
पोखरा भ्यूज
२६ पौष, पोखरा । जातीय विभेदजन्य गालीगलौज गरेको अभियोगमा पोखरा महानगरपालिका वडा नं. २४ वडाध्यक्ष भरतबबहादुर अधिकारी पक्राउ परेका छन् ।
उनीमाथि आफ्नै वडा सदस्यलाई जातीय विभेदजन्य गालीगलौज गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । प्रहरीमा सोमबार जाहेरी दर्ता भएपछि वडाध्यक्ष अधिकारीले आज आफैं जिल्ला प्रहरी कार्यालयमा पुगेर गिरफ्तारी दिएका थिए ।
पोखरा २४ कि दलित वडासदस्य मैया नेपालीले आफूलाई विभेदजन्य गालीगलौज गरेको बताउँदै आएकी छन् । उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको जाहेरी अनुसार पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका महिलाहरुको भेलामा त्यसबारे छलफल हुँदा वडाध्यक्ष अधिकारीले ‘तेरो परिवारको हैसियत के हो ? वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्’ जस्तो अपमानजनक शब्दले गाली गरेका थिए ।











