3Shares

पोखरा । पोखरा महानगर पालिकाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिले बुधबार आयोजित कार्यक्रममा खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने जनाएको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी पोखरा महानगरका खेलाडीहरुलाई विदाई गर्दै प्रमुख धनराज आचार्यले जितको शुभकामना दिंदै नगद सहित सम्मान गर्ने घोषणा गरेका हुन् ।

पोखरा महानगरले इन्डिभिजुअल खेलतर्फ स्वर्ण, रजत र काश्य पदक बिजेतालाई क्रमश नगद १५ हजार, १० हजार र ५ हजारका साथमा सम्मान पत्र प्रदान गर्ने प्रमुख आचार्यले जनाए । यसै गरी कुनै पनि टिम गेमतर्फ विजेतालाई नगद ५/५ हजार प्रदान गर्ने उनले घोषणा गरे ।

सो अबसरमा प्रमुख आचार्यले खेलाडीहरुलाई विदाई गर्दै नवौं राष्ट्रिय खेलकुदमा सहभागि हुन पाउनु गौरवको विषय रहेको बताउँदै पोखरा महानगरवाशीलाई एकतावद्ध भएर खेलाडीलाई हौसला बढाउन आग्रह गरे । उनले भने–“निर्वाचन नजिकिंदै छ, त्यो आफ्नो ठाउँमा छ । तर त्यो भन्दा पनि ठूलो नवौं राष्ट्रिय हाम्रो सामु छ । प्रतियोगिता सफल बनाउने संगै पदक जितेर पोखरा र गण्डकीको शान बढाउन म आग्रह गर्दछु ।”

कार्यक्रमा आफ्ना भनाई राख्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले खेलाडीहरुलाई जितको शुभकामना दिंदै पोखरा गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेको नवौं राष्ट्रिय प्रतियोगिताको ट्रफी प्रतियोगिता जितेर यहिं राख्न उनले जोड् दिइन् । “यो हाम्रो लागि ठूलो अवसर हो । नवौं राष्ट्रियको ट्रफी हामीले नगर परिक्रममा गरी स्वागत गरेका छौं । अव प्रतियोगिता जितेर ट्रफी हाम्रो प्रदेशमा राख्ने गरी खेलाडीले प्रदर्शन गर्नुपर्छ,”उनले भनिन् ।

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आचार्य र उपप्रमुख गुरुङले खेलाडीहरुलाई खादा लगाएर विदाई गरेका थिए ।

यसै विच पोखरा महानगरका प्रमुख आचार्य र उपप्रमुख गुरुङले पोखरा रंगशालास्थित टेनिस कोर्टको अवलोकन गरेका थिए ।

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected