
काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकासाथै तराईका ६ वटा क्षेत्रीय विमानस्थलमा १८ घन्टासम्म आन्तरिक उडान हुने भएको छ । बढ्दो हवाई चापलाई व्यवस्थापन गर्नकालागि बिहिवारदेखि भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थमा बिहान ६ बजे देखि राति १२ बजेसम्म हवाई उडान हुने भएको हो । रात्रिकालीन उडानयोग्य विमानस्थलमा हवाई उडानको समय बढाएपछि हवाई उडानको चाप व्यवस्थापन हुने तथा यात्रुहरुले विमानस्थलमा कुर्नुपर्ने अनावश्यक झन्झटको अन्त्य हुने विश्वास नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ ।
प्राधिकरणले आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत २४ सै घण्टा अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको छ । साथै पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएपछि २४ सै घण्टा चलाउने तयारी प्राधिकरणको छ ।
त्रिभुवन विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय र आन्तरिक गरी दुवैतर्फ दैनिक ४ सय भन्दा बढी उडान हुन् गरेका छन् । विमानस्थल अत्यन्तै व्यस्त भएका कारण कुनै नयाँ अन्तर्राष्ट्रिय जहाज कम्पनीले काठमाडौमा उडान गर्न खोजेमा समय दिनसकिने अवस्था नरहेको प्राधिकरणले जनाएको छ ।
नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय हवाई यात्रुदर वर्षेनी १० प्रतिशतले वृद्धि भइरहेको अवस्थामा बढ्दो यात्रुको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकरूपमा घण्टौँसम्म एयर ट्राफिक जाम हुने गरेको छ । यसबाट यात्रुले घन्टौंसम्म विमानस्थलमा कुर्नुपर्ने र कतिपय अवस्थामा उडाननै रद्द गर्नुपर्दा सास्ती व्यहोर्दै आएका छन् । कोभिड–१९ को महामारीपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ । उडान चाप बढ्नु सुखद् पक्ष भएको भन्दै यसले मुलुकको अर्थतन्त्रका लागि समेत धेरै राम्रो अवसर सृजना गर्ने प्राधिकरणले जनाएको छ ।।







सम्बन्धित खवर
















