2Shares

पोखरा भ्यूज

 काठमाण्डौं । ईशा फाउण्डेशनका संस्थापक सद्‌गुरु जग्गी वासुदेवद्वारा पहल गरिएको ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानलाई समर्थन गर्नको लागि बसन्तपुर दरबार क्षेत्रमा करिब ३ सय मानिसहरू भेला भई नृत्य र साङ्गीतिक प्रस्तुति गरेका थिए ।

आफूलाई अर्थ–बड्डिज वा भू–मित्र भन्न रुचाउने यी समर्थकहरू, शनिबार साँझ बसन्तपुरमा, नेपालको झण्डा बोकेर माटो जोगाऔँ ! अहिल्यै केही गरौँ, आउनुहोस्, यसलाई साकार पारौँ जस्ता सन्देश लेखिएका प्लेकार्डहरू बोकी कार्यक्रममा सहभागी भएका थिए साथै, उनीहरू सबैले ‘सोइल सङ’ अर्थात् माटोको लागि रचिएको गीतमा सँगै नृत्य गरेका थिए । सो गीत र नृत्य, माटो जोगाऔँ अभियानको लागि रचिएको हो । भू–मित्रका स्वयंसेवकहरू अर्जुन कार्की र पार्थ लामिछानेको साङ्गीतिक प्रस्तुतिबाट कार्यक्रम समापन भएको थियो ।

माटो जोगाऔँ अभियान के हो ? यो सद्‌गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो, जसले माटोको विनाशबारे सम्बोधन गरी माटोको स्वास्थ्यलाई पहिल्यैको अवस्थामा फर्काउनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट हुन आह्वान गरेको छ । यो अभियानको उद्देश्य खेतीयोग्य माटोमा जैविक पदार्थ बढाउनको लागि सबै राष्ट्रका नेतृत्वकर्तालाई राष्ट्रिय नीतिहरू बनाउन अनि त्यसतर्फ कामहरू गर्न सघाउनु हो ।

यस अभियानअन्तर्गत, माटो विनाश हुनबाट जोगाउन तत्काल नीतिगत पहलहरूका लागि जनचेतना जगाउन र राजनीतिक सहमति निर्माण गर्न, सद्‌गुरुले बेलायत, युरोप, एशिया र मध्य-पूर्व गरी २७ राष्ट्रहरूमा ३०,००० किलोमिटरको एकल मोटरसाइकल यात्रा गर्नुहुनेछ । उक्त १०० दिवसीय यात्रा २१ मार्चमा लण्डनबाट शुरु भई दक्षिणी भारतमा समापन हुनेछ ।

यस अभियानको मुख्य उद्देश्य भनेको ३.५ अर्ब मानिसहरूको समर्थन जुटाउने र सरकारहरूलाई पर्यावरणको लागि दीर्घकालीन नीतिहरूमा लगानी गर्न विश्वास दिलाउनु हो ।

अभियानको तयारीका लागि लण्डन पुगिसक्नु भएका सद्‌गुरुको निम्ति लण्डनमा रहेको नेपाली दूतावासले १६ मार्चमा स्वागत कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा, लण्डनको लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यले सद्‌गुरुलाई उक्त अभियानबारे केही बोलिदिन आग्रह गरेका थिए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected