संशोधन सहित) को दफा ३ को उपदफा १ ९ङ० बमोजिम ३ वर्षका कार्यकाल रहने गरी युवा नेता धर्मराज थापालाई अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको थियो । समितिको कार्यकाल तीन वर्षको छ ।

समितिको सदस्यमा शिवराज देवकोटा, गुरुदत्त भट्टराई, गणेश अधिकारी, गुमा परियार र भिमा पौडेल सदस्यमा तोकिएका छन् । मातृशिशु ५० शैयाको अस्पताल हो । स्त्रीरोग तथा प्रस्सूति सेवा तथा बालरोग सम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरिएको अपस्तालमा हालसम्म दरबन्दी पदपूर्ति हुन सकेको छैन । अस्पतालले करार जनशक्ति राखेर विशेषज्ञ सेवा दिंदै आएको छ ।

206Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected