118Shares

पोखरा भ्यूज
पोखरा । पर्यटकीय नगरी पोखरा गुफैगुफाहरुको शहर पनि हो । तर यस्ता गुफाहरु राज्यस्तरबाट संरक्षणका लागि खालै पहल भएको देखिदैंन । केही चर्चित गुफाहरु एकाध शिक्षणसंस्थाले हालिमुहाली गरी कब्जा जमाए पनि संरक्षणका लागि योगदान गरेको देखिंदैन । छोरेपाटनस्थित गुप्तेश्वर गुफा गुप्तेश्वर क्याम्पसको रजगज छ ।

त्यस्तै पोखरा १६, बाटुलेचौरमा रहेका महेन्द्रगुफा र चमेरीगुफाको आम्दानी विन्ध्यवासिनी माविमा जान्छ । बाटुलेचौरमा रहेको क्रिष्टल गुफा मानव अतिक्रमणको चपेटामा स्वाहा भयो । त्यस्तै कुरमा रहेको कुमारी गुफा र सिम्लेकुनामा रहेको क्रेजी गुफा, गौतमबुद्ध गुफाहरु संरक्षणको पर्खाइमा छन् ।यही सन्दर्भमा संरक्षण र प्रचारप्रसारको ओझेलमा परेको क्रेजी गुफाको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न गण्डकी प्रदेश सरकारले तत्परता देखाएको छ ।

प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक पर्यटकीय गन्तव्य कार्यक्रम अन्तर्गत क्रेजी केभको संरक्षण गरी पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम अघि बढेको हो । प्रदेश सरकारले नै ओझेलमा परेका गुफाहरुको संरक्षण र पर्यटकीय प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत क्रेजी केभ छनौटमा परेपछि गुफा संरक्षणकर्मी खुशी भएका छन् ।

‘गुफैगुफाको शहर बाटुलेचौरको प्रर्वद्धन गर्न प्रदेश सरकारले चालेको कदम स्वागतयोग्य छ । हामी प्रदेश सरकारको अभियानलाई सफल बनाउन प्रतिबद्ध छौ,’ गुफा संरक्षणकर्मी केशव बस्नेतले भने । उनले केही वर्ष अघिदेखि नै गुफा महोत्सव गर्ने सोंचमा रहेको भए पनि कोभिड–१९ समेतका कारण आफूहरुको कार्ययोजना अलपत्र रहेको सुनाए । ‘तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीसमक्ष गुफा महोत्सवको प्रस्ताव राखेका थियौं । तर वहाँको दुःखद् निधनले हाम्रो योजना अघि बढ्न सकेन । त्यसपछि पनि गुफा महोत्सवबारे व्यापक छलफल र तत्सम्बन्धी कार्ययोजना बनेको थियो । तथापि कोभिड–१९ का कारण सबै योजना रोकिए,’ उनको गुनासो थियो ।

अहिले गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाको पहलमा गुफा संरक्षण कार्ययोजनाका लागि बीस लाख रुपियाँ बजेट विनियोजन भएको छ । उक्त बजेटबाट स्थानीय सिम्लेकुनामा रहेको क्रेजीकेभको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न उनै गुफा संरक्षणकर्मी केशव बस्नेतको नेतृत्वमा ७ सदस्यीय उपभोक्ता समिति गठन भएको नेपाली काँग्रेस पोखरा १६ का पूर्वसभापति शिवराज देवकोटाले बताए । उनका अनुसार समितिको उपाध्यक्षमा सुरेन्द्र थापा, सचिव देवबहादुर थापा र कोषाध्यक्षमा यशोदा थापा चयन भएका छन् ।

सिम्लेकुनामा बिहीबार विहान स्थानीयहरुको वृहत् भेलाद्वारा उपभोक्ता समिति गठन गरिएको हो । समितिको सदस्यमा विमला थापा, विनोद थापा र प्रेमराज भट्टराई रहेका छन् । त्यस्तै पोखरा १६ का वडासदस्य मेहरमान थापा संयोजक रहेको तीन सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ । समितिको सदस्यमा रामबहादुर जिसी र विना थापा छन् भने नरहरि भट्टराईको संयोजकत्वमा सल्लाहकार समिति समेत बनाइएको छ ।
क्रेजी गुफा कहिलेदेखि अस्तित्वमा आएको हो भन्नेबारे ठोस प्रमाण केही पनि भेटिएको छैन । यद्यपि स्थानीयका अनुसार धेरै वर्षपहिले देखि नै उक्त गुफामा वाघ बस्ने गरेको किम्बदन्ती पाइन्छ । तत्कालीन अवस्थामा वाघले पशुचौपाया मारी त्यही गुफा लगेर खाने गरेको बूढापाकाहरुको भनाई छ । पछि गोठालहरुले आफ्ना हराएका पशुचौपाय खोज्न आगोको सिटो बाल्दै गुफा भित्र छिर्न थालेको र गुफाभित्र, विभिन्न देवाकृतिसहितका कलाकृति भेटिएको स्थानीय ८१ वर्षिय निलबहादुर बस्नेतले बताए । त्यसपछि विस्तार उक्त गुफा अस्तित्वमा आए पनि उचित संरक्षण हुन सकेको थिएन ।

यो गुफा विभिन्न तीन तहमा विभाजित छ । करिब ४५० मिटर लामो यस गुफामा प्रशस्त मात्रामा चुनढुङ्गा पाइन्छ । गुफाभित्र स्पष्टरुपमा गौतमबुद्ध, हात्तीको सुँड, कान, नागनागिनी लगायतका दुवै देवीदेवताको आकृति देख्न सकिन्छ । गुफाको अन्त्य भागमा सुन्दर र कञ्चन तलाउन पनि छ । यो तलाउन नजिक छुट्टै द्वार पनि छ ।

गुफा संरक्षणकर्मीकै पहलमा वि.स. २०६४ सालमा गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था नै खडा गरी गुफाहरुको संरक्षण अभियान थालिएको हो ।

118Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected