अर्मलालाई पोखराको कर्णाली हुन दिन्नः मन्त्री खड्का
- February 12, 2022
- 1008

पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ स्थित चण्डी आमा समूहको अधुरो भवनले पूर्णता पाएको छ । गण्डकी प्रदेश सरकारबाट विनियोजित चार लाख रुपियाँको योजनाबाट उक्त भवनले पूर्णता पाएको हो ।
‘भवन अधुरो रहँदा सभा समारोह गर्दा समस्या थियो, । तर अहिले भवनले पूर्णता पाएपछि असुविधा हटेको छ,’ चण्डी आमा समूहका अध्यक्ष नरशोभा गुरुङले भनिन् । उनले भवनको जग बसाल्नेदेखि पूर्ण बनाउन गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काको मुख्य योगदान रहेको जानकारी दिइन् ।
शनिबार आमा समूहको भवन निरीक्षण गर्न अर्मला पुगेका मन्त्री खड्कालाई मायाको चिनो थमाउँदै आमा समूहकी अध्यक्ष गुरुङले भनिन्–‘तत्कालीन समयमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री हुँदा मन्त्रीज्यूको पहलमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्राप्त २० लाख रुपियाँबाट निर्मित भवन अधुरो थियो । अहिले बाँकी रहेको काम पनि मन्त्रीज्यूकै पहलमा सम्पन्न भएको छ । यहाँलाई धेरैधेरै धन्यवाद् !’

आमा समूहको भवनमा भेला भएका स्थानीयलाई सम्बोधन गर्दै मन्त्री खड्काले पोखराका उत्तरी भेग विकासका दृष्टिले पिछडिएको अवस्थाप्रति प्रदेश सरकार चिन्चित रहेको बताए । उनले अर्मला समेतका धुलाम्मे बाटोलाई कालोपत्रे गर्न आवश्यक रहेकोले त्यसका लागि गृहकार्य भइरहेको जानकारी दिए । ‘मध्यपहाडी लोकमार्ग अर्मला हुँदै आउने भएको छ । अब अर्मलालाई पोखराको कर्णाली हुन दिन्न,’ मन्त्री खड्काले भने ।
अर्मलाकोट, साब्जे, साइनडाँडा हुँदै घलेखर्क जोड्ने बाटोका लागि प्रदेश सरकारबाट डीपीआर गर्ने कार्य सम्पन्न भएकोले आवश्यक बजेट विनियोजनको तयारी भइरहेको मन्त्री खड्काको भनाई छ ।
कार्यक्रममा नेपाली काँग्रेस वडा ईकाईका पूर्वसभापति मुक्तिराम भट्टराई, चण्डी आमा समूहकी सचिव वर्षा गुरुङ, तुफान गुरुङ लगायतले बोलेका थिए ।








सम्बन्धित खवर
















