16Shares

पोखरा भ्यूज

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङले प्रदेश लोकसेवा आयोगले योग्यता, निष्पक्षता र स्वच्छतालाई कायम राख्नु पर्ने बताउनु भएको छ । गण्डकी प्रदेश लोकसेवा आयोगको शुक्रवार पोखरामा सम्पन्न प्रथम स्थापना दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । उहाँले आयोगले आफुले अवलम्वन गरेको योग्यता, निष्पक्षता र स्वच्छताका मूल्य मान्यताको आधारमा प्रतिस्पर्धात्मक परीक्षा पद्धतिको माध्यमबाट योग्यतम व्यक्तिहरूको छनौट हुन्छ भन्ने विश्वास आम नागरिकमा दिलाएको बताउनुभयो ।
स्थानीय सार्वजनिक प्रशासनलाई सक्षम र सुदृढ बनाउन प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाका विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूमा कर्मचारी छनौट गर्ने दायित्व पूरा गर्दा आयोगका मूल्य मान्यतालाई आत्मसाथ गरी योग्य व्यक्तिहरु छनौट गर्ने कुरामा आयोग परिवार कटिबद्ध भएर लाग्नेछ उहाँले बताउनुभयो ।
प्रदेश प्रमुख गुरुङले राष्ट्रको सेवामा समर्पित जनशक्तिको छनोट र सिफारिस गरी आयोगले निष्पक्षता, विश्वसनियता कायम गर्नुपर्नेमा जोड दिदै भन्नु भयो-“मुलुकमा संघियताको स्थापना सँगै प्रदेश सरकारहरु सञ्चालनमा आए पछि केन्द्रमा मात्र निर्भर हुनुपर्ने अवस्थालाई कम गर्न विभिन्न संरचनाहरु बनेका छन् प्रदेश लोक सेवा आयोग पनि त्यसैको परिणाम हो, सरकारले आर्थिक तथा भौतिक पक्षको व्यवस्थापन गर्ने नै छ, आयोगले आफ्नो मुख्य काम, कर्तव्य र अधिकार क्षेत्रभित्र रहेर जनशक्तिको व्यवस्थापनमा लाग्ने छ ।”


मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयतालाई चिनाउनका लागि प्रदेश लोकसेवा आयोगको भूमिका महत्वपूर्ण हुने बताउनु भयो  । सुशासनका लागि सक्षम, सवल कर्मचारीतन्त्र आवश्यक हुनेमा जोड दिदै उहाँले प्रदेश लोकसेवा आयोगले यहाँको आवश्यकता अनुसार सक्षम जनशक्ति दिनेमा विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले स्थापनाको छोटो अवधिमा आयोगले कर्मचारी छनोट गरी स्थायी नियुक्तिका लागि सिफारिस गरी प्रदेश तथा स्थानीय तहमा भएको जनशक्तिको कमीलाई केही मात्रामा भए पनि पूरा गर्न सकेकोमा धन्यवाद दिनु भयो । उहाँले संबिधानको मर्म अनुसार निष्पक्ष र पारदर्शी रुपमा कार्य सम्पादन गरी आम समुदायको विस्वास जित्दै आफ़नो कर्तब्य पथमा अगाडी बढ्न जोड दिनु भयो ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गण्डकी प्रदेशले अरु क्षेत्रमा जस्तै प्रशासनिक क्षेत्रमा पनि नेतृत्व गर्नुपर्ने बताउँदै प्रदेश लोकसेवा आयोगले योग्यता, दक्षतायुक्त जनशक्ति पठाउने बताउनुभयो । आयोग स्थापनाको एक वर्षे समयावधिमा भएका काम कारवाही प्रशंसनीय भएको उहाँले बताउनुभयो ।
प्रमुख प्रतिपक्षि दलका नेता पृथ्वीसुव्वा गुरुङले आयोगको एक वर्ष उपलब्धिपूर्ण रहेको बताउँदै आगामी दिनमा प्रदेशमा आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउनका लागि आयोग सफल बन्ने विश्वास व्यक्त गर्नुभयो ।
लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीले संघीय निजामति ऐन बन्न नसक्दा समस्या आएको बताउनुभयो । आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आयोगले आफ्ना कामहरू अघि बढाएको बताउँदै निष्पक्षता, पारदर्शिता लगायतका विषयमा आयोग प्रतिवद्ध भएको बताउनुभयो ।
कार्यक्रममा आयोगका सदस्यद्वय योगेन्द्र गौचन र कल्पना लम्साल, प्रदेश लोकसेवा आयोग प्रदेश नं १ का अध्यक्ष उत्तमकुमार भट्टराई लगायतले आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश लोकसेवा आयोगका सचिव विनोद कुवँरले आयोगले स्वच्छता, निष्पक्षता कायम राखी आफ्ना काम कर्तब्य र अधिकारको पूर्ण पालना गर्दै अघि बढेको बताउनु भयो ।
उक्त अवसरमा वर्ष उत्कृष्ट कर्मचारीका रुपमा शाखा अधिकृत सन्दिप ढुङ्गनालाई सम्मान गरिएको थियो भने आयोगको स्मारिका लोकार्पण गरिएको थियो ।

16Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected