
पोखरा भ्यूज । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको २९ औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ ।
साधारणसभाको ब्राम्हण समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.नारायणप्रसाद अधिकारीले गरेका छन । कार्यक्रममा उनले यस स्थललाई पूर्वीय दर्शनको अध्ययन अध्यापन गराउने स्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । शान्ति आश्रमसँगै यहाँस्थित राधाकृष्ण मन्दिर र गुरुकुललाई एकसाथ अघि बढाउनुपर्ने बताउँदै उनले यसका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताए ।
पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले मन्दिर, आश्रम र गुरुकुललाई एक आपसमा समन्वय गर्दै अघि बढाउनुपर्ने बताए । गुरुकुलमा विद्यार्थी सङ्ख्या कम हुँदा रकम तथा सहयोग माग्न पनि समस्या हुने गरेको उल्लेख गर्दै उनले समय समपेक्ष रुपमा शैक्षिक गुणस्तरीयता अभिबृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले गुरुकुल, मन्दिर र आश्रम एकअर्काका परिपुरक भएको बताउँदै यी तीनवटै संस्थाको विकास गर्नुपर्ने बताए ।
उक्त अवसरमा राधाकृष्ण मन्दिरमा विशिष्ट योगदान गरेको भन्दै मन्दिर व्यवस्थापन समितिका पूर्व सदस्य दिव्यरमण अर्याल, पूर्व सह अध्यक्ष कृष्णप्रसाद अधिकारी र पोखरा–२५ स्थायी बसोवास भई हाल राधाकृष्ण मन्दिरमा बसोवास गर्दै आएकी धर्मदाशी अधिकारीलाई सम्मान गरिएको थियो ।
राधाकृष्ण मन्दिर शान्ति आश्रम सञ्चालन समितिका सह अध्यक्ष गणेशबहादुर केसीको अध्यक्षता एवम् सचिव घनश्याम खनालले सञ्चालन गरेको कार्यक्रममा समितिका उपाध्यक्ष विमलाकुमारी थापाले स्वागत गरेकी थिईन । कार्यक्रममा नेपाल भारत मैत्री संघका सल्लाहकार हरिराम पौडेल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, राधाकृष्ण संस्कृत गुरुकुल विद्यालयका अध्यक्ष हरिभक्त सिग्देल, उज्वल आमा समूहका अध्यक्ष पवित्रा अधिकारी, समितिका कोषाध्यक्ष पूर्णराज बोहोरा, दिव्यरमण अर्याल, रामचन्द्र थापा, धर्मराज भण्डारी लगायतले आ-आफ़नो भनाई राखेका थिए ।







सम्बन्धित खवर
















