मतदातालाई धन्यवाद दिन मन्त्री थापा पोखरा–१६ को घरदैलोमा
- December 1, 2022
- 3249

पोखरा भ्यूज
पोखरा । मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा कास्की क्षेत्र नं. २ (ख) बाट गण्डकी प्रदेशसभामा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा आफ्ना मतदातालाई धन्यवाद दिन व्यस्त छन् । यसैक्रममा विहीबार मन्त्री थापा पोखरा १६ का विभिन्न टोलटोलमा पुगेर मतदातालाई धन्यवाद दिए ।
उनले विहान १०ः३० बजे केआईसिंह पुल,जोगीमणि, शान्तिदिप, सुन्दरफिड, अमरदिप, लामाचौर डाँडाथोक, बानियाँथर, सगरमाथा टोल पानी ट्याङ्की, राजपँधेरा, अम्बिकाटोल, बडहरबोट हुँदै गन्धर्वटोल पुगेरआफ्ना मतदातालाई धन्यवाद मात्र भनेन्, चुनावी अभियानमा गरेका वाचा पनि पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
उनलाई स्थानीय मतदाताले विकासका पूर्वाधार निर्माण गर्नमात्र सुझाएनन्, गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने शुभकामना पनि दिए । ‘हामीले मत दियौं । चुनाव पनि जित्नु भयो,’ गन्धर्वटोलमा मतदातालाई धन्यवाद दिन पुगेका मन्त्री थापालाई शुभकाना दिंदै स्थानीय ८७ वर्षिय वरिष्ठ सारङ्गीवादक खिमबहादुर गन्धर्वले भने– ‘अब तपाईँ प्रदेशकै मुख्यमन्त्री बन्नोस्, हाम्रो यही शुभकामना छ ।’
सारङ्गीबाटै शास्त्रीय राग निकाल्न सक्ने नेपालकै एक मात्र सारङ्गीवादक खिमबहादुरले यसो भनिरहदाँ त्यहाँ उपस्थित शुभेच्छुकहरुले गडगडाहट ताली बजाएर उनको भनाईलाई अनुमोदन गरेका थिए ।
मन्त्री थापा निर्वाचन परिचालन समितिका संयोजक होमबहादुर बानियाँ, निर्वाचन अनुगमन समितिका संयोजक पदमसिंह गुरुङ, नेपाली काँग्रेस पोखरा १६ का पदाधिकारी समेतका नेता कार्यकर्तासहित मतदाताका घरघरमा पुग्दा उनको स्वागत र सम्मानमा स्थानीयले फुल र खादाले स्वागत गरेका थिए । टोलटोलमा भेला भएका स्थानीय मतदातालाई धन्यवाद दिदैं मन्त्री थापाले साक्षात्कार समेत गरे । यद्यपि उनले कुनै औपचारिक भाषण गरेनन् । मतदातासँग प्रत्यक्ष भलाकुसारी गर्दै स्थानीय समस्या, अपेक्षित विकास निर्माण र पूर्वाधारबारे आफूले चुनावी अभियानमा गरेका प्रतिबद्धता र मौजुदा गण्डकी प्रदेश सरकारबाट भएका विकास निर्माण कार्य सम्पन्न गर्ने र नयाँ योजना थप गर्दै जाने आश्वासन पनि दिए ।
मतदाताहरुले चालु योजनालाई निरन्तरता दिन र नयाँ नयाँ प्रभावकारी योजना थप गर्न माग गरेका छन् । ‘हामीले मन्त्रीज्यू समक्ष टुक्रे योजनाभन्दा प्राथामिकताका आधारमा दीर्घलीन र ठूला योजनाको माग गरेका छौ,’ नेपाली काँग्रेस गण्डकी प्रदेश सञ्चार तथा प्रचार विभागका सदस्य समेत रहेका स्थानीय शिवराज देवकोटाले भने ।
साँझसम्म पोखरा–१६ को घरदैलोमा रहेका मन्त्री थापा सबै टोल पुग्न सकेनन् । ‘बाँकी टोलका मतदातालाई धन्यवाद दिन र उहाँहरुका कुरा सुन्न अर्को दिन आउने वाचा गरेको छु,’ पोखरा भ्यूजको संक्षिप्त कुराकानीमा मन्त्री थापाले भने । पोखरा १६ भूगोल र मतदाता दुवैका हिसावले सबैभन्दा ठूलो । यो करिब १२ हजार मतदाता भएको वडा हो ।







सम्बन्धित खवर















