
पोखरा भ्यूज । पोखरा उद्योग वाणिज्य संघले ६८ औं वार्षिकोत्सवको सन्दर्भमा जोखिममा रहेका बालबालिकाका अभिभावकको लागि माक्स,माक्स होल्डर तथा झोला बनाउने तालिम दिएको छ । ३ दिने सो तालिमलाई किडासा नामक गैरसरकारी संस्थाले सघाएको थियो । संघले बालश्रम न्यूनीकरणको लागि लामो समयदेखि काम गर्दै आएकोमा पछिल्लो समय जोखिममा परेका अभिभावकको आयआर्जनमा ध्यान दिएको संघका अध्यक्ष नारायण कोइरालाले बताए ।
सोमबार तालिम समापन कार्यक्रममा बोल्दै उनले दैनिक १५ सयको संख्यामा विदेशिने युवा जनशक्तिलाई देशैमै रोजगारीको वातावरण सिर्जना गर्नु निजी क्षेत्रको उदेश्य भएको बताए ।
संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले बालश्रम न्यूनीकरणको लागि परिवारको आयआर्जन बढाउनुपर्ने आवश्यकता मनन गर्दै तालिम आयोजना गरिएको बताए । संघका महासचिव सुरेन्द्रमान विजुक्छेको संचालन रहेको समापन कार्यक्रममा पूर्वअध्यक्ष सुरेशराज राजभण्डारी, अध्यक्ष कोइराला, उपाध्यक्ष कार्कीले तालिममा सहभागीहरुलाई माक्स र झोला बनाउने कच्चा पदार्थसहित प्रमाणपत्र वितरण गरेका थिए । संघले सहभागीमध्ये दुर्गा नेपालीलाई एक थान सिलाइ मेसिन पनि सहयोग ग¥यो । सिलाइ मेसिन पाएपछि दुर्गाले विदेश जाने सोच त्यागेको घोषणा गरिन् ।

‘म ब्यूटीपार्लर सिकेर विदेश जाने सोचमा थिएँ, यहाँ तालिम र मेसिन पाएँ’,उनले भनिन्,‘अब म अर्काको देशमा जान्नँ, यहीँ काम गर्छु,बिस्तारै व्यवसाय बढाउँदै लैजान्छु ।’ सिलाइमा फिनिसिङको महत्व हुने बुझेकी उनले सीप निखार्ने प्रण गर्दै थपिन्,‘अरुको काम गरेर सधैं चल्दैन,सुरुमा छिमेकको काम सस्तोमै गरुँला,पछि कमाइ पनि होला ।’
अर्की सहभागी गीता बिकले सिलाइबाट नै जीवन धानेको बताउँदै माक्स र झोला बनाउने तालिमले थप आय आर्जन हुने विश्वास व्यक्त गरिन् । उनले बजार व्यस्थापन र बिक्री कलाको ज्ञान नहुँदा समस्या परेका पनि सुनाइन् । संघका महासचिव सुरेन्द्रमान विजुक्छेले बजारीकरणको लागि संघले सघाउने प्रतिवद्दता व्यक्त गरे ।

















