
पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस पोखरा १६ को चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालय स्थापना गरिएको छ । स्थानीय मैदानमा शनिबार आयोजित एक विशेष समारोहबीच कार्यालय स्थापना गरिएको हो । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य एवं गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले पोखरा १६ मा अझै विकास बजेट खन्याउने उद्घोष गरेका छन् ।

उनले आफूमाथि पोखरा १६ मा मात्र बजेट विनियोजन गरेको मिथ्या आरोप लगाउने गरिएको दावी गरे । ‘म मरे मात्र पोखरा १६ को विकास रोकिन्छ । तर म बाँचुञ्जेल विकास रोकिन्न,’ उनले भने । विकासका दृष्टिले पोखरा १६ पछाडि परेको अवस्थामा केही गर्न खोज्दा पोखरा १६ कै नेताहरुले विकास कार्य अवरोध गर्ने प्रयास गरेको मन्त्री खड्को आरोप छ ।
मन्त्री खड्काले केआइसिंह पुलदेखि महेन्द्रगुफासम्म फुट ट्रयाकका लागि १२ करोड, महेन्द्रगुफाको विकासका लागि १० करोड, भित्तेबजारको सडक विस्तारका लागि ५ करोड, जुम्लेटीदेखि ढिकी डाँडाका लागि ८ करोड, सहेंलाको पुल लगायतका योजनाका लागि छिट्टै टेण्डर हुन लागेको जानकारी दिए । अर्मलाकोट साइनडाँडादेखि भुर्जुङखेला जोड्ने बायोडार्भसिटी रोड निर्माणको लागि डिपिआर तयार पारिएको र लामाचौरको ड्रेन निर्माणका लागि पनि टेण्डरको प्रक्रियाका पुगेको उनको भनाई छ । विकास र राजनीति फरक फरक कुरा भएको चर्चा गर्दै मन्त्री खड्काले नेपाली काँग्रेसले विकासमा राजनीति नगरेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सरकार कानून, सञ्चार तथा प्रेदशसभा मामिलामन्त्री विन्दु कुमार थापाले आगामी बैशा ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको प्यानललाई विजयी गराउन जोड दिए ।
नेपाली काँग्रेस पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका महाअधिवेशन प्रतिनिधि लक्ष्मी पाण्डे, क्षेत्रीय प्रतिनिधि दिननाथ आचार्य, पोखरा १६ का उपसभापति गणेश थापा, सचिव धर्मराज आचार्य लगायतले आसन्न निर्वाचनमा नेपाली काँग्रेसको विजय सुनिश्चित गर्न कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिएका थिए ।








सम्बन्धित खवर
















