२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
अर्थ र वाणिज्य

ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन व्यवसायीको माग

पोखरा भ्यूज
पोखरा, १० असार । नेपाल राष्ट्र बैंक पोखराकी निर्देशक आर्या जोशीले आपूर्ति बढी हुँदा बजारमा भारतीय रुपैयाँ छ्यापछ्याप्ति भएको बताएकी छन् ।
‘भारतीय पर्यटकहरुको आवागमन बढेको छ, सीमा क्षेत्रमा त क्यासिनो पनि खुलेका छन्,त्यहाँबाट भारतीय रुपैयाँ भित्रिएको छ’उनले भनिन्,‘भारतबाट हुने आयात कम हुँदा माग भने कम भएको छ ।’
निर्देशक जोशी पोखरा उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थिइन् । बजारमा सय रुपैयाँभन्दा बढीका भारतीय नोटहरु प्रचलित विनिमय दरभन्दा घटीमा कारोबार भइरहेको, ठूला भारतीय नोट नचल्दा पर्यटकहरु मर्कामा परेको गुनासो आएसँगै पोखरा उद्योग वाणिज्य संघले सो कार्यक्रमको आयोजना गरेको अध्यक्ष पवनकुमार प्रजापतिले बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रजापतिले भारतीय ठूला नोटको प्रचलनको व्यवस्था गरिनुपर्ने, अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली तत्काल कार्यान्वयनमा आउनुपर्ने र व्यवसायीहरुसँग भएका भारतीय ठूला नोटको व्यवस्थापन हुनुपर्ने माग गरेका थिए । ठूला नोट नचल्दा नेपाल आउने भारतीय पर्यटकले दुःख पाएको र पर्यटकले चाहेजति खर्च गर्ने व्यवस्था गरिनुपर्ने पनि उनले बताए ।
‘नेपालमा सय रुपैयाँभन्दा ठूला भारतीय नोट चल्दैनन्,यहाँ भारतीयको एटीम, भिसा र मास्टरकार्ड पनि मुस्किलले चल्छ,’ उनले भने,‘ एउटा मान्छे पैसाको भारी बोकेर घुम्न निस्कँदैन ।अब डिजिटल भुक्तानी प्रणाली कार्यान्वयनमा नगइ सुख छैन ।’
अध्यक्ष प्रजापतिको प्रश्नको उत्तर दिँदै राष्ट्र बैंक पोखराकी निर्देशक जोशीले भारतकै चाहनाका कारण नेपालमा ठूला भारतीय नोट प्रचलनमा नआएको जिकिर गरिन् । ठूला नोट प्रचलनमा ल्याउनको लागि भारतसँग कुटनीतिक पहल गरिनुपर्ने उनको धारणा थियो । अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयनमा आउँदा भारतीय नोटको समस्या कम हुने उनले बताइन् ।  निर्देशक जोशीले सय रुपैयाँभन्दा ठूला भारतीय नोटहरु साँटिदैन भन्ने थाहा हुँदाहुँदै पनि प्रचलन भइरहेको स्वीकार्दै भनिन्,‘भारतले नै नलिने पैसा राष्ट्र बैंकले लिँदैन । यसमा हाम्रो पनि दोष छ ।’ नेपाल राष्ट्र बैंकले डिजिटल पैसा प्रयोगमा ल्याउने तयारी थालेको र विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित गरिने पनि उनले जानकारी दिइन् । निर्देशक जोशीले कर्जाको ब्याजदर घट्दो क्रममा रहेको तर समय भने लाग्ने पनि बताइन् । तलरता बढेको र अर्थतन्त्रका सूचकहरु सकारात्मक हुँदै गएकाले व्याजदर घटने उनको तर्क थियो ।
नेपाल बैंकर्स एसोसियसन गण्डकीका अध्यक्ष सूर्य रोकाले पनि भारतकै कारण ठूला दरका भारतीय नोटको प्रयोग हुन नसकेको बताए । नेपाल   हुँदै नक्कली  नोटहरु भारत भित्रने आशंकासँगै भारतले त्यो नीति लिएको उनको भनाइ थियो । उनले बैंकहरु व्याजदर घटाउने प्रक्रियामा रहेको जानकारी दिए ।
पोखरा उद्योग वाणिज्य संघका  निवर्तमान अध्यक्ष नारायण कोइरालाले घरघरमा थन्किएका भारतीय रुपैयाँ व्यवस्थापन गर्न राष्ट्र र्बैकले नै पहल गर्नुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले ठूला दरका भारती नोटहरु सकेसम्म प्रयोगमा नल्याउन व्यवसायीहरुसँग आग्रह गरे ।
टान गण्डकीका अध्यक्ष  कृष्ण आचार्यले नेपालका केही निषेधित क्षेत्रमा जान पर्यटकले डलरमा शुल्क बुझाउनुपर्ने तर  सजिलै डलर नपाउँदा समस्या भएको सुनाए । उनले डिजिटल भुक्तानीलाई छिटो व्यवस्थित गर्नुपर्ने माग राखे । पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा उपाध्यक्षद्धय देवेन्द्र केसी र उत्तममान बुद्धाचार्य, कोषाध्यक्ष दीनेशचन्द्र बास्तोला, कार्यसमिति सदस्यहरु सु्दीप प्रधानाङ्ग,बालकृष्ण कोइराला, दीलिप श्रेष्ठ, जीवनकुमार श्रेष्ठलगायतले विभिन्न जिज्ञासा राखेका थिए । भारतीय ठूला नोट कम दरमा सटही गर्नुपरेको र अनौपचारिक अर्थतन्त्र मौलाउँदै गएकोमा उनीहरुले चिन्ता व्यक्त गरे ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…