पोखरा १६ मा गठबन्धनका उमेद्वारले पाए १०४ वर्षिया आमाको आर्शिवाद
- May 10, 2022
- 5427

पोखरा भ्यूज
पोखरा । अर्मलाकोट स्थित सिद्ध मन्दिरको दर्शन गरी शुरु भएको पोखरा १६ मा गठबन्धनमा रहेका दलहरुको घरदैलो कार्यक्रम मंगलबार बडहरबोट निवासी १०४ वर्षिया वृद्ध फत्तेश्वरी खत्रीले दिएको जितको आर्शिवाद लिएर टुङ्गिएको छ । गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले वैशाख १६ गतेदेखि संयुक्तरुपमा वडामा घरदैलो गर्दै आएका थिए ।

‘बाबुहरूलाई मेरो आर्शिवाद लागोस् । चुनाउ जितेर राम्रो काम गर्नु है,’ वडाध्यक्षका प्रत्यासी नेपाली काँग्रेसका युवा नेता अमृत शर्मा तिमिल्सिना समेतका प्रत्यासी उमेद्वारहरुलाई खादा ओढाएर १०४ वर्षिया खत्रीले भनिन् । वृद्ध आमाको आशिषले उत्साहित भएका वडाध्यक्षका प्रत्यासी शर्माले वृद्ध आमा खत्रीका पाउ छोएर वडाको समग्र विकास र समृद्धिका लागि राम्रो काम गर्ने प्रतिबद्धता जनाए ।
‘आमाको आर्शिवाद नै हाम्रो टिमको शक्ति र तागत हो । हामीले जितेर पोखरा १६ लाई महानगरकै नमूना वडा बनाउने छौं,’ उनले भने । वृद्ध आमा र गठबन्धनका साझा उमेद्वारको भलाकुसारीले त्यहाँको माहोल शान्त र भावुक देखिएको प्रचारप्रसार उपसमितिका संयोजक शिवराज देवकोटाले जानकारी दिए ।
मंगलबार अपरान्हदेखि वडहरबोटमा भएको घरदैलो कार्यक्रम निकै उत्साहजनक भएको थियो । घरदैलो कार्यक्रम खटिएका गन्धर्व समाजका प्रतिनिधिहरुद्वारा प्रस्तुत साँस्कृतिक कार्यक्रमले भिन्दै रौनक ल्याएको थियो ।
‘काँग्रेसको चुनावी माहोलमा गन्र्धव समुदायका प्रतिनिधिको भूमिकाले राम्रो चुनावी माहोल सिर्जना गरेको पाएँ । यसको नतिजा सकारात्मक आउँछ भन्ने मेरो ठम्याई छ,’ स्थानीयवासी समेत रहेका शिक्षक बलराम भट्टराईले भने ।
काँग्रेसको घरदैलो कार्यक्रम कालिका मन्दिरको चोकमा आएर विर्सजन गरिएको थियो । ‘हाम्रो चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलोसहितका सम्पूर्ण कार्यक्रम यही टुंगिएको घोषणा गर्दछु,’ संयुक्त निर्वाचन परिचालन समितिका सहसंयोजक काँग्रेस नेता मदन बस्नेतले भने । उनले घरदैलोमा खटिने गठबन्धनका सम्पूर्ण दल र तिनका कार्यकर्तालाई समेत धन्यवाद दिएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पोखरा १६ को वडाध्यक्षमा प्रत्यासी अमृत शर्मा तिमिल्सिना, दलित महिला सदस्यमा ओममाया नेपाली, महिला सदस्यमा भगवती भट्टराई र खुल्ला सदस्यद्वय मीनबहादुर गुरुङ र निर्मल आचार्य प्रत्यासी उमेदेवार छन् । यसअघि नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि पद्मसिंह गुरुङको नेतृत्वमा संयुक्त निर्वाचन परिचालन समिति र विभिन्न ७ वटा उपसमिति गठन गरिएको थियो ।






सम्बन्धित खवर
















