वडाध्यक्ष अधिकारीद्वारा पदभार ग्रहणसँगै लक्षित वर्गको निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय
- May 24, 2022
- 3258

पोखरा भ्यूज
अन्नपूर्ण, कास्की । अन्नपूर्ण गाउँपालिका वडा नं १ का नवनिर्वाचित वडा अध्यक्ष तुलसी प्रसाद अधिकारीले पदभार समालेका छन् । सोमवार सपथ खाएका पालिकाका सबै निर्वाचित वडा अध्यक्षहरुले सोमबार नै वडा कार्यालय पुगि जिम्मेवारी समालेका हुन् ।
नवनिर्वाचित वडा अध्यक्ष अधिकारीले वडाका बिपन्न र निम्न आयआर्जन भएका वडावासीको लागि स्वास्थ्य विमा गर्न आफुले प्राप्त गर्ने सेवा सुविधाको केहि रकमबाट वडा अध्यक्ष कोष बनाई सो कोषबाट ५० प्रतिशत रकम व्यहोरी निशुल्क विमा गर्ने निर्णय गरेका छन । अन्नपूर्ण गाउँपालिकाले पालिकाका सबै घरपरिवारको स्वास्थ्य बिमा गर्दा लाग्ने शुल्कको ५० प्रतिशत रकम बेहोर्ने निर्णय गरे सँगै वडाले लक्षित समुदायको लागि मात्र सो निर्णय गरिएको वडाध्यक्ष अधिकारीले बताए ।

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बिजयी भएका अधिकारीले पदबहाली गर्दे पहिलो निर्णय गरेका हुन । त्यस्तै सोही क़ोषबाट बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्न आउने सुत्केरी महिलालाई एक हजार प्रदान गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै, सेवाग्राहीको सेवालाई सर्वोपरि मानी सेवाग्राहीको समस्यालाई मध्यनजर गरि वडाका प्रत्येक टोलमा सुचना बोर्ड तथा गुनासो पेटिका राख्ने सोच बनाईएको छ, उनले भने ।
वडाको समग्र विकास गर्ने प्रतिबद्धता अनुसार सोको कार्यान्वय र जनताको माग र आवश्यकताको आधारमा काम गर्ने अधिकारीले जनाए ।
गत निर्वाचनमा नेपाली काँग्रेसले जितेको वडामा यो पटक नेकपा एमालेले जितेको हो । निर्वाचित अधिकारीले कार्यभार समालेसंगै निवर्तमान वडा अध्यक्ष भरतजंग कुँवरलाई बिदाई गरिएको छ ।

साथै, उनले बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा वडाध्यक्ष पदमा विजयी गराउनु हुने सम्पूर्ण मतदाताहरूलाई सामाजिक संजाल मार्फ़त आभार सहित धन्यवाद समेत व्यक्त गरेका छन ।







सम्बन्धित खवर
















