स्थानीय तह स्थापना दिवसको अवसरमा आरन संचालकदेखि डाक्टरसम्मलाई सम्मान

पोखरा भ्यूज
मादी । कास्कीको मादी गाउँपालिकाले स्थानीय तह स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । नेपालको संविधानले परिकल्पना गरेको संघीय शासन प्रणाली बमोजिम २०७३ फागुन २७ गतेका दिनमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी स्थानीय तहको घोषणा गरेको दिनको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
२०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पालिकाको आर्थिक, सामाजिक,भौतिक, मानवीय विकास, सुशासन लगायतका समग्र विकासहरुमा जस्तै कला, संस्कृति, पर्यटन, कृषि,शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणका क्षेत्रमा पाँच वर्षमा गरेका कार्यहरूको विवरण सहितको मादी गाँउपालिकाको पहिलो कार्यकाल नामक पुस्तकको विमोचन प्रतिनिसभा कास्की क्षेत्र नं १ का सांसद खगराज अधिकारीले गरेका छन ।सांसद अधिकारीले मादी गाउँपालिकाको स्थानीय पाठ्यक्रममा आधारित कक्षा ६ र ७ को मेरो मादी नामक पाठ्यपुस्तक पनि विमोचन गरेका छन । सो अवसरमा मादी गाउँपालिकाको स्थानीय गीत मेरो मादीको गीति भिडियोको समेत शुभारम्भ गरिएको थियो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अधिकारीले मादी गाउँपालिकाको विकासका लागि गुरुङको सभ्यताको ऐतिहासिक थलो क्होलासोंथार लाई सम्पदा सूचीमा सूचीकृत गरी विकास गर्नको लागि आफूले पहल गरेको बताउदै पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक विकासमा मादी गाउँपालिकाले गरेका विकासका कार्यको चर्चा गरेका थिए । मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ नेतृत्वमा रहेको जनप्रतिनिधिहरूको अहम् भूमिका भएको र सक्षम योग्य जनप्रतिनिधिहरुको नेतृत्व हुन सकेमा धेरै छिटो विकास हुने कुराको उदाहरण पाँच वर्षअगाडिको मादी र अहिलेको मादी विकासको अवस्थालाई हेरे पुग्ने कुरा उनले बताए । मादी गाउँपालिकाको वृहत्तर हितमा सधैं लागि रहने समेत बताए ।

गण्डकी प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले पालिकाको विकासको लागि भएका कार्यहरुमा मादी गाउँपालिका वर्तमान जनप्रतिनिधिहरुले गरेका कार्यहरूको प्रशंसा गरे । त्यसैगरी गण्डकी प्रदेश सभाका सदस्य गायत्री गुरुङले मादी गाउँपालिकाको पाँचवर्षे विकास देखि आफूखुसी भएको कुरा बताईन । कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले मादी गाउँपालिका भौतिक पूर्वाधारहरु विकासकालागि पालिकाका जनप्रतिनिधिहरुले उल्लेख्य भुमिका रहेको र अब आउने जनप्रतिनिधिहरुको लाई काम कार्य गर्न सहज हुने कुरा बताए ।
पालिका स्थापना दिवसको अवसरमा मादी गाउँपालिकामा जन्म भई देश तथा विदेशका साथै विभिन्न क्षेत्र तथा विधामा ख्याति प्राप्त गर्नुभएका राजनीतिक व्यक्तित्व, कृषक, कलाकार, संगितकार, उद्योगी व्यवसायीहरु, उच्च पदस्थ कर्मचारी, विशिष्ट व्यक्तित्व, खेलाडी, चिकित्सक, शिक्षाविद्, वातावरणविद्, सामाजिक अभियान्तालाई गाउँपालिकाले सम्मानित गरेको थियो ।
