2Shares

पोखरा भ्यूज
पोखरा । निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जङ्गबहादुर राणाले निर्वाचन आचारसंहिता भित्र रहेर सही सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् । उनले निर्वाचनलाई सफल बनाउन मिडियाको महत्वपूर्ण भूमिका रहेको समेत बताए ।

‘भ्रमित खालका सूचना रोकेर सही सूचना दिनु मिडियाको दायित्व हो,’ निर्वाचन आयोग नेपालले स्थानीय तह सन्दर्भमा पोखरामा आयोजना गरेको मिडिया अभिमुखिकरण सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त राणाले भने ।

उनले मतदाता शिक्षादेखि निर्वाचनसम्बन्धी यथार्थ सूचना सबैको पहुचमा पुर्याउनु मिडियाको दायित्व र कर्तव्य समेत रहेको जोड दिए । निर्वाचन आचारसंहिताको उल्लंघन हुन नदिन मतदातादेखि उम्मेदवार, राजनीतिक दललाई समेतलाई सचेत गराउने काम मिडियाको भएको आयुक्त राणाको भनाई छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन सम्बन्धी रिपोटिङ बारे कार्यपत्र प्रस्तुत गर्दै पत्रकारले आचारसंहिता भित्र रहेर काम गर्न आग्रह गरेका थिए ।
प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले निर्वाचनमा मिथ्या सूचना समाचार दुष्प्रचार घृणास्पदअभिव्यक्ति रोकथाम निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेले निर्वाचन आचारसंहिता आम संचारक्षेत्रमा मिडिया अभिमुखीकरण सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए 

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०७८ ल्याएको छ ।

आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणलाई स्पष्ट शब्दमा उल्लेख गरिएको छ ।
‘कुनै राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने, कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने,’ आचारसंहितामा भनिएको छ ।

सञ्चार प्रतिष्ठान र पत्रकारले जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्रबीचको सम्बन्ध र सद्भाव खलल पार्ने, राजनीतिक आस्था वा विचार, राष्ट्रियता तथा सामाजिक अवस्था जस्ता कुनै पनि आधारमा भेदभाव हुने गरी समाचार प्रकाशन वा प्रसारण गर्न पाउने छैनन् ।
राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने पनि आचारसंहितामा उल्लेख छ ।

‘आयोगले तोकेको समयावधिभन्दा बढी नहुने गरी राजनीतिक दल वा उम्मेदवारको निर्वाचन सम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्ने, त्यसरी प्रकाशित विज्ञापनमा सःशुल्क विज्ञापन भएको जनाउ दिनु पर्ने,’ आचारसंहितमा भनिएको छ ।
तर मौन अवधिमा भने त्यस्तो विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न समेत पाइने छैन ।

फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइवर, यूट्युब, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्रयोग गरी कसैको पक्ष वा विपक्षमा कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण, शेयर, लाइक, कमेन्ट र प्रतिकमेन्ट गर्न नहुने कुरालाई आचारसंहितामा समेटिएको छ ।
राजनीतिक दल वा उम्मेदवार तथा उम्मेदवारको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पुर्रयाउने तथा गलत र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न नहुने आचारसंहितामा जनाइएको छ ।

‘मौन अवधिमा सामाजिक सञ्जाल, अनलाईन छापा माध्यम वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न, कमेन्ट, प्रतिकमेन्ट गर्न, समाचार प्रकाशन वा प्रसारण गर्न नहुने,’ आचारसंहितामा भनिएको छ ।

मौन अवधिमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापन, टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम पनि गर्न पाइने छैन । निर्वाचनको बारेमा नकारात्मक सन्देश प्रवाह गर्ने लेख, तस्वीर वा अन्य प्रकाशन छाप्न नहुने जनाइएको छ ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected