
पोखरा भ्यूज
पोखरा । निर्वाचन आयोगले शनिबारदेखि लागू हुने गरी निर्वाचन आचरसंहिता जारी गरेपछि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सरगर्मी देशव्यापी रुपमा ह्वातै बढेको छ । चुनावी सरगर्मीसँगै दलगत नेताहरुले उमेद्वारी छनौट प्रक्रिया तीव्र पारेका छन् ।
दलहरुले उमेद्वारी छनौट प्रक्रिया शुरु गर्दै गर्दा आआफ्ना क्षेत्रमा दलका नेताहरुको दावी पनि चुलिंदै गएको देखिन्छ । यही सन्दर्भमा कास्कीको अन्नपूर्ण गाउँपालिको अध्यक्ष पदका लागि मुख्य दुई दल नेपाली काँग्रेस र नेकपा एमालेका समेत गरी ९ नेताले दावेदारी प्रस्तुत गरेका छन् । तीमध्ये नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ३ नेता छन् ।
नेपाली काँग्रेसका तर्फबाट युवराज कुँवर, आइबहादुर गुरुङ, पोषनाथ शर्मा, जीवनाथ पौडेल (शंकर), मनपति भण्डारी र राजबहादुर गुरुङको दावी रहेको छ । नेपाली काँग्रेस कास्कीको उपसभापति समेत रहेका युवराज कुँवरले पुनः दोहो¥याउने इच्छा राखेपछि काँग्रेसलाई सर्वसम्मत् उमेद्वारी टुंग्याउन सकस परेको देखिन्छ । आइबहादुर पार्टीका पूर्वउपसभापति हुन् । शर्मा पूर्वक्षेत्रीय सभापति हुन्, पौडल, प्रदेश ख का सभापति एवं अन्नपूर्ण ५ का वडाध्यक्ष हुन् भने भण्डारी अन्नपूर्ण गाउँपालिकाका सभापति हुन । पूर्वमहाधिवेशन प्रतिनिधि राजबहादुर गुरूङ पत्रकारिताबाट उदायका नेता हुन् ।
उता नेकपा एमालेबाट पालिका अध्यक्षमा विष्णु केसीले पुन दावी गरेका छन् । उनीसँगै सुरेन्द्र गुरुङ र विवेक देवकोटा पनि आकाँक्षी छन् । के.सी. २०७४ सालको चुनावमा झिनो मतान्तरले नेपाली काँग्रेसका नेता कुँवरसँग पराजित भएका थिए । उनी पार्टीले अध्यक्षको टिकट दिनेमा ढुक्क छन् । ‘पार्टीले निर्णय गर्ने कुरा हो, तर पनि म स्वाभाविक प्रतिस्पर्धी हुँ’, उनले भने । अर्का दावेदार सुरेन्द्र गुरूङ जिल्ला कमिटी सदस्य हुन् भने देवकोटा पार्टीको गाउँपालिका अध्यक्ष हुन् ।
उपाध्यक्षका लागि नेकपा एमालेबाट मिना गुरूङ, चन्द्रकला अधिकारी नेपाली कांग्रेसको तर्फबाट गत चुनावका झिनो मतले पराजित उम्मेदवार खिमकुमारी गुरूङ, कांग्रेस गाउँपालिकाका उपसभापति गौमाया नेपालीको चर्चा रहेको छ । यद्यपि सत्ता गठबन्धनले गर्दा उपाध्यक्षका लागि खासै चर्चा चलेको सुनिदैन ।
कूल ११ वटा वडा रहेको पालिकाको वडाध्यक्षमा न्यूनतम २ देखि १० जनासम्म र सदस्यमा ७ देखि १६ जनासम्म आकांक्षी देखिएका छन् । आकांक्षी धेरै भएपछि कांग्रेस, एमालेलाई उम्मेदवारको टुंगो लगाउन सकस भएको नेताहरुले बताएका छन् । वडा तहमा उम्मेदवारी दिन चाहनेको आकांक्षा बुझ्नलाई वडा भेला समेत गरिरहेका छन् ।
भेलामा वडाध्यक्ष र वडा सदस्यको उम्मेदवार बन्न चाहने धेरै पाइएको छ ।‘कुनै कुनै वडामा १०/१२ जनासम्म वडाध्यक्षको आकाँक्षी देखिएका छन्,’ काँग्रेसका एक नेताले भने । पार्टीका तर्फबाट धेरैको आकाँक्षा देखिए पनि जनस्तरमा राम्रो सन्देश नगएको ती नेताले स्वीकार गरेका छन् ।
पाटीभित्र उमेद्वारी धेरै हुनुको कारण दलका नेताहरु सेवा भावभन्दा पनि स्वार्थभावबाट उत्प्रेरित भएको प्रा.डा. कुसुमाकर न्यौपानेको विश्लेषण छ । आफ्नै भूगोल राम्ररी चिन्न र चिनाउन नसक्नले उमेद्वारी प्रस्तुत गर्दा सेवाभावको सुगन्ध भेटाउन नसकिएको प्रा.डा.न्यौपानेको ठहर छ । ‘स्वार्थरहीत सेवा भाव हुँदै होइन । अजर अमर बन्छु, जनसेवा गर्छु भन्ने भाव हुनुपथ्र्यो । तर त्यस्तो छनक कतै देखिदैंन,’ उनले भने ।
जनप्रतिनिधिलाई सेवा सुविधाको व्यवस्था हुनुले पनि राजनीति सेवा भाव भन्दा पनि पेशागत रुपमा अघि बढेको नागरिकहरुको धारणा छ । एमालेका विरुद्ध पाँच दलीय गठबन्धनको साझा उमेद्वारको खोजी गरिदाँ पनि उमेद्वारी छान्न सकस परेको हो । गठबन्धनबाट साझा उमेद्वार छानिन समय लाग्दा भने एमाले आन्तरिक उमेद्वारकीको छिनोफाने लगाएर छिट्टै प्रचारमा जुट्ने रणनीतिमा देखिन्छ ।





















