
पोखरा भ्यूज
पोखरा ।नेपाली कांग्रेसको विधानले तहगत रुपमा तल्ला तहबाट सिफारिस भएपछि माथिल्ला समितिहरूले उम्मेदवारलाई टिकट दिने व्यवस्था गरेको छ ।विधानले यसरी प्रस्ट व्यवस्था गरे पनि नेता कार्यकर्तामा भने माथिल्लो तहको हस्तक्षेप हुने र टिकट वितरण अपारदर्शी हुने आशंका कायमै रहेको छ ।चुनावको मिति नजिकिँदा तल्ला तहका कार्यकर्ता र मतदातामाझ उम्मेदवारका आकांक्षीहरूसमेत खुल्न थालेका छन् । कार्यकर्ता र मतदाता आफ्नो पक्षमा पार्न आकांक्षी नेताहरूको दौडधुप छ । उम्मेदवार बन्न आकांक्षी नेताहरू कहिले मतदाता रिझाउन गाउँ पसेका छन्, त कहिले नेता रिझाउन सहर । यस्तोमा कस्ता मान्छे, कुन प्रक्रियाबाट उम्मेदवार बन्छन् भन्ने चासो छ ।कुन पदको उम्मेदवार चयन कसरी हुन्छ ?
वडाअध्यक्ष र सदस्य
गाउँ, नगर वडाको अध्यक्ष र सदस्य पदकालागि वडा कार्यसमितिले एक महिलासहित बढीमा तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ । त्यसरी सिफारिस गर्दा सहमति हुन सकेमा सहमतिबाट र सहमति हुन नसके बहुमतबाट निर्णय गाउँ/नगरपालिका कार्यसमितिमा पठाउनुपर्नेछ । वडाबाट प्राप्त नामलाई गाउँ/नगरपालिकाले आफ्नो राय राखेर प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई लेखी पठाउनुपर्नेछ । त्यसपछि प्रदेश क्षेत्रीय कार्यसमितिले आफ्नो राय राखेर प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा पठाउनेछन् । प्राप्त नामहरूमाथि प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले सर्वसम्मत नभए बहुमतबाट निर्णय गरेर प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा अनुमोदन गराई पार्टीका तर्फबाट उम्मेदवारी घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिला गर्नुपर्नेछ ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष
गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयनका लागि कार्यसमितिले योग्यता पुगेकामध्येबाट एक महिलासहित ३–३ जना उम्मेदवारको नाम प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई जानकारी गराएर जिल्ला कार्यसमितिलाई लेखी पठाउनेछन् । प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले आफ्नो क्षेत्रका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारको हकमा जिल्ला कार्यसमिति समक्ष लिखित राय राख्नेछन् । त्यसरी प्राप्त रायको आधारमा जिल्ला संसदीय समितिले सर्वसम्मत नभए बहुमतको प्रक्रियाबाट निर्णय गरी जिल्ला कार्यसमितिबाट अनुमोदन गराई उम्मेदवारी घोषणा र मनोनयन दर्ता गराउनुपर्नेछ ।
नगर/उपमहानगरपालिका प्रमुख र उपप्रमुख
नगर/उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्दा सम्बन्धित कार्यसमितिले सबैभन्दा पहिले एक महिलासहित बढीमा तीन जनाको नाम जिल्ला कार्यसमितिमा सिफारिस गर्नेछन् । ती नाममाथि प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले राय राख्नेछन् । ती रायसमेत समेटेर जिल्ला कार्यसमितिले आफ्नो राय राखेर प्रदेश कार्यसमितिसमक्ष सिफारिस गरी पठाउनुपर्नेछ । त्यसरी प्राप्त नाममा प्रदेश संसदीय समितिले सर्वसम्मत नभए बहुमतबाट निर्णय गरी प्रदेश कार्यसमितिबाट अनुमोदन गराई उम्मेदवारी घोषणा गराई मनोनयन दर्ताको व्यवस्था गर्नुपर्ने विधानले व्यवस्था गरेको छ ।
महानगरपालिका प्रमुख र उपप्रमुख
महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्दा भने निर्णयको अधिकार केन्द्रीय कार्यसमितिसँग हुने व्यवस्था छ । महानगर कार्यसमितिले सिफारिस गरेका एक महिलासहित तीन जनाको नाममाथि प्रदेश कार्यसमितिले आफ्नो राय राखेर केन्द्रमा पठाउनेछन् । त्यसरी प्राप्त नाममाथि सर्वसम्मत नभए बहुमतबाट केन्द्रीय संसदीय समितिले निर्णय लिनुपर्नेछ । त्यो निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराई पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गर्ने तथा मनोनयन गराउनुपर्ने व्यवस्था छ ।







सम्बन्धित खवर
