सम्मानित व्यक्तित्वहरुबाटहरुबाट आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका नेता कृष्ण केसीले मादीको विकासमा गरेका कार्यको प्रशंसा गर्दै जनप्रतिनिधिले गरेको कार्यबाट आफू खुशी भएको र विकास गर्दा राजनीति पार्टीले नभई हामीले पठाएका जनप्रतिनिधिले गरेको कुरा बताए । अर्का सम्मानित व्यक्तित्व नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डाक्टर जगमान गुरुङले राजनीतिले पक्ष र विपक्षका कुरा गर्छन् सहिलाई सहि र व्यक्तिलाई गलतलाई गलत भन्न सक्नु पर्ने कुरा बताउँदै जनप्रतिनिधि हुन पद प्रतिष्ठा प्राप्त गर्न श्री प्राप्त गर्नु पर्ने र श्री प्राप्त गर्नको लागि शक्ति आई रहने, शक्तिका लागि भक्तिआवश्यक अर्थात् जसले जनताको सेवा गर्छ जनताको भक्ति गर्छ उसैलाई शक्ति प्राप्त हुने कुरा बताउँदै मादीगाउँपालिकाले गरेका विकासको सुरुवातबाटै आफू खुशी भएको बताए ।
त्यस्तै नेपाल सरकारका सह सचिव एवम् सडक विभागका महानिर्देशक शिवहरी सापकोटाले आफू जन्मे हुर्केको ठाउँको असाध्यै माया र मादी गाउँपालिकाको विकासमा सधैं साथ र सहयोग रहने बताउदै आफूलाई सम्झेर सम्मान गरेकोमा मादी गाउँपालिकालाई धन्यवाद दिए ।
मादी गाउँपालिका निवासी राष्ट्रपति कार्यालयका महिला बालबालिका विज्ञ लक्ष्मी कार्की तथा लेखक एवम् विश्लेषक झलक सुवेदीले मादी गाउँपालिकाले आफुलाई सम्मानित गरेकोमा खुशी व्यक्त गर्दै पालिका विकासका लागि आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । मादी गाउँपालिकामा जन्मी हुर्की सांगितीक क्षेत्रमा विशिष्ट योगदान गर्ने वरिष्ट संगितकार/गीतकार तथा गायक वसन्त सापकोटालाई सम्मान गरिएको थियो । सो अवसरमा उनले मादीको कलाक्षेत्रको विकासको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटालाई कोभिड महामारी लगायतको विभिन्न प्रतिकूल परिस्थितिमा कुशलतापूर्वक कार्यसम्पादन गरी पालिकाको विकासमा योगदान गरेकोमा सम्मान गरिएको थियो ।
स्थापना दिवसको अवसरमा मादी गाउँपालिकामा जन्म भई पालिकामा सेवा गरिरहेका डाक्टर मदन सापकोटा देखि मह सिकारी शेरबहादुर गुरुङ परम्परागत आरन सञ्चालक सूर्य बहादुर विश्वकर्मा सम्मलाई मादी गाउँपालिकाले मादी जन्मभूमि सम्मान पत्र र मेडलले सम्मान गरिएको थियो ।मादी गाउँपालिकाका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कर्मचारी, शिक्षक, प्रधानाध्यापक, उपभोक्ता समिति,कृषक, विद्यार्थी, विद्यालय, स्वास्थ्यकर्मी, पन्चे बाजा समूह, भजन चुड्का समूह, वन उपभोक्ता समिति, युवा क्लब, आमा समूह, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, लामा, पच्युलाई उत्कृष्ट घोषित गरी सम्मानपत्र र मेडल बाट सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्नेहरुमा गायिका एलिना गुरुङ, खेलाडी टेकेन्द्र गुरुङ, भीर मौरी शिकारी शेरबहादुर गुरुङ, फोटोपत्रकार युनिस गुरुङ, कृषि तरकारीमा उत्कृष्टता हासिल गर्ने गीता सापकोटा, बाख्रा पालक कृषक नारायण बराल, पर्यटन व्यवसायी विकास गुरुङ, दूधपोखरी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर गुरुङ, प्रधानाध्यापक नविनकुमार शाही, जनकल्याण मावि छात्रा विद्यार्थी शुस्मी गुरुङ, हिमालय मावि छात्र सरोज सापकोटा, ध्रुव माविका शिक्षक बसन्त सापकोटा, सिताराम मावि शिक्षक विकास सुवेदी, राष्ट्रज्योति मावि शिक्षक यादव बराल र महारुद्र माविलाई सम्मान गरिएको थियो ।
