
पोखरा भ्यूज
पोखरा । नेपाली कांग्रेसले कास्कीमा सुरु गरेको ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानलाई तीब्र पारेको छ ।आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गरेर कांग्रेसले उक्त अभियान कास्की लगायतका देशभर एकैसाथ सुरु गरेको हो । अभियानलाई सफल बनाउन कांग्रेसले कास्कीका वडा तहमा प्रतिनिधि परिचालन समेत गरेको छ ।
अभियानकै क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नागडाडाँमा बुधवार नेपाली काँग्रेस वडा कार्य समितिले आफ्नो वडा स्तरिय पार्टी कार्यालयको एक औपचारीक कार्यक्रमका साथ उद्घाटन गरेको छ । कार्यलयको नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ का क्षेत्रिय सभापति मनोज गुरूङले उद्घाटन गरेका छन ।
अन्नपूर्ण २ का सभापति पिताम्बर भण्डारीका अनुसार ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान अन्तर्गत उक्त कार्यलय स्थापना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका क्षेत्रिय सभापति मनोज गुरूङले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्न सबै कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्ने बताए । गुरूङले कांग्रेसलाई बलियो बनाउन भातृ संघ, संगठनको भूमिका महत्वपूर्ण हुने भएकाले क्रियाशिल भएर लाग्न निर्देशन समेत दिएका छन । निर्वाचनमा आंकाक्षा हुनु स्वभाविक भएकाले उम्मेदवार टुंगो नलाग्दै आफ्नो लागि मत माग्नु भन्दा कांग्रेसको लागि माग्न गुरूङले निर्देशन दिएका छन ।
कास्की क्षेत्र नं ३ प्रदेश ख का सभापति जिवनाथ पौडेलले प्रतिपक्षले एमसीसी लगायतका बिषयमा भ्रम छर्ने काम गरेको भन्दै त्यसलाई चिर्न सुझाव दिए । ‘एमसीसीको गलत प्रचार गरेर मतदातालाई प्रभावित पार्न सक्छन, एमसीसी नितान्त विकास परियोजना हो, बुझेका नेताहरुले सबैलाई बुझाउन जरुरी छ,’ पौडेलले भने ।
यस्तै नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका सभापति मनपति भण्डारीले सबै एक भए मात्रै विजय हुन सकिने बताए । ‘हामीले जितेको ठाउँ हो भनेर हाइसन्चो मानेर बस्ने अवस्था छैन, सबै घर घरमा जाऔं भोट मागौं,’ भण्डारीले भने ।
‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान वडा नं २ मा खटिएका प्रतिनिधि एवं नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य विष्णु अधिकारीले स्थानीय चुनावलाई लक्षित गर्दै पाटीलाई बलियो तथा सुदृढिकरण गर्ने उद्देश्यका साथ वडामा नेपाली काँग्रेसको सम्पर्क कार्यालय स्थापना गरिएको बताए ।
नेपाली कांग्रेस अन्नपूर्ण २ का सभापति पिताम्बर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ क्षेत्रिय सभापति खिमकुमारी गुरूङ, नेपाल तरुण दल क्षेत्रिय सभापति बिकास गुरूङ, साविक ढिकुरपोखरी गाबिसका सभापति टेकप्रसाद अधिकारी, अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य एवं वडा नं २ का वडा सदस्य भगवति भण्डारी, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका कोषाध्यक्ष लोकराज भण्डारी, सचिव ताराप्रसाद अधिकारी लगाएतले घर–घर जाऔं, काँग्रेस जिताऔं अभियानलाई साकार पार्न आ–आफ़नो ठाउँबाट लाग्न प्रेरित गरेका थिए ।
अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान कास्कीका ७२ वटै वडामा विभिन्न कार्यक्रमका साथ संचालनभईरहेका छन ।







सम्बन्धित खवर
















