
पोखरा भ्यूज
पोखरा । पोखरा–१६ स्थित शान्तिघाट मार्गको निर्माण कार्य सकिएको छ । निर्माण सकिएपछि दाहसंस्कारका लागि सहज भएको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन्।
‘यसअघि घाटसम्म शव पु¥याउन कठिन थियो । गण्डकी प्रदेश सरकारको सहयोगले पुरानो समस्या ट¥यो,‘ निर्माण समितिका अध्यक्ष क्या. भक्तबहादुर गुरुङले भने । उनले शान्तिघाट वरिपरी पनि अझै पूर्वाधार निर्माण गर्न बाँकी रहेकोले त्यसतर्फ पनि प्रदेश सरकारबाट बजेट विनियोजन हुने विश्वास व्यक्त गरे । शान्तिघाट निर्माणका लागि गण्डकी प्रदेश सरबारबाट तीस लाख रुपियाँ विनियोजन गरिएको थियो ।
शान्तिघाटको निर्माण कार्य सम्पन्न भएसँगै शनिबार एक समारोहकाबीच गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले उद्घाटन गरेका छन् । उनले पोखरा १६ को विकासका लागि थुप्रै पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको बताए । यद्यपि आवश्यकता बमोजिमको बजेट विनियोजन गर्न नसकिएको उनको भनाई छ ।

‘पोखरा १६ मा खर्चिएको विकास बजेट मेरो खल्ती वा सम्पत्तिबाट हालेको होइन । जनताले तिरको कर विकास बजेटमार्फत् जनतालाई नै फिर्ता गरेको हूँ,’ शान्तिघाट मार्गको उद्घाटन गर्दै मन्त्री खड्काले भने । उनले मन्त्री खड्काले पोखरा १६ मा मात्र बजेट खन्यायो भन्ने आरोप निराधार रहेको जिकिर गरे ।
कार्यक्रममा पोखरा १६ वडाध्यक्ष जीवनप्रसाद आचार्यले प्रदेश सरकारबाट विनियोजित बजेटको कार्यान्वयनमा वडाबाट सिफारिस लगायतको काममा अवरोध नगरेको दावी गरे ।
तर वडाध्यक्षको मन्तव्य सकिए लगत्तै आफ्नो मन्तव्य राखेका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मदन बस्नेतले काँग्रेसको अगुवाइमा गठन भएका उपभोक्ता समितिको सिफारिस दिन वडाध्यक्षले इन्कार गर्ने गरेको दावी गरे । उनले वडाध्यक्षले सहकार्य र सहअस्तित्वको आत्मसाथ गर्न नसकेको आरोप लगाए । उनले काँग्रेसीको बजेटमा सिफारिस दिन सक्दिन भन्दै वडाध्यक्षले धेरै निवेदन फिर्ता पठाएका उदाहरण समेत पेश गरे ।
- महाधिवेशन प्रतिनिधि बस्नेत बोल्दा भने वडाध्यक्ष आचार्य कार्यक्रमस्थलबाट बाहिरी सकेका थिए । यद्यपि कार्यक्रमस्थलमै रहेका वडा सदस्य राजेश गुरुङ पनि लोतेलोते भएर त्यहाँबाट बाहिरिएका थिए । तर काँग्रेसका नेता तथा कार्यकर्ता र स्थानीय सर्वसाधारणहरु कार्यक्रम समापन भइन्जेलसम्म बसेका थिए ।







सम्बन्धित खवर
















