
पोखरा । नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष हरिराज पन्तले अहिले अवस्थामा व्यवसायीहरु एकतावद्ध हुनुपर्नेमा जोड दिएका छन् । शनिबार पोखरामा आयोजित अधिकृत विक्रेता संघ पोखराको १६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै अध्यक्ष पन्तले महासंघलाई बलियो बनाउन व्यवसायीबीचको एकता आवश्यक रहेको स्पष्ट पारे ।
महासंघको संगठन विस्तार नै अहिलेको मुख्य काम रहेको जानकारी गराउँदै अध्यक्ष पन्तले देशव्यापी संगठन बनाएर महासंघलाई बलियो बनाउने आफूहरुको ध्येय रहेका स्पष्ट पारे ।

महासंघ बलियो भएमात्र व्ययवसायीका समस्या समाधानमा लाग्न सकिने उनले बताए । उनले भने, ‘अहिले व्यापार व्यवसायलाई स्वच्छ र मर्यादिन बनाउनुपर्ने खाँचो पनि रहेको छ । यसका लागि व्यवसायीहरु आफैले ध्यान दिनुपर्छ ।’
अध्यक्ष पन्तका अनुसार महासंघले केही अघि बर्दियामा पश्चिमाञ्चल स्तरीय भेला आयोजना गरिएको र अब पूर्वाञ्चलको भेलाको तयारी भइरहेको छ । पूर्वाञ्चलममा यहि माघभित्रमा हुने भेलाले निकै ठूलो महत्व राख्ने उनको विश्वास छ ।
उनका अनुसार हालसम्म ३६ जिल्लामा महासंघको शाखा विस्तार भएको र ७७ वटै जिल्लामा शाखा विस्तार अभियान सञ्चालन भइरहेको छ ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले सबै उद्योगी व्यवसायीका साथमा लेउवासंघ रहेकाले ढुक्क भएर काम गर्न आग्रह गरे ।
अधिकृत विक्रेता संघले देशभर संगठन विस्तार अभियान सञ्चालन गरेर सबै व्यवसायीलाई गोलवन्द गर्ने प्रयास गरेकोमा खुशी व्यक्त गर्दै महासंघको अभियानमा आफूले पनि साथ दिने प्रतिवद्धता जनाए ।
नेपाल वितरक महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष सुरेश अधिकारीले व्यवसायीका समस्या बग्रेल्ती रहेकाले व्यवसायीहरु एकतावद्ध नभएसम्म ति समस्या समाधान नहुने स्पष्ट पारे । उनले व्यवसायीका समस्यामा उद्योग वाणिज्य महासंघ मौन रहने गरेको भन्दै आपत्ति प्रकट गरे ।
पोखरा उद्योग वाणिज्य संघले पनि उद्योगी व्यवसायीको हक हितमा सोचेजस्तो काम गर्न नसकेको भन्दै यसमा सबै वस्तुगत संघले घचघच्याउनुपर्नेमा जोड दिए ।
उनले जिल्ला उद्योग वाणिज्य संघहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको मन्दीले व्यवसायीमा परेको समस्याप्रति ध्यान दिनुपर्ने भन्दै यसमा व्यवसायीले पनि आवाज उठाउनुपर्ने खाँचो औंल्याए ।
युवा उद्यमी मञ्च नेपालका पूर्व अध्यक्ष प्रकाशदेव पालिखेले अधिकृत विक्रेता संघले हासिल गरेको उचाइप्रति आफू निकै खुशी भएको बताए ।
संघका सल्लाहकार तारानाथ ढुंगानाले संघ हिजो पनि व्यवसायी संगै थियो, आज पनि संगै रहेको छ र भोलि पनि संगै रहने बताए ।
अधिकृत विक्रेता संघ तनहुँका अध्यक्ष हरि खड्काले संघमार्फत तनहुँका व्यवसायीहरुलाई आफूले समेट्ने प्रयास गरिरहेको बताए ।
कस्मेटिक्स व्यवसायी समिति कास्कीका अध्यक्ष प्रेमप्रसाद सुवेदीले अधिकृत विक्रेता संघ र कस्मेटिक्स व्यवसायीबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको भन्दै आगामी दिनमा सहकार्य गर्न सकिने विषयमा छलफल गर्ने स्पष्ट पारे ।
संघका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष होमकुमार राइले धन्यवाद ज्ञापन, उपसचिव दिलिपकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा महासचिवको प्रतिवेदन रवीकुमार सापकोटा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष तेजेन्द्र पौडेलले प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदनलाई साधारणसभाले सर्वसम्मत पारित गरेको थियो ।







सम्बन्धित खवर

