यसैगरी महिला स्वास्थ्य स्वयम सेविका ननकुमारी गुरुङ, अनमी दल कुमारी क्षेत्री, सिअहेब झलकनाथ ढुंगाना, आरान सञ्चालक सूर्य बहादुर विश्वकर्मा, डकर्मी प्रेम भुजेल, मौरीपालक कृषक पितृराज लामिछाने, भैंसीपालक श्याम ढुङ्गाना, निर्माण व्यवसायी गजेन्द्र निर्माण सेवा, कृषि सहकारी संस्था मिजुरे मिलन सहकारी संस्था, उद्योग व्यवसाय तर्फ सिक्लेस बेकरी उद्योग, मिलन युवा क्लब, थुमाकोडाँडा साना किसान सहकारी, बयरघारी आमा समूह, प्रगतिशील कृषक समूह, ताङतिङ होमस्टे, भगवतीटार सामुदायिक वन उपभोक्ता समिति, सुन्दरडाँडा पन्चे बाजा समूह, श्री अन्नपूर्ण माध्यमिक विद्यालय, सेवा मिलन टोल विकास संस्था समेतलाई उत्कृष्ट घोषित गरी कदरपत्र, प्रशंसापत्र र मेडलबाट सम्मान गरिएको थियो ।
यसै गरी गाउँपालिकाको उत्कृष्ट कर्मचारीको रुपमा लक्ष्मी कोइरालालाई सम्मान गरिएको थियो । साथै जनस्वास्थ्य निरीक्षक गोपाल चन्द्र बराल, वडा सचिव बलराम सापकोटालाई उत्कृष्ट सेवा पुर्याउनु भएकोले उत्कृष्ट कर्मचारीको घोषित गरी सम्मान गरिएको थियो ।
मादी गाउँपालिका लाई सेवा क्षेत्र बनाई विभिन्न क्षेत्रमा कार्य गर्ने संस्थाहरु कोपिला नेपाल, राईट फर चिल्ड्रेन, पाहर ट्रष्ट नेपाल, गोर्खा वेलफेयर ट्रष्ट, नौलो घुम्ती, नेपाल रेडक्रस सोसाइटी, गुड नाइवर्स नेपाल, रोटरी क्लव अफ पोखरा, नेलम्वो नेपाल, लायन्स क्लव अफ पोखरा, ढिकुरपोखरी सम्पर्क समाज, सि.वि.आर.एस.नेपाल, सि.आर.एस. नेपाल, जियोनेट कनेक्सन प्रालि लगायत यसै पालिकामा रहेर हाइड्रो उत्पादन गर्ने सुपर मादी हाइड्रोपावर लि.सिक्लेस, हाईड्रोपावर, हिमालय हाईड्रोपावर, अपरमादी हाइड्रोपावर, इंदी हाइड्रोपावर, रूदी हाइड्रोपावर र मादमेखोला हाइड्रोपावर लगायतलाई पनि कदर पत्र बाट सम्मान गरिएको थियो
मादी गाँउपालिकाका अध्यक्ष बेदबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णु माया आचार्य पौडेलले स्वागत मन्तव्य राखेकी थिईन भने वडाध्यक्षहरु मध्ये पसबहादुर बास्तोला, तोरणबहादुर गुरुङ र यमबहादुर गुरुङले मादी गाउँपालिकाले गरेका कार्यहरुबारे आफ्नो भनाइ राखेका थिए ।
उक्त कार्यक्रममा संगीतकार बसन्त सापकोटा गीत प्रस्तुत गरेका थिए भने थुम्सीकोट भजन समूहबाट भजन चुट्का, मुनाल फिल्मसका कलाकारहरुबाट तथा गीतहरू प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले गरेका थिए । कार्यक्रममा मादी गाउँपालिकाका विभिन्न विद्यालय,आमा समूह लगाएत मादीबासीको उल्लेख्य सहभागिता रहेको थियो ।गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले पालिकाको विकासका लागि सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका थिए ।






















