
पोखरा भ्यूज
काठमांडौं । भारत सरकारको अनुदान सहयोगमा नुवाकोटको विदुर नगरपालिकामा अवस्थित श्री त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको नवनिर्मित बिधालय भवनको उद्घाटन भएको छ ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले र भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले नवनिर्मित विद्यालय भवनको मंगलवार संयुक्त रुपमा उद्घाटन गरेका छन । भवनको उद्घाटन पश्चात भारतीय राजदूतावासका सचिव सोनाले विदुर नगरपालिका मेयर राजन श्रेष्ठलाई सो भवनको स्वामित्व हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा राजनीतिक दलका नेता, शिक्षाविद, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ५० लाखको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा यस भवनको निर्माण भएको राजदुतावासले जनाएको छ ।
यो परियोजना आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक रहेको जनाईएको छ ।
त्रिशुली जलविद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर श्री के.आई सिंहले यस विद्यालयको डिजाइन गरेको यस विद्यालयको स्थापना सन् १९५१ मा भएको हो । विद्यालयमा १ हजार ३४३ भन्दा बढ़ी विद्यार्थी अध्ययनरत छन् जसमा ६० प्रतिशत छात्रा मात्र रहेका छन् । भारत सरकारको सहयोगमा नयाँसंरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्नेछ । यो परियोजनाले भारत र नेपालबीच लामो समयदेखि रहीआएको सहकार्यलाई प्रतिबिम्बित गर्ने विश्वास लिएको छ ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये नुवाकोट जिल्लाका ७ गरी बागमती प्रदेशमा १०३ वटा रहेका भारतीय राजदूतावास स्रोतले जनाएको छ ।
भारत र नेपालबीच बहुपक्षीय एवम् बहुपक्षिय विकास साझेदारी रहेको छ । जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यस विद्यालय परियोजनाको कार्यान्वयनले शिक्षा लगायत प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पुर्याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।







सम्बन्धित खवर
















